८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चैत महिनामा नेपाल प्रवेश गरेका सवैको कोरोना परीक्षण गरिने

काठमाडौं- सरकारले चैत महिनामा बिभिन्न देशबाट नेपाल प्रवेश गरेका सवैको कोरोना परिक्षण गर्ने निर्णय गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाटनेपाल आएपछि  बढी मात्रामा कोरोना संक्रमण देखिएका जिल्लाहरुमा  पहिलो चरणमा विदेशबाट आउने सवैको परीक्षण गर्ने निर्णय भएको आइतवार जानकारी दिएको हो।  

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने,‘ चैत महिनाभरी विदेशवाट आएका सवैको कोभिड– १९ परीक्षण गछौं’।  यसको लागि भोलि नै टोली पठाइने गरी सम्वन्धित निकायहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखा,नेपाल स्वास्थ्य अनुसन्धान परीक्षणको वैठक बसेको छ।  वैठकले संयुक्त टोली सोमवारनै  कोरोनाको बढी जोखिम देखिएका जिल्लाहरु कंचनपुर,कैलाली र बाग्लुङ्ग पठाउनेछ।  ती जिल्लाहरुमा  कोरोना संक्रमतिहरुको सम्पर्कमा पुगेका,क्वारेनटाइनमा रहेका तथा अन्य शंकास्पद व्यक्तिहरुको समेत नमूना परीक्षण गर्ने निर्णय भएको हो।  

‘ भोलिदेखि सवै विभागको टोली ती जिल्लाहरुमा खटाउँदैछौं’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले भने।  मन्त्रालयका अनुसार विदेशवाट आएका सवैको पहिलो चरणमा र्‍यापिड टेष्ट किट मार्फत परीक्षण गरिनेछ।  त्यसमा पोजिटिभ भेटिएमा पिसिआर  परीक्षण गरी व्यक्तिमा कोरोना पोजिटिभ  भए नभएको निधो गरिनेछ।  

सरकारले कोरोनाले महामारीको रुप लिएको अवस्थाका लागि भनेर एक साता अघि ७५ हजार  वटा र्‍यापिड टेष्ट किट चीनवाट खरिद गरी लिएको थियो।  किटको थप गुणस्तर मापन गर्ने र परीक्षणको दायरा संगसंगै बढाउने निधो भएको डा.धिमालले बताए।  

हाल सरकारले खरिद गरेको किटको गुणस्तर जाँच गर्ने काम  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नेछ।  सरकारले कोरोना महामारीको रुप लिएपछि मात्र परीक्षणको लागि समुदायमा लैजाने गरी ७५ हजार किट चीनवाट लिएको थियो।  यसको विरोध आएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई गुणस्तर अध्ययनको लागि जिम्मा तोकेको थियो।  गुणस्तर जाँच र नमूना संकलनको कार्य एकैसाथ बढाउन लागेको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान विभाग प्रमुख धिमालले बताए।   ‘ किटको गुणस्तर  हेर्ने काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र परिषद मिलेर संग– संगै गर्छौ’उनले भने।  उनको अनुसार नमूना संकलन गर्ने र परिक्षण गर्ने र किटको गुणस्तर हेर्ने कामसंगसंगै हुनेछन्।  

 कैलालीमा भारतवाट आएका एक युवकबाट परिवारको सदस्यामा सरेको समेत पाइएको र सीमाबाट हजारौको संख्यामा दुई साताभित्र नेपाल आएपछि जोखिम बढेको सरकारले कोरोनाको नमूना परीक्षणको दायरा फराकिलो पार्न थालेको हो।  जोखिमबाट बच्नको लागि सुझाव दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टम कोर्डिनेटर डा.गुणराज लोहनीले दुई हप्ताभित्र विदेशबाट आएका व्यक्तिसित सम्पर्कमा आएका र कोरोना संक्रमित व्यक्तिसित सम्पर्कमा पुगेका व्यक्तिहरुलाई कम्तीमा दुई साता घरभित्रै बसिदिनु अनुरोध गरेका छन्।  ‘उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘कम्तीमा दुई हप्ता घरभित्रै बसिदिनु होला,यदि तपाइँलाई ज्वरो,खोकी र श्वास फेर्न गाह्रो भएको छ भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला’।

उपत्यका बाहिर सात स्थानबाट कोरोना परीक्षण सुरु

काठमाडौं उपत्यका बाहेक उपत्यका वाहिर ७ स्थानवाट कोभिड– १९ परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  धरान,हेटौडा,धनवढी,सुर्खेत,चितवन,पोखरा,जनकपुर  छन्।  त्यसै गरी खरिपाटी क्वारेनटाइनमा रहेका सवैमा कोरोना नेगेटिभ पाइएको मन्त्रालयले जनाएको छ।  हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र १५ सय २९ वटा नमूना परीक्षण गरेको छ।  देशभरमा १६ सय ३३ जनाको परीक्षण भएको छ।  ती मध्ये हालसम्म ९ जनामा मात्र कोरोना संक्रमण पाइएको छ।  पछिल्लो पटक कोरोना संक्रमित फेला परेका तीनै जनाको सम्पर्कका रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

१ सय १३ जना आइशोलेशनमा

नेपालभरी आइतवार साँझसम्म १ सय १३ जना कोरोना आशंकाका विरामीलाई आइशोलेसनमा  राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  ती मध्येमा १२ जना उपत्यका भित्र र १ सय १ जना उपत्यका वाहिरका अस्पतालमा रहेका छन्।  मन्त्रालयले कोभिड–१९ को समस्या बारे जानकारी लिनको लागि उपलब्ध  गराएको सम्पर्क नम्वरमा २४ घण्टाभित्रमा २ हजार ७ सय ६६ जनाले सम्पर्क गरेका थिए भने एप्स तथा वेभरसाइटमा १८ सय जनाले जिज्ञासा राखेका थिए।  ती मध्ये २४ जनामा कोरोना हुन सक्ने सम्भावनामा २४ जना परेका छन्।  अन्य दिनको सहित १ सय ५० जना कोरोनाको जोखिमको सूचीमा परेको प्रवक्ता देवकोटाले बताए। 

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बाधा पारे कारवाही

सरकारले आइतवार कोरोना  उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कसैले बाधा पारेको अवस्थामा कडा कारवाही गर्ने चेतावनी दिएको छ।  आइतवार मन्त्रिपरिषदको कार्यालयको वैठकले यस्तो निर्णय गरेको हो।  उपचारमा वाधा विरोध पार्नेहरुलाई डियुटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पदानमा बाधा पार्नेलाई हुने सरहको सजायँ हुने जनाएको छ।  

कोरोना उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रवन्ध गृहमन्त्रालयले गर्ने निर्णय गरेको छ।  स्वास्थ्यकर्मीको उचित व्यवस्थापनको लागि विशेष प्रोत्साहन गर्ने,व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था गर्न जनाएको छ।  

 

 

 

 

प्रकाशित: २४ चैत्र २०७६ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App