१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वारेजको सयौं गोल

बार्सिलोना- लियोनेल मेसीले नयाँ वर्ष लागेपछि लगातार तेस्रो खेलमा फ्रिकिकमार्फत् गोल गर्दा बार्सिलोनाले बुधबार  एथलेटिको बिलबाओलाई ३–१ ले पराजित गर्दै कोपा डेल रे को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

घरेलु क्याम्प नोउमा सम्पन्न दोस्रो लेगको यो जितपछि टोली समग्रमा ४–३ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो। पहिलो लेगमा बिलबाओले २–१ को अग्रता लिएको थियो। बुधबार लुइस स्वारेजले बार्सिलोनाका लागि एक सयौं गोल गरेपछि बिलबाओको अग्रता बराबरीमा आएको थियो भने नेइमारले पेनाल्टीमा गोल गर्दै लुइस इनरिकेको टोलीलाई अग्रता दिलाए।

तर नेइमारले बार्सिलोनालाई अघि बढाएको चार मिनेटपछि ५१ औं मिनेटमा इनरिक साबोरिटले हेडमा गोल गर्र्दै पाहुना टोलीको अगाडि बढने आशा जीवित राखेका थिए। मेसीले फ्रिकिकमा गोल गर्दै समय सकिन १३ मिनेट बाँकी रहँदा बार्सिलोनाको जित पक्का गरे। मेसीले बिलबाओविरुद्धकै अवे खेल तथा आइतबार भिलारियलसँग १–१ को बराबरी गरेको खेलमा पनि फ्रिकिकमा गोल गर्दै बार्सिलोनाको उद्धार गरेका थिए।

पहिलो लेगमा रेफ्रीबाट भएको विवादास्पद निर्णयका कारण दोस्रो खेल पनि प्रभावित बनेको थियो। बिलबाओले ९ खेलाडीमा सीमित भएर खेल अन्त्य गरेको पहिलो लेगमा बार्सिलोनाको पेनाल्टी अपिल पनि खारेज भएको थियो। रेफ्रीको निर्णयमाथि विवाद हुने क्रमले दोस्रो लेगमा पनि निरन्तरता पायो। २६ औ मिनेटमा स्वारेजको पासमा नेइमारले बल अगाडि बढाउन खोज्दा सहायक रेफ्रीले अफसाइडको झण्डा उठाएपछि केही बेर विवाद भएको थियो।

मध्यान्तर हुन ९ मिनेट बाँकी हुँदा स्वारेजले नेइमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। सन् २०१४ मा क्याटलान टोलीसँग आबद्ध स्वारेजले बार्सिलोनाको जर्सीमा गरेको यो व्यक्तिगत एकसयौं गोल थियो। यसैगरि मेसी र नेइमारसहित तीन सुपरस्टारको 'एमएसएन'बाट भएको यो तीनसयौं गोल थियो। एमएसएनको तीनसयौं गोल पुग्दा मेसीको नाममा १ सय २४ तथा नेइमारको नाममा ७६ गोल छन्।

४७ औं मिनेटमा नेइमारलाई बिलबाओका इनेको बोभेडाले लडाउँदा घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो। त्यसलाई गोलमा परिणत गर्दै नेइमारले घरेलु टोलीको अग्रता दोब्बर मात्र पारेनन्, आफ्नो १ हजार २३ मिनेटको गोल खडेरी समेत तोडे। अक्टोबर १९ यता नेइमारले बार्सिलोनाका लागि गरेको यो पहिलो गोल हो।

तर बार्सिलोनाको अग्रता धेरै बेर टिक्न सकेन। पहिलो पटक घरेलु टोलीको पोस्टमा धावा बोल्ने क्रममा ५१ औं मिनेटमा साबोरिटले हेडमा महत्वपूर्ण अवे गोल गर्दै बिलबाओको आशा जगाएका थिए।

तर खेल सकिन १३ मिनेट बाँकी हुँदा मेसीले फ्रिकिकमा गोल गरेपछि बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान सुनिश्चित गर्‍यो। मेसीका लागि जारी सिजनका २३ खेलमा व्यक्तिगत २६ औं गोल हो।

 

प्रकाशित: २९ पुस २०७३ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App