८ वैशाख २०८१ शनिबार
खेल

फेडेरर र विलियम्स दिदीबहिनी विजयी

लन्डन- रोजर फेडेररले सोमबार अमेरिकी प्रतिद्वन्द्वी स्टिभ जोन्सनलाई पराजित गर्दै १४ औं पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। स्विस स्टार उनले मार्टिना नाभ्रातिलोभाको ग्रान्डस्लाममा ३ सय ६ खेल जित्ने कीर्तिमानसँग बराबरी गरेका छन्।

सातपटक विम्बल्डनको उपाधि जितिसकेका फेडेररले जोन्सनलाई ६–२, ६–३, ७–५ ले पराजित गरेका थिए। तेस्रो वरीयताका फेडेररले अब क्रोएसियाका मार्टिन किलिकसँग प्रतिस्पर्धा गर्नेछ। नवौं वरीयताका किलिकको यो तेस्रो विम्वल्डन क्वार्टरफाइनल हो। पाँचांै वरीयताप्राप्त जापानका केई निशिकोरीले चोटका कारण खेल त्यागेपछि किलिकले अन्तिम ८ को यात्रा गरेका हुन्।

‘केही वर्षअघि उनले मलाई युएस ओपनमा हराएका थिए। मलाई आशा छ म फर्किनेछु,’ फेडेररले भने, ‘वेस्ट अफ फाइभको म्याच सधैँ कठिन हुन्छ।’

महिलातर्फ अमेरिकी विलियम्स दिदीबहिनी सेरेना र भेनस क्वार्टरफाइनल पुगेकी छन्। साबिक विजेता सेरेना १२ आंै पटक विम्बल्डनको क्वार्टरफाइनल पुगिन्। उनले रुसी १३ औं वरीयताप्राप्त स्भेट्लाना कुज्नेसोभाविरुद्ध ७–५, ६–० को विजय पाएकी थिइन्।आठौंपल्टकी विम्बल्डन फाइनलिस्ट ३४ वर्षे सेरेनाले अब रुसी २१ औं वरीयताप्राप्त अनास्टासिया पाल्भुचेन्कोभासँग खेल्ने छिन्।

सेरेनाकी दिदी भेनस२२ वर्षयता विम्बल्डनमा सबैभन्दा बढी उमेरकी क्वार्टरफाइनल पुग्ने खेलाडी भएकी छन्। पाँचपल्टकी च्याम्पियन उनले स्पेनिस कार्ला स्वारेज नाभारोलाई ७–६ (७/३), ६–४ ले हराइन्। भेनस ३६ वर्षकी भइन्। १९९४ मा मार्टिना नाभ्रातिलोभा ३७ वर्षको उमेरमा अन्तिम आठमा पुगेकी थिइन्। आठपल्ट विम्बल्डन फाइनल खेलिसकेकी भेनसले अब काजकिस्तानकी यारोस्लाभा स्भेदोभाविरुद्ध खेल्नेछिन्।

पाँचौं वरीयताप्राप्त रोमानियाकी सिमोना हालेपले सोमबार म्याडिसन केसलाई ६–७(५/७), ६–४, ६–३ को सेटमा पराजित गर्दै दोस्रो पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनल तय गरेकी छिन्।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हालेपले गुमाएकी थिइन्। हालेपले त्यसपछि उत्कृष्ट पुनरागमन जनाएकी थिइन्। उनले अब अस्ट्रेलियन ओपन विजेता जर्मनीकी एन्जेलिक क्रेबरसँग प्रतिस्पर्धा गर्नेछिन्।

चौथो वरीयताप्राप्त क्रेबरले जापानकी मिसाकी दोइलाई ६–४, ६–१ ले पराजित गरेकी थिइन्।  

प्रकाशित: २१ असार २०७३ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App