८ वैशाख २०८१ शनिबार
अन्य

‘सरकार स्थिर छ भन्ने वातावरण देखिँदैन’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्री योजना आयोगका उपाध्यक्ष पनि भइसकेका व्यक्ति हुन् । सेवा निवृत्त जीवन बिताइरहेका उनी सँधै बेफुर्सदिला देखिन्छन् । अर्थशास्त्र र योजनाका विषयमा जानकार उनलाई यी विषयसँग सम्बन्धित विभिन्न कार्यक्रममा निम्ता आइरहन्छन् । उनै पूर्व गभर्नर दिपेन्द्रबहादुर गृहनगर पोखरा आएका बेला परिवार सहकर्मी मनोज घर्तीमगरले नेपालको अर्थतन्त्रको अवस्था, चुनौती, उद्यमशीलताका संभावना र नेपाली व्यापारबारे केन्द्रीत रहेर नागरिक परिवारका लागि  गरेको कर्पोरेट कुराकानी ।

हिजोआज के–के गर्दै हुनुहुन्छ ?
औपचारिक रुपमा मेरो काम केही छैन । म बेरोजगार छु । जसको काम छैन, त्यो मान्छेको फुर्सद हुँदो रहेनछ । त्यो मान्छेलाई फुर्सद छ भनेपछि यता पनि डाक्ने, उता पनि डाक्ने गर्दा समय व्यवस्थापन गर्न गाह्रो छ । अर्थशास्त्रको क्षेत्रमा अलिअलि जानेको, योजना आयोगमा पनि काम गरेको हुनाले अर्थशास्त्र र योजनासँग सम्बन्धित विषयमा छलफल गर्न बोलाउँछन् । बेलाबेलामा  मिडियाहरुले यही विषयमा सोधिराख्छन् । समय यसरी नै बितिरहेको छ ।

मुलुकमा राजनीतिक स्थायित्व छ, देश आर्थिक उन्नति र समृद्धितर्फको यात्रामा छ भनिँदैछ । आर्थिक दृष्टिकोणले अहिलेको अवस्था कस्तो छ ?   
नेपालको कुल अर्थतन्त्रको ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र हो । बाँकी रहेको ६० प्रतिशत कर, भ्याटको दायरामा आउने हो । अहिलेसम्मको समस्या भनेको राजनीतिक अस्थिरता हो । सरकार बनेको छ महिनापछि ढल्ने । अहिले त्यस्तो देखिएको छैन । त्यसैले यसो हेर्दाखेरी स्थिरताजस्तो देखिएको छ । तर, गहिरिएर हेर्दा स्थिरता देखिँदैन । प्रतिपक्ष चार चिरा परेको छ । जसले असल भूमिका निभाउन सकेको छैन । सरकारको कुरा गर्ने हो भने पार्टीले एउटा निर्णय गर्छ । सरकारले अर्को निर्णय गर्छ ।

सरकारले राम्रोसँग काम गर्न सकेन भनेर चारैतिर कुरा चलेपछि सम्माननीय प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन करार गर्नुभो । मन्त्रीहरुले सचिवहरुसँग करार गरे । त्यसको केही महिनापछि सचिवहरुलाई भएको ठाउँबाट लखेटियो । त्यसको दुई तीन महिनापछि मन्त्रीहरु गोकर्ण बिष्ट, लालबाबु पण्डित, थममाया पुनलाई लखेटियो । पब्लिक्ली भन्ने हो भने ती मन्त्रीहरुले नराम्रो काम गरेको भन्ने कतैबाट पनि सुनिँदैनथ्यो, देखिँदैनथ्यो । यसमा अनैतिक काम गर्नेहरुको प्रधानमन्त्री अनि सरकारसँग नेक्सस रहेको देखियो । सम्माननीय प्रधानमन्त्रीले पनि भन्नुभयो सरकार ढाल्न देशी विदेशी लागेका छन् । पार्टीभित्र अन्तर विरोध त हुने नै भयो ।

भनेपछि राजनीतिक स्थायित्व छ भन्ने त देखिएन । यी यस्ता कुराले सरकार स्थिर छ भन्ने वातावरण देखिँदैन । अन्तरपार्टी कलह अनि अहिले कोविड–१९ ले शारीरिकभन्दा मनोवैज्ञानिक रुपमा त्रसित बनाएको छ । छिमेकी मुलुक चीनबाट फैलिएको यो भाइरस विश्वव्यापी भइरहेको छ । नेपालीहरु नगएको मुलुक छैन । त्यसले नेपालको आर्थिक क्षेत्र निकै प्रभावित हुने भयो । पर्यटन वर्ष भनेका थियौं । मान्छे आउजाउ नभएपछि त्यो पनि हुने कुरो भएन । सरकारले क्यान्सिलै गर्‍यो यसले पनि असर गरेको छ । सगरमाथा संवाद भन्ने पनि क्यान्सिल नै भयो । आर्थिक दृष्टिकोणले अहिलेको अवस्था अनुकूल रहेन ।

जिम्मेवार नेताहरू र अर्थमन्त्रीले समेत समाजवाद उन्मुख अर्थव्यवस्थाको पक्षमा कुरा गरिरहेको पाइन्छ । अर्थतन्त्र र मुलुकको आर्थिक नीतिले निर्दिष्ट गरेको बाटो र अहिले चर्चामा रहेको समाजवाद उन्मुख अर्थतन्त्र कत्तिको मेल खान्छ ?
सम्माननीय प्रधानमन्त्री चीन जाँदा राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग गर्नु भएन । निजी कम्पनीको जहाज चढ्नुभयो । यसले समाजवादलाई कत्तिको मद्दत गर्छ म जान्दिन । मन वचनले हुनुपर्‍यो नि व्यवहारमा देखाउनुपर्‍यो नि । सरकारले एकपटक सिन्डिकेट खत्तम बनाउँछौं भन्यो । एक महिनासम्म सरकारले वाहवाही पायो । तर, त्यसको केही समयपछि त्यो हरायो । सिन्डिकेट जस्ताको तस्तै छ । काठमाडौंमा बढ्दो प्रदूषण छ । ठूला सार्वजनिक सवारी साधन ल्याउने भनेर भनियो । साझालाई दिने कुरा थियो, त्यसलाई उल्ट्याएर अब कुनै प्राइभेट कम्पनीलाई दिने होला । त्यसलाई समाजवादको प्रयास हो भन्ने हो भने म त्यसलाई मान्दिनँ । समाजवाद भनेको फ्रि साइज टोपी हो । जत्रो टाउको भए पनि फिट हुन्छ । समाजवाद भनेको प्रजातन्त्रजस्तै भयो । अहिले एकदमै दक्षिणपन्थीले पनि समाजवाद भन्या छ । लेफ्टिस्ट जनयुद्ध गरेकाले पनि कम्युनिष्ट सरकार नै भन्न सक्ने परिस्थिति नभएकाले संविधानभित्र रहौं भनेर समाजवादको दुहाई दिनुहुन्छ । कतिपय कुरामा अनमेल कुरा देखिन्छ । त्यसैले अहिले चर्चामा रहेको समाजवाद उन्मुख अर्थतन्त्र संविधानसँग र व्यवहारले मेल खाएको छैन ।

नेपालको अर्थतन्त्रका अहिलेका चुनौती के के हुन् ?  ती चुनौतीहरूको सम्बोधन कसरी गर्न सकिन्छ ? तपाईंको प्रेसक्रिप्सन ।
जनताको अपेक्षा एकदमै ठूलो छ । मेरो घरको छेउबाट बाटो गइदियोस् । मेरो आँगनमा धारा आइदियोस् । यसो सुसेलेको सुनिने ठाउँमा अस्पताल, स्कुल होस् भन्ने त हो नि । योभन्दा धेरै अपेक्षा त छैन । यी सबै कुरा पूरा गर्नका निमित्त उही पहिला–पहिला पञ्च नेताले भनेजस्तै पर्ख सन् २०१० सम्म सिंगापुरको आयस्तरसम्म पुर्‍याउँछौं भनेकै हुन् राजा वीरेन्द्रले । हामी समृद्धिको बाटोमा छौँ, देशले अब पखेटा हालिसक्यो भनियो । त्यो के को पखेटा हाल्या हो थाहै छैन । कागजको पखेटा हो भने त पानीमा भिजेपछि खस्छ भन्ने परिस्थिति जन्मेको छ । बजेट ल्यायो त्यो बजेट कार्यान्वयन गर्न सकिँदैन ।

अघिल्लो वर्ष कार्यान्वयन गर्न नसकेर तीनपटक संशोधन भयो । यो पटक पनि दुई चोटी संशोधन भइसकेको छ । बजेट पनि कार्यान्वयन गर्न सक्नुहुन्न भने अरुले दिएको सहयोग अनुदानबाट के विकास निर्माण गर्न सकिन्छ ? हिजोको कुरा सिकेर त्यसलाई परिपालन गर्ने अवस्था भएन । गणतन्त्र भनेपछि कसैले जिम्मेवारी लिनु नपर्ने । अधिकार मात्रै खोज्ने मेरो कर्तव्य के हो नगर्ने ? भ्रष्टाचार यति मौलाएको छ कि भनी साध्यै छैन । सरकारको सानो कुरा गरौं म पोखराको छोरेपाटनमा बस्छु । एडिएसएल राखौं भनेर नेपाल टेलिकममा गएको । छोरेपाटनमा एडिएसएल छैन भन्यो । यो पनि त सरकारको अर्थतन्त्रसँग जोडिन्छ होला नि ? कसले गर्छ त भनेको प्राइभेट क्षेत्रले गरेको छ भन्छ । समाजवाद भन्या यस्तो रैछ । प्रभाइभेट क्षेत्रले गरिदिएपछि हामीले यस्तो गर्‍यौं, उस्तो गर्‍यौं भन्ने । पहिलो कुरो कुनै पनि परियोजना कार्यान्वयन गर्ने प्रक्रियामा चुक्याैं, दोस्रो कुरा अधिकार मात्रै खोज्ने, कर्तव्य नगर्ने त्यो कारणले चुक्याैं तेस्रो कुरा केन्द्रको बजेट प्रदेशमा आउन, प्रदेशको बजेट स्थानीय तहमा झर्न निकै कठिन छ ।

संघीयतामा गइसकेपछि संघले हेर्ने, प्रदेशले हेर्ने र स्थानीय तहले हेर्ने परियोजनामा आ–आफ्नै इन्ट्रेष्ट छन् ।  यहाँ काम भइसकेको छ तर, पैसा नपठाइदिने । अर्को कुरा प्रशासनिक स्पष्टता छैन । चौथो कुरो परियोजनामा ठूलो रकम गएको छ भने ज्वाइँ, भाञ्ज, पार्टीको वफादार मान्छे पठाउन खोज्ने । यदि त्यसरी पठाउन नसके त्यो बजेट आर्थिक वर्षमा खर्चै नहुने । यो पुरानै मानसिकताले गर्दा यस्तो भएको हो । यी यस्तै कुराहरु नेपालको अर्थतन्त्रका चुनौती हुन् । यी चुनौती सम्बोधन गर्न मानसिकता नै बदलिनुपर्छ । हामीजस्ता फ्याउराहरु कराइ राख्नुपर्छ । नसुनिएपछि बोलिरहनुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूले धेरै नकराउ भित्तामा पुर्‍याइन्छ पनि भन्नुभो तर, बोल्न छाड्नु हुँदैन ।

नेपालमा ठूलो लगानी भैरहेको छैन भनिँदैछ ? तपाईं लगानीका हिसाबले अहिलेको अवस्थालाई कसरी लिनुहुन्छ ?
पोखराकै कुरा गर्ने हो भने होटल क्षेत्रमा निकै धेरै लगानी भइरहेको छ । तर, यो अहिले कोरोनाको हल्ला छ नि यस्तै एक वर्ष भयो भने पोखराका अधिकांश होटल टाट पल्टिएर लिलाममा जान्छन् भन्ने सुन्छु । लगानी त टन्नै भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएको र नेपालकै पर्यटकीय सहर हो । अहिलेकै लगानीको कुरा गर्ने हो भने जलस्रोतमा विदेशी लगानी भित्रिएकै छ । यो पाँच महिनाको कुरा गर्ने हो भने १८७ प्रतिशत लगानीमा वृद्धि भएको छ । अरुण तेस्रो जलविद्युतका लागि ३ दशमलव ६ अर्ब र लाङटाङ भोटेकोशीमा ३ दशमलव ४५ अर्ब लगानी आएको छ । नेपाली लगानीको कुरा गर्ने हो भने अलि गाह्रो छ । दुई तीनवटा बैंक मिलेर लगानी गर्ने, पैसा चाहियो भने एकछिन पर्खनु भन्ने पैसा नदिने । बैंकले लगानी गर्नै गाह्रो छ । सरकारको नीति पनि स्पष्ट छैन ।

नेपालमा उद्यमशीलताको सम्भावना कत्तिको छ ? सम्भावनाका क्षेत्र के–के हुन् ?
नेपालमा सबभन्दा उल्द्यमशीलताको हिसाबले कृषि र पर्यटन क्षेत्र नै हो । सुख खोज्नेहरु जमिन बाँझो बनाएर सबै बाहिर गइसके । प्रविधिले दक्षयुक्त मानिसहरुले मिहिनेत र लगानी गर्ने हो भने कृषि र पर्यटनबाट निकै राम्रो आम्दानी गर्न सकिन्छ । कुनै समय गल्फमा नेपालबाट हरियो सागसब्जी लगिन्थ्यो । अहिले त्यो हट्यो । अर्को कुरा कृषिको बजार भने सरकारले खोजिदिनुपर्छ । पर्यटन क्षेत्रमा लगानी गर्ने सम्भावना उत्तिकै छन् । होटल, ट्राभल, ट्रेकिङलगायतका क्षेत्र उद्यमशीलताका बढी सम्भावना देखिन्छ ।

नेपालमा उद्यमको तुलनामा व्यापार फस्टाएको देखिन्छ । कतिपय उद्यममा स्थापित घरनाका नयाँ पुस्ता व्यापारमा केन्द्रित देखिन्छ ? यस्तो अवस्था कसरी आएको हो ?
पञ्चायती कालदेखि नै नेपालमा उद्यमको तुलनामा व्यापार फस्टाएको छ । उद्योग खोल्न थालेमा यहाँ तपाईंले निकै राम्रो काम गर्न थाल्नुभएछ । यसमा हाम्रो सहभागिता हुन सक्छ कि सक्दैन भन्ने जमातै छ । यसमा मैले कति शेयर पाउँछु भनेर लागिहाल्ने । एउटा सानो उदाहरण–धादिङ जिल्लामा प्लाष्टिक रिसाइकलिङ गरेर कालो पाइप निकाल्ने उद्योग सेटअप भयो । केही उत्पादन पनि भयो । तर, त्यहाँको वडाले ल हामीलाई सहभागिता नगराउने हो भने तपाईंले काम गर्ने वातावरण बन्दैन भनेपछि काम गर्न नसकेको अवस्था छ । स्थानीय १८ जनालाई काम पनि दिएको छ । लगानी गर्ने युवा हैरान भएका छन् । यो त गाउँको सानो उद्योगको कुरा हो । अरबौंको उद्योग खोल्न सजिलो छैन । यहाँ धेरै कुराले अप्ठ्यारो पारेको छ । दर्ता गर्ने, भ्याटमा जानुपर्ने, आयकरमा जानुपर्ने, कम्पनी रजिष्ट्रारमा जानुपर्नेलगायतका निकै झन्झटहरु छन् । अर्कोतिर जसको हातमा कानुन र अधिकार छ उनीहरुले नितान्त व्यक्तिगत लाभ लिन खोज्दा उद्यमीलाई गाह्रो भएको छ । उद्योग चलाएर टाउको दुखाउनुभन्दा बरु व्यापारतिरै ठिक छ भन्ने धेरै छन् ।

उद्योगमा लेबर युनियनको कचकच, ट्याक्सको लठारो सुन्नुभन्दा भन्सारको एकजनालाई खुसी पारे काम तमाम । उद्योग नभएर व्यापारमा किन जान्छन् भन्दा एक हजार थान उत्पादन ल्याएर एक सय थान देखाइदिए भइहाल्यो । सजिलोसँग फाइदा कताबाट आउँछ व्यापारीले खोज्ने त्यही हो । एउटा चलानीबाट दुई ठाउँबाट भैरहवा र वीरगञ्जबाट सामान भित्र्याउन पाइन्छ । अर्को कुरा उद्यम गरे पनि यहाँ बजार छैन । उत्पादन निर्यात गर्न गाह्रो हुन्छ । कच्चा पदार्थ प्रशस्त छैन । सबै भारत लगायतबाट ल्याउनुपर्ने, अनि निर्यात गर्दा पनि भारत भएरै जानुपर्ने, त्यहाँ अनेक किसिमका झन्झट छन् । भारतबाटै ल्याउने फेरि बनाएर उतै पठाउने यस्तो गर्दा धेरै महँगो हुन्छ । यस्तै विविध कारणले नेपालमा उद्यमको तुलनामा व्यापार फस्टाएको हो ।

नेपालको आर्थिक नीति उदारवादी र प्रतिस्पर्धी भनिन्छ । व्यवहारमा जताततै सिन्डिकेट र कार्टेलिङ देखिन्छ ? यस्तो अवस्थाको प्रमुख दोषी को हो ? सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्न के गर्नुपर्छ ?
सबै गलत धन्दा गर्नेहरुको नेक्सस नीति निर्माण गर्ने तहसम्म छ । हामीले समाजवाद भन्यौं नि, कहीँ समाजवादले प्राइभेट एजुकेसनलाई प्रमोट गर्छ ? शिक्षा नीति हेर्ने हो भने बोर्डिङ स्कुललाई प्रमोट गर्ने खालको छ । त्यहाँ लगानी गर्नेहरु पार्टीमा सक्रिय भएर लाग्नेहरु छन् । यातायातमा नीति त्यस्तै छ । कानुनले निर्दिष्ट गरेको ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई छुट दिँदैन यातायातले । विद्यार्थीलाई दिने छुट टाढाको यात्रामा दिँदैन । कानुन छ तर, कार्यान्वयन छैन  । कार्यान्वयन भएन भनेर गुनासो गर्ने हो भने कसैले टेर्दैन, सुन्दैन ।

समाजवाद भनेको त सामाजिक, आर्थिक सुरक्षाको प्रत्याभूति हो नि ? अनि राज्यले केही गरेको छ भने कसरी पत्याउने ? यही समाजवाद हो ? गृहमन्त्रीले सिन्डिकेट र कार्टेलिङ गर्नेको खाता रोक्का गरिदिन्छु भन्नुभो । या हटाउँछु भन्नुभो केही रोक्का पनि भए होलान् । एक महिना वाहवाही पनि भयो । तर, त्यसले केही लछारपाटो लागेन । पहिले जस्तो थियो उस्तै रह्यो नि सिन्डिकेट । कमजोरी त सरकारकै देखियो नि । सरकार नै नलागेपछि के गर्नु ? यो काम सबै सरकारको हो ।

तपाईंले राष्ट्रबैंकमा लामो सेवा गरेर गभर्नर पनि हुनुभयो । योजना आयोगको उपाध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । यो कार्यानुभवले मुलुकको प्रमुख समस्या के देख्नुभयो ?
मूल कुरो ठूलो बजेट छ भन्ने बित्तिकै सबैका सपना र आकांक्षा त्यहीँ गएर जोडिने । त्यसको कार्यान्वयन गर्ने बेलामा हामीले कति पाउँछौं भन्ने कुरामा गएर जोडिँदो रहेछ । कति पाउने भनेपछि कसलाई दिने भन्ने कुरा आयो । त्यसरी गरिएको आयोजनामा क्वालिटी आउने कुरा भएन । दक्षता र ज्ञान नभएको पनि होइन । त्यो सबै पैसाको थैलीमा गएर रोकिन्छ । विकास गर्ने कुरा स्थानीय तहलाई दिइएको छ । तर, स्थानीय तहमा अहिले सबैभन्दा बढी भ्रष्टाचार छ । यो नै मुख्य रोग हो । सबैभन्दा ठूलो कुरा जहाँ पनि नातागोता, आफन्त, भाञ्ज, ज्वाइँ पठाउने नभए अलि ठूलो थैलो दिनेलाई जिम्मा दिने चलन छ । यही हो प्रमुख समस्या ।

नेपाल राष्ट्रबैंकलाई सरकार मातहतमा राख्ने कुराहरू बेलाबेलामा सुनिन्छन् । राष्ट्र बैंकले स्वायत्त भूमिका खेल्न नसकेको अवस्थामा त्यस्तो नीति कार्यान्वयन भए अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला र के कस्ता आर्थिक परिणाम आउँछन् ?
यसले सरकारको चरित्र हेरेर केन्द्रीय बैंक कस्तो हुन्छ भन्ने कुरा डिक्टेट गर्छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेपछि ऐनमा ४/५ वटा दफा छन्  । ती दफा बाहेक गभर्नरलाई छुन सकिँदैन । अब प्रस्ताव गरिएको प्रावधानमा के छ भने अर्थ मन्त्रालयले दिएको निर्देशन पालना ढिलासुस्ती गरेमा उसलाई हटाउन सकिने भन्ने छ । यो पुरापुर गलत कुरा हो । ढिलासुस्ती भन्ने कुरा सब्जेक्टिक कुरा भो । त्यत्रो ज्ञान बुद्धि विवेक भएको मान्छेलाई आवेगमा आएर हटाइदिएमा त्यसले अस्थिरता ल्याउँछ । कताकति शक्ति एकतृत गर्ने काम भइरहेको छ । यदि यो प्रावधान भएमा त्यहाँ एसम्यान मात्रै जाने हो ।

तपाईंहरुले जे काम गराउनुहुन्छ त्यही अक्षरसः गर्छु भन्ने मान्छे नै जाने हो । काम गरी सिध्याएपछि राम्रो नराम्रो के हुन्छ केही काम बिग्रेमा पद छाडेपछि त फेरि त्यही काम गर्नेले सजाय पाउने होला नि ? यसले अनिश्चितता ल्याउँछ । यसो भएमा दिगो रुपले नीति कार्यान्वयन हुने अवस्था आउँदैन । त्यसो गर्न खोज्नु भनेको पञ्चायतले यति खायो । गणतन्त्र आएपछि हामी लछार्छौँ भनेर जे कुरा गरिएको छ नि त्यो कोरा कल्पना र भावना मात्रै हुन्छ । सरकारमा हामी बसेपछि हामी पाँच वर्ष मात्रै होइन हामी अनन्त कालसम्म बस्छौँ भन्ने तरिकाले ल्याउन थालेको प्रावधान भयो । यदि जिम्मेवारी कसैले लिन नपरेपछि अर्थतन्त्रमा डामाडोल हुन्छ । अर्थतन्त्र हेर्ने भनेकै नेपाल राष्ट्र बैंकले हो । मान्छेको एटिट्युड नबदलिएसम्म र बदलिएको एटिट्युड व्यवहारमा परिणत नभएसम्म मुलुकको हालत उही हो ।

पोखरा पर्यटकीय नगरी भनिन्छ ? अहिलेको संघीय नेपालमा पोखरा गण्डकी प्रदेशको राजधानी पनि हो । यो नगरले आउँदा दिनमा कस्तो हैसियत राख्ला ? यसका सम्भावना र चुनौती के–के हुन् ?
पोखराको जनमत अधिकांश विदेशमा सेवा गरेकाहरुको छ । यहाँ लाहुरे समुदायहरु धेरै छन् । तपाईंलाई यति फाइदा आउँछ भनेर उहाँहरुलाई कन्भिन्स गर्न सक्ने हो भने उहाँहरुले सयम दिने, र जति पनि स्रोत साधन उपलब्ध गराउन सक्नुहुन्छ । यसो विचार गर्नु न पोखराको कुनै ठाउँमा घर बनेको छैन तर, बाटो पिच भएको छ । अन्यत्र यस्तो छैन । अर्को कुरा पोखराको सौन्दर्यता हो । धेरै पहिले डकोटा जहाज आउँथ्यो । समिको रुखको छेउमा जहाज पार्किङ गर्दा एकजना अमेरिकीले माछापुच्छ्रे देखेपछि इज दिस रियल भनेको थियो ? हातले छुने जस्तो हिमाल छ । अर्को कुरा प्रादेशिक सरकारले हमीले पनि केही गर्नुपर्छ भन्नेछ । पोखरालाई घेर्ने दमौली, बागलुङ, बेनी, स्याङ्जा छ । यी भनेका स्याटेलाइट सहर हुन् । परियोजना बनाएर तिनलाई पनि सँगै लैजान सकिन्छ । शैक्षिक दृष्टिकोणले पोखरा अलि पछि पर्‍यो । हुन त कलेजहरु छन्, प्रतिष्ठान छन् । तर, यहीँका मानिसहरु शैक्षिक क्षेत्र, बौद्धिक जमात त्यति धेरै पुगेन । प्रभावशाली नेत्तृत्व पनि भएन । गण्डकीको जुन शान छ । त्यो अनुसार भएन । पोखराको भुगोल अलि कमजोर छ यो चुनौती हो ।

पोखराले आफ्नो साख कायम राख्न के–के गर्नुपर्दछ । तपाईंको विचारमा कस कसले कसरी योगदान गर्न सक्छन् ?
अतिथि प्राथमिकतामा परेको हुनाले पोखराका मानिस अनुशासित, व्यावसायिक छन् भन्ने प्रभाव दिन सक्नुपर्छ । यो ठाउँको उन्नतिका लागि सबैले केही न केही योगदान दिन सक्नुपर्छ । सबै सामान बाहिरबाट ल्याउने, अनि यति पर्यटक आए भनेर गणना गर्ने भन्ने कुरा ठिक होइन । यही अवस्था रहेमा फेवाताल ५० वर्षमा सकिन्छ । फेवाताल रहेन भने के पोखरा हुन्छ ? अर्कोतिर माछापुच्छे« कालो हुँदै गएको छ । वातावरण संरक्षणलाई संवेदनशील भएर लाग्नुपर्छ । नत्र पोखरा रहने छैन । भौगोगिक खतरा भएकाले यसबाट पनि बच्नुपर्छ । लगातार ठूलो वर्ष हुने हो भने पोखरामा भ्वाङ पर्न सुरु हुन्छ । यो प्रमुख रिस्क हो । क्लाइमेट चेञ्जबाट आएका चुनौती कम गर्न लाग्नुपर्छ । राजाहरुले प्रयोग गरेका दरबार, आवासलाई होटमा कन्भर्ट गर्नुभन्दा अन्तर्राष्ट्रिय वातावरणसँग अध्ययन गर्ने संस्थाहरुलाई बोलाउनुपर्छ । जस्तै इसिमोड भन्ने छ नि ।

काठमाडौंमा राख्ने हैन पोखराको फेवातालको मन्दिर दिऊँ न उसलाई । उनीहरुको मासिक बोर्ड बैठक बस्छ । संसारमै नपाइने पाँच किसिमका अकिर्ड पोखरामै पाइन्छ भन्छन् । यस्ता कुरालाई बाहिर ल्याउन सक्नुपर्छ । पोखरा आएपछि म सुरक्षित छु, मलाई राम्रो व्यवहार गरिन्छ । अर्कोपटक आउँदा म धेरै साथी ल्याएर आउँछु भन्ने इम्प्रेसन दिन सक्नुपर्छ यो अभाव छ । यहाँको जमिन अहिले पनि पूरै प्रयोग भएको छैन । जमिनको योजना गराएर कहाँ बस्ती विकास गर्ने, कहाँ उद्योग गर्ने, कहाँ खेती गर्ने भन्ने योजना बनाउनुपर्छ । नत्र नगरपालिकाले ३ तलाभन्दा बढी स्विकृति दिएको छैन भनेर १० तलाको होटलमा मेयर जान सक्दैन । उपराष्ट्रपति आएर त्यही अवैधानिक होटल उद्घाटन गर्छ । अनि देखाउने एउटा गर्ने अर्को यसरी त हुँदैन नि ।

पोखरालाई तपाईं आफ्नो ढिँडो खाने ठाउँ भन्नुहुन्छ, काठमाडौंलगायतका सहरहरूभन्दा के फरक विशेषता छ पोखराको ?
पोखरा भन्नासाथ पर्यटकीय गन्तव्यस्थल हो भन्ने बुझिन्छ । यहाँको मुस्कान यहाँका मानिसहरुको सेवाभाव राम्रो छ । मेरै घरको बारीमा भनेको सागपात खान पाउँछु । मेरै छेउमा फलेको कोदोको ढिँडो खान पाउँछु । म यहीँको भएकाले होटलमा बस्नु परेन । खर्च हुँदैन । म यहाँको हिमाल देखेर बसेको हैन । हिमाल त जन्मेदेखि हेरेको हो । मुख्य कुरा अरु सहरभन्दा सफा छ । यहाँ हिलो र धुलो हुँदैन । यहाँ विशेष गरी लाहुरे समुदायले सरसफाइ गर्नुपर्छ भन्ने धारणा ल्याए । अरुले त्यसलाई पछ्याएर फोहोर राम्रोसँग व्यवस्थापन गर्छन् । म स्याङ्जामै हुर्कोको हुनाले यो मेरो थलो पनि भयो । किताब किन्न पोखरै झर्ने, औषधिमुलो गर्न यतै छिर्ने । सन्निकटताको कुराले पोखरा मलाई मन पर्छ र यो मेरो ढिँडो खाने ठाउँ हो । दुई दिन आउनेलाई पोखरा रमाइलो छ । तर, यहाँको महँगी असाध्यै धेरै छ ।

तपाईंको काम गर्ने शैलीबारे बताउनुस् न । सफलताको राज के हो ?
म कतिपय मान्छेको नजरमा विद्रोही मानिस हुँ । कक्षा ३ मा पढ्दा मैले भारतीय भूपू सैनिकले पढाएको भएन भनेर धेरै साथीभाइलाई उकासेर विरोध गरेको हुँ । ६ कक्षामा म सोल्जर बोर्ड स्कुलमा पढेको हुँ । त्यतिबेला चिनियाँ पत्रिकाको ग्राहक भएँ । पिपुल्स डेली भन्ने पनि आउँथ्यो । प्रमोसनलका लागि निःशुल्क ग्राहक बनाउँथे । सन् १९६१ मा भारत र चीनको लडाइँ भयो । त्यतिबेला बैठक बसेर मलाई त्यहाँबाट निकाल्ने निर्णय भयो । तर, पछि मैले त्यहीँबाटै एसएलसी भयो । २०२५/२६ सालमा म पिएनको युनियनको अध्यक्ष थिएँ । त्यहाँदेखि अहिलेसम्म लेफ्ट बाहेक अरुले खुट्टा हाल्न पाएका छैनन् । बिए पढ्दा आन्दोलन गरियो २७७ जना विद्यार्थीको परीक्षा रद्द भयो । त्यसपछि विश्वविद्यालय पढ्न गइयो । हामीलाई नपढाएको विषयबाट परीक्षामा प्रश्न आयो भनेर विद्रोह गरियो । त्यसपछि मसहित ६ जनालाई रेष्टिकेट गरियो । त्यहाँबाट पछि जागिर खान गइयो । पञ्चायतकालमा लिखितमा ५/६ ठाउँमा नाम निकाले । अन्तर्वार्तामा गएपछि अर्धचन्द्र लगाइदिने  । रातो मान्छेलाई कसरी जागिर दिनु । त्यसपछि कृषि विकास बैंकमा जागिर खान गएको । ४२ जना अधिकृत खोजेको थियो । योभन्दा अघि मैले दुईपटक अन्तर्वार्ता फेस गरेको थिएँ । एकजनाले तपाईंलाई चिनेजस्तो लाग्यो भन्नुभो ।

कृषि आयोजना सेवा केन्द्र भन्ने थियो । मैले दुईपटक लिखित पास गरेँ । श्रीकृष्ण उपाध्याय भन्ने हुनुहुन्थ्यो । मैले तपाईंलाई चिनेको छु । योसँग मैले तीनपटक तपाईंसँग अन्तर्वार्ता फेस गर्दैछु भने । तपाईंले मलाई चिनेको छु भने तपाईं भन्नुस् म तपाईंको भान्से हुँ कि ? ड्राइभर हुँ कि छोरो हुँ ? त्यसपछि मलाई जागिर दिए । रुपन्देहीको दयानगर पठाए । तीन महिनापछि प्रहरी प्रतिवेदन गएछ । मलाई चिठी गयो । तपाईंको प्रहरी प्रतिवेदन सेवा अनुकूल नभएकोले तुरुन्त केन्द्रमा आउनुहोला भने अनि मैले राजीनामा दिएँ । जहाँ जाँच दियो त्यहाँ पास हुने । राष्ट्र बैंकमा पास भएर एक नम्बरमा नाम निकालेँ ।

त्यतिबेलाका गभर्नरले सबै राम्रा मान्छे आएका छन् । दुईजनाको राजनीतिक प्रतिवेदन कमजोर आयो भनेछन् । विद्यार्थी अवस्थामा राजनीतिमा सक्रिय भएका अहिले निष्क्रिय भएका छन् । विद्यार्थी अवस्थाको कुरा सोच्ने हो भने तपाईं हामी के होला ? यहाँ आए गढबढ गरे हेरम्ला हाम्रो कानुनअनुसार गरम्ला । २०३६ सालमा आन्दोलनमा लागियो । ३४/३५ जनालाई पुलिसले लग्यो कर्मचारीलाई । मलाई पनि लग्यो । २०४७ सालामा पूरै आन्दोलन गरियो । १२ जना कर्मचारीलाई बर्खास्त गरियो । मुद्दा लडियो । भ्रष्टहरुको चाकडी गर्नुभन्दा जनताको खुट्टा समाउनु बेस भनेर टुँडिखेलमा जुत्ता बेचियो । सांकेतिक रुपमा । त्यसपछि गाडी पनि हालियो । चारवटा पुर्‍याइसकेका थियौं ।

तर, एउटा गाडी त्रिशुलीमा हाम फाल्यो । त्यही बीचमा जनमोर्चा एकताकेन्द्रले राष्ट्रिय विकास परिषद्मा सदस्य पठाउने भयो । म त्यसमा गएँ । त्यसपछि योजना आयोगको सदस्य भएँ । त्यहाँ बस्दा २०६५ साल भदौ २६ गते काठमाडौंमा व्यापक बम काण्ड भयो । म माननीय सदस्य भएर गएको थिएँ । इन्सपेक्टर दुईवटा कुकुर लिएर आयो । सोफातिर खोजे । मैले सोधैं सचिवलाई सोधेको भनेको हैन भन्छ । उपाध्यक्षलाई मैले भने म आज चुर भएको छु । तपाईंले आफ्नै सहयोगीलाई जाँच गर्न पठाउनुभयो भनेँ । विरोध लेखेर दिए पनि तर के गरे ? थाहा भएन । तीन चार महिनापछि म प्रधानमन्त्रीसँगको बैठकमा बसेँ । मैले त्यही भनेँ हामी कार्यक्रममा जाँदा सेक्सन अफिसरसँग बस्ने कि ? सहसचिवसँग बस्ने ? जाँदै नजानेकि के हो भनेर सोधेपछि प्रमले भोजराजलाई छिटो मिलाउनु भन्नुभो । म धेरै कुराहरु कम्परमाइज नगर्ने, विद्रोही मान्छे हुँ ।

तपाईको दैनिकी ? खानपिन, धर्मकर्म ? आदि बताउनुस् न  ?  
दुई वर्षअघि अमेरिकाबाट तालिम प्राप्त डाक्डरले चेक गर्दा तँ सुगरको रोगी होस् । डायबिटिज भयो तँलाई । ६ मात्रै भए बोर्डर लाइन, ६.४ भएपछि सुगर । प्रेसर छ । सुगर भनेको सबै रोगको स्रोत रहेछ । तपाईं दुब्लाउनु भएछ भन्छन् । माछामासु छाडेको ४ वर्ष भयो । रक्सी मैले खाँदिन । धर्मकर्ममा त्यति साह्रै विश्वास गर्दिन । मठ मन्दिर धाउँदिन । धेरै साथी भएकोमा म जान्न भन्दिन । उनीहरुले जे गर्छन् म पनि दायाँबायाँ गर्दिन्छु  ।

तपाईको परिवारमा को–को हुनुहुन्छ, उहाँहरु के–के गर्दै हुनुहुन्छ ?
श्रीमतीज्यूले लामो समय प्राइभेट स्कुलको चाकडी गर्नुभो । चाहिएको बेला राख्ने नत्र फालिदिने । छोरो प्राइभेट बैंकमा काम गर्छ । उसको पद भन्न लायक छैन । जेठी छोरी यहीँ जमल होटलको मालिक हो । तीन हप्ता काठमाडौं एकहप्ता पोखरा बस्ने । कान्छी छोरी मेडिकल डाक्टर हो । मैले भने छोरी तिमी दुई वर्ष दुर्गम क्षेत्रमा गएर दुःखीको सिगान पुछ, पिप निचोर भनेको उसले मानिन । त्यसो गर्न लागे म पछि पर्छु सबैले आफ्ना छोराछोरीलाई डाक्टर बनाएका छन् । उनीहरुले आफ्ना छोराछोरी ल्याएर सेटिङ गर्छन् हामी पछि पर्छौं त्यसैले विदेश जानुपर्छ भनिन् । डाक्टरसँग विवाह गरेर अस्ट्रेलिया गएकी छिन् । उतै पिएचडी गर्दैछिन् फुल जागिर पनि छ । मेरो एकजना बहिनी छिन् । अविवाहिता उनी बाथ रोगले ग्रसित छिन् । उनको ढाडसका लागि पनि म पोखरा आधा जति बस्छु ।

सधैँ सक्रिय भूमिकामा देखिनुहुन्छ । शरीरलाई विश्राम पनि चाहिन्छ भनिन्छ, कसरी व्यवस्थापन गर्दै आउनु भएको छ ?
तपाईंले शरीरलाई जति आराम दियो त्यति आराम खोज्छ । जीवनलाई सक्रियता राख्न खोज्यो भने बानी पर्छ । म पौने पाँच बजे बिहान उठ्छु । एकघण्टा घुम्न जान्छु । त्यसपछि आएर खाना खाइसकेपछि दैनिकी के हो त्यही अनुसार काम गर्छु । तपाईंसँग भेट्दा पनि मैले तीनवटा काम लिएर आएको थिएँ । कसैले मलाई रिक्वेष्ट गर्छ भने सकेसम्म भ्याएसम्म म पुग्छु । सकिन्छ भने र क्षमताले भ्याएसम्म म शेयर गर्छु । यसरी मेरो दिनचर्या गइराखेको छ । जीवनलाई जति सक्रिय बनायो त्यति राम्रो हुन्छ ।

 

प्रकाशित: २४ चैत्र २०७६ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App