८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशन खर्च साढे चार करोड

काठमाडौं- नेपाली कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गर्न साढे चार करोड रुपैयाँ खर्च गरेको छ। महाधिवेशन सम्पन्न भएको दस महिना बितेपछि कांग्रेसले बिहीबार निर्वाचन आयोगमा आर्थिक प्रतिवेदन बुझाउँदै चार करोड ३२ लाख ९ हजार  ८ सय २ रुपैयाँ खर्च भएको देखाएको छ।

महाधिवेशनका लागि विभिन्न व्यक्ति, संघसंस्थाबाट तीन करोड २१ लाख ६० हजार ३ सय ७३ रुपैयाँ चन्दा संकलन भएको उल्लेख गर्दै आर्थिक वर्ष  २०७२/०७३ मा ५ करोड ८८ लाख ३९ हजार ८१ रुपैयाँ विभिन्न स्रोतबाट आम्दानी भएको कांग्र्रेसले जनाएको छ। चन्दालाई पारदर्शी बनाउने जनाउँदै महाधिवेशनअघि इबैंकको अवधारणा सार्वजनिक गरेको कांग्रेसले आयोगमा बुझाएको प्रतिवेदनमा त्यसको स्रोत खुलाएको छैन।

कांग्रेसले क्रियाशील सदस्यता वितरण,  नवीकरण, उम्मेदवारी मनोनयनसहितका शीर्षकबाट गत वर्ष दुई करोड ६६ लाख ७८ हजार ७ सय ८ रुपैयाँ आम्दानी देखाएको छ। त्यसभन्दा अघिल्लो वर्ष आठ करोड ११ लाख ९२ हजार ६ सय ३९ रुपैयाँ आम्दानी देखाएको कांग्रेसले गत वर्ष आठ करोड ३७ लाख ३८ हजार ८ सय ९ रुपैयाँ खर्च भएको जनाएको छ।

दुई करोड ४८ लाख ९९ हजार ७ सय २७ रुपैयाँ बचत–घाटासहितको आर्थिक प्रतिवेदन पार्टी सचिव प्रेम केसी र सहसचिव रविन ब्रर्जाचायले निर्वाचन आयोगमा बुझाएका हुन्। आर्थिक प्रतिवेदनमा गत वर्ष भएको १३औं महाधिवेशनमा सबैभन्दा धेरै खर्च  आवासमा भएको देखाइएको छ। एक करोड २० लाख ५९ हजार ६ सय ७४ रुपैयाँ आवासमा खर्च देखाएको कांग्रेसले एक करोड तीन लाख २० हजार पाँच सय दस रुपैयाँ सम्मेलन स्थलको भाडा खर्च तिरेको देखाएको छ। महाधिवेशन बन्दसत्र भृकुटीमण्डप, मतदान राष्ट्रिय सभागृहमा गरेको उसले सभापतिबाहेकको मतगणना र मनोनयनसहितको निर्वाचनसम्बन्धी काम पार्टी केन्द्रीय कार्यालयमा गरेको थियो।

त्यस्तै, प्रचारमा १७ लाख २२ हजार ८ सय खर्च भएको उल्लेख गर्दै कांग्रेसले पार्टीको नयाँ नेतृत्व चयन क्रममा भएको चुनावमा ६७ लाख ३६ हजार २ सय ९२ रुपैयाँ खर्च देखाएको छ। महाधिवेशन प्रतिनिधिको खानामा ९१ लाख ५६ हजार ३ सय ९८ रुपैयाँ खर्च गरेको उसले स्टेसनरी तथा छपाइमा १२ लाख ५९ हजार ८ सय ८४ खर्च लागेको प्रतिवेदनमा उल्लेख छ। महाधिवेशन भ्रमणमा दुई लाख ५१ हजार ५ सय ९० रुपैयाँ खर्च देखाउँदै कांग्रेसले अन्य खर्च शीर्षकमा १७ लाख २ हजार ६ सय ५३ रुपैयाँ  भएको जनाएको छ।

त्यस्तै, कांग्रेसले भूकम्प प्रभावितलाई एक करोड ८१ लाख १२ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको तलबमा कांग्रेसले ६० लाख २२ हजार खर्च गरेको छ भने साधारण तथा प्रशासनिक खर्च ९६ लाख ५० हजार ६ सय ६१ रुपैयाँ देखाएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष दुवै शीर्षकमा झन्डै ४८ लाख वृद्धि देखिन्छ। पार्टीका विभिन्न तह र व्यक्तिबाट उठ्न बाँकी २८ लाख ५५ हजार २३ रुपैया मिनाह गर्दै कांग्रेसले त्यसलाई खर्च देखाएको छ। अघिल्लो वर्ष जम्मा ५० रुपैयाँ वित्तीय खर्च देखाएको उसले गत वर्ष भने त्यो शीर्षमा ११ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ।

६ करोड ६० लाख ५५ हजार ६ सय २५ स्थिर सम्पत्ति रहेको भन्दै कांग्रेसले सात करोड ७३ लाख ७४ हजार २ सय ६१ रुपैयाँ मौज्दात देखाएको छ। गत वर्ष बैंकमा नगल मौज्दात १० करोड ९० लाख ६५ हजार ८७ रुपैयाँ थियो। चालू सम्पत्ति एक करोड १० लाख ३७ हजार १ सय ३६ रुपैयाँ बराबरको रहेको जनाउँदै कांग्रेसले एक करोड २३ लाख ५० हजार ७ सय ४४ रुपैया दायित्व देखाएको छ। जुन गत वर्ष एक करोड ४९ लाख ७५ हजार २ सय ९७ रुपैयाँ रहेको थियो।  

पार्टी सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीतादेवी यादवका साथै चार्टर एकाउन्टेनहरूरु ए यस आर एन एसुसेट अंकुशकुमार, पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेल र सहसचिव रविन बज्रार्चायको हस्ताक्षरसहित आयोगमा प्रतिवेदन बुझाइएको छ।

पुस मसान्ताभित्र गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन बुझाउनुपर्ने ऐनको व्यवस्था अनुसार बिहीबारसम्म कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका ७६ राजनीतिक दललले आर्थिक प्रतिवेदन आयोगमा बुझाइसकेका छन्।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबारसम्म सबै दलले आम्दानी र खर्च विवरण आयोगलाई बुझाउने विश्वास व्यक्र गरे। 'ऐनमा रहेको व्यवस्थाअनुसार दलले पुस मसान्ताभित्र विवरण बुझाउनैपर्छ,' उनले भने, '७६ दलको विवरण प्राप्त भएको छ, अन्यले पनि समयसीमाभित्रै बुझाउनेमा आशावादी छौं।'

प्रकाशित: २९ पुस २०७३ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App