coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘र्‍यापिड टेष्ट’गर्न सकस, जनशक्ति र पूर्वाधार शून्य

सन्तोष पोखरेल/संगम घर्तीमगर

पोखरा/बागलुङ- कोरोनाका दुईजना बिरामी फेला परेपछि सरकारले बागलुङमा थप संक्रमित पत्ता लगाउने गरि र्‍यापिड टेष्ट गर्ने निर्णय त गरेको छ। तर, र्‍यापिड टेष्ट गर्नका लागि चाहिने पूर्वाधार भने निकै कमजोर रहेको स्वास्थ्य निकायले बताएका छन्।

सरकारले संक्रमित पहिचान गर्न र्‍यापिड टेष्ट गर्ने भनेपनि बागलुङमा कोरोना परीक्षण गर्ने प्रविधि छैन भने प्राविधिकको पनि उत्तिकै खड्को छ। बागलुङमा प्रयाप्त पूर्वाधार नहुँदा कोरोना परीक्षण गर्नका लागि संकलित नमूनालाई पोखरासम्म ल्याउनुपर्ने बाध्यता छ।

सरकारले बागलुङमा कोरोना संक्रमितको वासस्थान वरिपरिका तथा सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण गर्ने तयारी गरेको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माले पोखराको प्रयोगशालामा रहेका दुईवटा मेसिनबाट अहिले नमूना परीक्षण भईरहेको जानकारी दिए। तर, बागलुङमा गरिने र्‍यापिड टेष्टका लागि त्यही ल्याब स्थापना गर्ने वा पोखरा ल्याउने भन्नेबारे अन्योल रहेको उनले बताए।

‘पोखरामा परीक्षण भईरहेको छ। तर, अब बागलुङमा द्रुत गतिमा परीक्षण गर्नुपर्ने हुन्छ। त्यसका लागि पोखराकै एउटा मेसिन लैजाने वा संघीय सरकारसँग अर्को मेसिन माग्ने भन्ने निश्चित भएको छैन,’ शर्माले भने, ‘बागलुङमै भिन्दै प्रयोशाला स्थापना गरेर परीक्षण गर्न सकेमा झनै तिब्र हुन्छ।’ उनले पोखरामा रहेको सानो आकारको मेसिन समेत बागलुङ लैजान सकिनेबारे छलफल भइरहेको उनले बताए।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा पहिल्यै रहेको मेसिन र अघिल्लो साता संघीय सरकारले पठाएको सानो आकारको गरि पोखराको प्रयोगशालामा अहिले दुईवटा मेसिनबाट कोरोना परीक्षण भईरहेको छ। शर्माका अनुसार अघिल्लो साता ल्याइएको सानो मेसिनले दिनमा जम्मा १०–१२ वटासम्म नमूना परीक्षण गर्न सक्छ। तर, प्रष्ठिानमा पहिल्यै रहेको मेसिनबाट दुई सिफ्टमा गरि दिनमा एकसय नमूना परीक्षण गर्न सक्छ। ‘बागलुङमा परीक्षणका लागि अहिले नै के गर्ने भन्ने निर्णय भईसकेको छैन। कसरी र्‍यापिड टेष्टलाई गति दिने भन्ने अझै अन्योल छ,’उनले भने। पोखराका विभिन्न चारवटा अस्पतालले राखेको फिवर क्लिनिकबाट सिफारिस भएका बिरामीको मात्र नमूना संकलन गरेर परीक्षण गरिरहेको शर्माले जानकारी दिए। पोखराको ल्यावमा परीक्षण गरिएका नमूनाको अन्तिम निर्णय शनिबारदेखि पोखरामै गर्न थालिएको पनि शर्माले जानकारी दिए।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बागलुङमा र्‍यापिड टेष्ट संचालन गर्न सेनाका स्वास्थ्यकर्मी परिचालनको तयारी भईरहेको बताए। निर्देशक शर्माका अनुसार सेनाको पोखरास्थित अस्पतालका स्वास्थ्यकर्मीमार्फत बागलुङमा रहेका स्वास्थ्यकर्मीलाई र्‍यापिड टेष्टको नमूना संकलनका लागि खटाउने तयारी भएको जानकारी दिए। बागलुङमा संकलित नमूना भने अहिलेका लागि पोखरामै परीक्षण गर्ने पनि उनले बताए।

 कोरोनाका सम्भावित बिरामी पहिचान गर्नका लागि सरकारले ल्याव टेक्निसियन बढाउन थालेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए। ‘र्‍यापिड टेष्ट के कसरी गर्ने भन्ने विषयमा माथि नै छलफल हुँदैछ,’ उनले भने,‘ ल्यावमा काम गर्ने कर्मचारीको विवरण माग भएको थियो।’ अहिले धवलागिरी अञ्चल अस्पतालमा ११ जना र स्वास्थ्य कार्यालयमा काम गर्ने एकजना गरी १२ जनाको तथ्यांक पठाएको उनले बताए। प्रयोगशालाका कर्मचारीको तथ्यांक माग्ने बाहेक कुनै जानकारी नपाएको उनले बताए।

बाग्लुङमा बेल्जीयमबाट एउटै उडानमा आएका दुईजनालाई संक्रमण पुष्टि भईसकेको छ। संक्रमितहरुको अहिले बागलुङस्थित धवलागिरी अञ्चल अस्पताल उपचार भईरहेको छ। बागलुङ नगरपालिका—४ कुँडुलेकी १९ वर्षीया किशोरीको अवस्था सामान्य छ। बागलुङ—३ गौंडाकोटकी ६५ वर्षीया वृद्धालाई पहिलेदेखि नै दमको समस्या भएपनि अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। दुवै संक्रमितको परिवारका सदस्यको नमूना संकलन गरेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

अस्पताल आफै बिरामी

कोरोनाका दुई संक्रमितको उपचार गरिरहेको अञ्चल अस्पतालमा पूर्वाधार भने निकै नै कम छन्। उपचार सामाग्री अभावमा अस्पताल आफै बिरामी जस्तै छ। अस्पतालमा अहिलेसम्म एउटा मात्रै भेन्टिलेटर छ। त्यसलाई आईसियुमा रुपान्तरणका लागि आवश्यक सामाग्री अझै आईपुगको छैन। ‘अस्पताल र आईसियुका लागि आवश्यक सामग्री किन्न एककरोड विनीयोजन भएको जानकारी आएको छ,’ अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले भने,‘त्यसको अख्तियारी हामीलाई आईसकेको छैन।’ सरकारले भनेजस्तो र्‍यापिड टेष्ट गर्दा धेरैमा संक्रण देखियो भने आईसोलेसन राख्नका लागि समस्या हुनेछ। अञ्चल अस्पतालमा निर्माण गरिएको चार वटा आईसोलेसन मध्ये दुई वटामा संक्रमित उपचारारत छन्। ‘हामीसँग चारवटा कोठा खाली थिए ती कोठालाई आईसोलेसन बनायौं, दुईवटा प्रयोगमा आईसकेका छन्,’ सूचना अधिकारी गौतम भन्छन्,‘ सम्भव भए अरु कोठा खाली गराउने हो तर, प्रयाप्त ठाउँ छैन।’ आईसोलेसनमा एक बिरामी अर्कोको सम्पर्कमा नआउने गरी राख्नुपर्ने भएकाले पनि समस्या भएको उनले बताए।

अस्पतालका भौतिक पूर्वाधार मात्रै नभई स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पनि कम रहेको मेडिकल सुरपरीटेन्डेन्ट डा. शैलेन्द्र वी पोख्रल बताउँछन्। ‘हामीसंग आईसियु नै छैन। आईंसियु आईहाले पनि त्यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति अभाव छ,’ पोख्रेल भन्छन्,‘ नमूना संकलनका लागि जाँदा लगाइने व्यक्तिगत सुरक्षा पोशाक (पिपिई) सेट र सर्जिकल मास्क एकदमै कम छन्। एकचोटी प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने खालका भएकाले अभाव हुनसक्छ।’ अञ्चल अस्पतालमा संक्रमित बिरामी संख्या बढेर राख्न नसक्ने भएमा पोखरा पठाउनुको विकल्प नभएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ।

आपसी समन्वयको अभाव

कोरोना संक्रमित देखिएपछि कसले के काम गर्ने भन्ने विषयमा यहाँका सरोकारवालाबीच समन्वय अभाव छ। कोरोना संक्रमण पुष्टि भएको ६–७ घण्टासम्म विरामीलाई अस्पताल ल्याउन नसक्नुले आपसी समन्वय र जिम्मेवारी वोधको अभाव देखाएको स्थानीयको गुनासो छ। बागलुङकी पहिलो संक्रमित कुडुलेकी युवतीलाई अस्पताल राख्नका लागि चिकित्सकले नै नमानेका कारण ढिलो भएको आरोप लगाएको जिल्ला कमाण्ड पोष्टले ६५ वर्षीया वृद्धालाई अस्पताल ल्याउने बेला आफ्नो जिम्मेवारी झनै पूरा गर्न सकेन।

बिरामी ल्याउनका लागि तयार पारिएको रेडक्रस सोसाईटी बागलुङको एम्बुलेन्स तयार पारिएपनि चालक भागेपछि कमाण्ड पोष्टले जिम्मेवारीबाट हात झिक्यो। अन्तमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै सवारी चालक रुद्र पराजुलीलाई लिएर बिरामी लिन वृद्धाको घरमा पुगेका थिए। बागलुङ बजारबाट १० मिनेटको हाराहारीको दुरीमा रहेको कुँडुलेबाट बिरामी अस्पताल ल्याउन ७ घण्टा लाग्यो भने त्यत्तीकै दुरीमा रहेको गौडाकोटबाट पुरै ६ घण्टा लाग्यो।

 

 

प्रकाशित: २३ चैत्र २०७६ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App