७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिटामोल पाउन पनि मुस्किल छ, कोरोना उपचार होला?

वीरेन्द्रनगर- आइतबार बिहान रातो पहिरनमा सजिएका। उमेरले ४५ वर्षभन्दा माथि जस्तो देखिने दुई महिला कोरोनाको विषयमा कुराकानी गर्दै थिए। ती दुवै महिला एकआपसमा अपरिचित भए पनि कोरोनाको विषयले परिचित बनायो। तिमध्येकी हरियो मास्क लगाएकी महिलाले भनिन्, ‘धन्न यहाँ (कर्णाली) मा कोरोना देखिएको छैन। यदी देखियो भने त सोत्तरै बनाउँछ।’ उनको कुरामा सँगै बसेकी अर्की महिलाले थपिन्, ‘कस्ताकस्ता विकसित राष्ट्रमा त बेहाल बनाएको छ, यहाँ लाग्यो भने त के गर्नु।’

समाचारमा यी दुई महिलाका संवाद यहाँ प्रस्तुत गरिए पनि यतिबेला सबै कर्णालीवासीको मुखबाट निस्कने शब्द नै यही हो, ‘कर्णालीमा कोरोना फैलियो भने सोत्तरै पार्छ।’ यो शब्द त्यतिकै निस्केको होइन। रोगभोगले पिल्सिएका कर्णालीवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा नपाउनु त्यति ठूलो होइन। जाजरकोटमा २०६६ सालमा झाडापखालाको महामारी फैलियो। समयमै उपचार नपाएर कयौंको मृत्यु भयो। २०७१ सालमा जाजरकोटमै फैलिएको इन्फ्लुएन्जाको महामारी होस वा २०४३ सालमा हुम्लामा भएको औलो यहाँका लागि नमिठो क्षण बन्यो।

यति मात्र होइन बेलाबेला सामान्य उपचारसमेत नपाएर ज्यान गुमाउनु यहाँका बासिन्दाको नियतिनै हो। कतिपय गाउँका स्वास्थ्य चौकीमा सिटामोलसमेत पाइँदैन। जसले यहाँका बासिन्दा मृत्युको मुखसम्म पुग्छन्। सिटामोलसमेत नपाउने अवस्थामा विश्वभरि फैलिएको कोरोना भाइरसको उपचार कर्णालीका कति प्रभावकारी होला? यो प्रश्न यत्रतत्र फैलिएको छ। सामान्य रोगदेखि जटिल रोगसँग भिड्नु कर्णालीको नियति बनिसकेको छ।

सामान्य रुघाखोकीको उपचार पाउन नसक्ने यहाँका बासिन्दालाई महामारीको रूपमा फैलिएको कोरोनाको उपचार पाउन झनै सकस हुने देखिन्छ। सामान्य उपचार सेवासहितका स्वास्थ्य चौकी गाउँगाउँमा छन् तर स्वास्थ्य उपकरण हुँदैनन्। यसमा कर्णाली प्रदेशकी सांसद कृष्णा शाहको पनि एकमत छ। कोरोनाको जोखिम कर्णालीमा बढ्दै गएको भन्दै उनले भनिन्, ‘कोरोना यहाँ एउटामा देखियो भने नियन्त्रण बाहिर जान्छ।’ कर्णालीमा अस्पताल र स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीहरूको अभाव, सञ्चालित अस्पतालको राम्रो व्यवस्था नहुँदा उपचारमा जटिला आउन सक्ने दैलेखका कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले बताए।

‘कोरोना भित्रियो भने कर्णालीमा अलि जटिल समस्या हुन्छ,’ उनी भन्छन्, ‘पूर्वाधार अभाव हुनु नै यसको प्रमुख कारण हो।’ कर्णालीमा करिब १७ लाख जनसंख्या भएको र एक लाख जतिलाई कोरोना संक्रमण भयो भने उपचार गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। ‘पालिकास्तरमा ज्वरो नाप्ने थर्माेमिटर पनि छैन,’ उनले भने, ‘यस्तो अवस्थामा पूर्व सावधानी अपनाउने र भिडभाडमा नजानु उत्तम विकल्प हुन्छ।’ कोरोनाको छिटो नमुना परीक्षण गर्नुपर्नेमा उनले जोड दिए। डोल्पाका प्रदेशसभा सांसद वीरबहादुर शाहीले प्रदेश सरकारलाई चुनौती देखिएको बताए। ‘लकडाउनभन्दा पहिला भारतलगायतका ठाउँबाट आउनेलाई क्वारेन्टाइनमा राखेको भए हुन्थ्यो,’ उनले भने, ‘त्यसो भएन। जसले गर्दा गाउँमा सर्वसाधारण त्रसित भएका छन्।’ उनीहरूको निगरानी प्रदेश र स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ।

‘सामान्य अवस्थामा त राम्रो उपचार पाइँदैन,’ हुम्लाका रवीन भण्डारीले भने, ‘कोरोना जस्तो महामारी भित्रिए त के पो बाँचिएला।’ ‘भगवान् भरोसाले यहाँ अहिलेसम्म कोरोना देखिएको छैन,’ कालीकोटकी पार्वती सिंहले भनिन्, ‘यदी यहाँ कोरोना महामारीका रूपमा देखियो भने सरकारलाई नियन्त्रणमा लिन गाह्रो पर्छ।’ सिटामोलसमेत अभाव हुने कर्णालीमा यसको उपचार गाह्रो हुने भन्दै उनले नागरिक आफैँ सचेत हुनुपर्ने बताउँछन्। क्वारेन्टाइन व्यवस्थित र गुणस्तरीय नहुँदा झन समस्या भएको उनको भनाइ छ। ‘औषधि त परको कुरा,’ उनले भनिन्, ‘गाउँ गाउँसम्म चेतनानै पुगेको छैन।’ कर्णालीवासीले उपकरण अभाव र भौगोलिक विकटताका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्।

साताअघि गृहमन्त्रालयमा बसेको बैठकले समेत कर्णाली प्रदेशमा कोरोना भाइरसको जोखिम बढ्न सक्ने निष्कर्ष निकालेको थियो। जुम्लाका माधव चौलागाईंले कर्णालीमा विभिन्न महामारीको १२५ बर्से इतिहास भएको आफ्नो एउटा लेखमा उल्लेख गरेका छन्। उनका अनुसार कर्णालीमा १९५१ साल यता लगभग सबै दशकमा कुनै न कुनै मानव तथा पशुजन्य महामारी फैलिएको छ। ‘जनशक्ति अभावले कृषि तथा उत्पादन प्रत्यक्ष प्रभावित भयो र जनजीविकामा मार प¥यो,’ उनले भने। गरिबी र पछौटेपन नै प्राकृतिक घटनाका कारण हुन्।

यता कोरोनासँग जुध्न प्रदेश सरकारले काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा कर्णाली प्रदेश सरकारीकी प्रवक्ता विमला केसीले बताइन्। तीन अस्पतालाई आइसोेलेसन अस्पताल निर्माण गरेको र तीन अस्पतालाई आर्थिक सहायता दिएको मन्त्री केसीले बताइन्। विभिन्न नाकामा हेल्थ डेस्क स्थापनासँगै क्यारेन्टाइन, आइसोलेसन निर्माण गरेको कर्णाली प्रदेश सरकारले जनाएको छ। ‘यस्तो अवस्थामा आत्तिनु हुँदैन,’ उनले भनिन्, ‘जनताको सहयोगमा प्रदेश सरकारले कोरोनाका सामना गर्छ। हामी उपचारमा केही कमी हुन नदिने तरिकाले लागेका छौं।’
 

प्रकाशित: २३ चैत्र २०७६ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App