coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना सजगता : गाउँका पुल र सडक बन्द

शुक्लागण्डकी नगरपालिका–८ समावेशी टोलमा तगारो बनाउदै युवाहरु ।

तनहुँ – कोरोना भाइरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि तनहुँमा सजगता अपनाइएको छ। कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको पहिलो साता कार्यन्वयनमा अटेरी गरेका स्थानीयहरुमा हाल सुरक्षित रहन विभिन्न उपाय अपनाउन थालेका छन्। लकडाउनमा पनि खुला रहेका गाउँघर बन्द हुन थालेका छन्। छिमेकी गाउँको आवतजावत रोक्नलाई प्रवेशद्धारका झोलुङ्गे पुल, मोटरेवल पुल, सडकमा बाँस, ढुंगामुढा राखेर रोक लगाएका छन्। कतिपय स्थानमा त सडकमा रुख नै ढालेर अबरुद्ध पारिएको छ। 

भिमाद नगरपालिकाको प्रवेशद्धारमा रहेको सेती नदीमाथिको मोटरेवल पुलमा बाँस तेर्साएर सवारीसंगै मान्छे आउजाउलाई रोकिएको छ। त्यहाँ प्रहरी, नगरप्रहरी र स्थानीयवासीले निगरानी गरेका छन्। उनीहरुले अत्यावश्यक सवारीलाई मात्र चल्न दिएका छन्।  ‘विरामी बोकेका एम्बुलेन्स, खाद्यन्नका सामाग्री ढुवानी सवारी मात्र भिमाद प्रवेश गर्न दिएका छौँ’, ईलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायव निरीक्षक (सइ) भेषराज रेग्मीले बताए। 
उनका अनुसार भिमाद नगरपालिकामा बजार क्षेत्रमा मात्रै होइन गाउँहरु समेत लकडाउन गरिएका छन्। ‘गाउँ घरतिर कृषि कर्म रोकिएको छैन्। तर, गाउँभन्दा बाहिरकालाई प्रवेशमा रोक लगाइएको छ।’

भिमाद नगरपालिका–१ उग्दीटोलमा ‘अनावश्यक आवतजावत रोकांै, कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’, लेखिएको सुचनासहित बाँसको तगारो राखेर गाउँ प्रवेश गर्न  दिएका छैनन्। उक्त सुचनामा वडा सदस्य, टोल बिकास संस्थाका प्रतिनिधीको नम्बर राखिएको छ। आवश्यक परेको बखत उक्त नम्बरमा फोन गरेर गाउँमा प्रवेश गर्न पाउने वडा सदस्य टेकबहादुर थापाले बताए। ‘गाउँमा कोरोना फैलन नदिन प्रवेशमा रोक लगाएका छौँ’, उनले भने, ‘त्यति नहुदासम्म अनावश्यक काममा आउनेजाने बढी थियो। गाउँलेले जोखिम महशुस गरेकाले तगारो राखेर रोक लगाएका हौँ।’ 

शुक्लागण्डकी नगरपालिका – ८  समावेशी टोलका युवाले पनि  संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै मोटरबाटोमा बास तेर्साएका छन्। बजारको नजिक रहेको यहाँ प्रवेशमा रोक लगाएका छन्। ‘गाउँका प्रत्येक घरमा पुगेर कोरोनाका लक्षण , यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने पनि गरेका छौँ’, स्थानीय युवा प्रकाश विकले भने। 

षिङ गाउँपालिका र व्यास नगरपालिका विभिन्न गाउँ पुग्ने सडकमा स्थानीयले रुख ढालेर सडकमा तेर्साएका छन्। ढुंगामुढा राखेर सडक बन्द गराएका छन्। यसको मुख्य उदेश्य बाहिरका मान्छेको आउजाउ रोक्ने र सुरक्षि रहने हो। 
तनहुँको सदरमुकाम दमौलीस्थित तरकारी बजारमा लकडाउनको समयमा सामाजिक दुरी कायम नहुदाँ तरकारी पसल नै बन्द गराइएको छ। उपभोक्ताको चाप पहिलाको जस्तै भएकाले व्यास नगरपालिका – ३ वडा कार्यालयले तरकारी पसल बन्द गराएको हो।

सामाजिक दूरी कायम नहुदाँ कोरोनाको संक्रमण फैलन सक्ने हुदाँ तरकारी पसल लकडाउन अवधीलाई गराएको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए। उपभोक्ताको मागलाई मध्यनजर गर्दै घरघरमै तरकारी लैजाने व्यवस्था मिलाएको उनको भनाई छ। तर, सवारीमार्फत घरघरै लगिएको तरकारी समेत खरिद गर्न भीडभाड पसलको तुलनामा कम नभएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। 

खोलामा माछा मार्न जाने, जमघट गराएर जुवातास, क्यारेमबोर्ड खेल्ने बिरुद्ध स्थानिय तह र प्रहरीले कडाई गरेका छन्। तैपनि गाउँघरमा यस्ता क्रियाकलाप अझै रोकिएको छैन्। कोरोना विरुद्ध सचेतना फैलाउदैं प्रहरी, जनप्रतिनिधी र स्वास्थ्य स्यंमसेविका माइकिङ गर्दै गाउँगाउँमा पुग्ने गरेका छन्।



 

प्रकाशित: २३ चैत्र २०७६ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App