६ वैशाख २०८१ बिहीबार
अन्य

‘कोभिड–१९’ को मनोगत त्रास

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘कोभिड–१९’को उच्च जोखिमको सूचीमा नेपाल राखेपछि सरकारले जोखिमबाट बच्न सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । मानवीय स्वास्थ्य सुरक्षाको दृष्टान्त देखाउँदै सरकारले विद्यालयमा सभा सम्मेलनजस्ता भेला हुने कार्यक्रम नगर्न भनेका छन् । त्यस्तै, कक्षा–९ सम्मको वार्षिक परीक्षा ‘एसइइ’ अगावै सम्पन्न गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना सर्कुलर गरेको छ । विगतका वर्षमा पनि विद्यालयहरुले चैतको पहिलो हप्तामा परीक्षा लिँदै आएको दृष्टान्त छ ।

‘मौसमी इन्फ्लुएन्जा र कोरोना भाइरस (कोभिड–१९)’ उस्तै लक्षणका कारण मानिसमा मनोगत त्रास बढ्दो छ । सही सूचनाविना यस्ता त्रासले मानसिक रोगी बढ्ने चिकित्सकहरु बताउँछन् ।

तथापि, आम नागरिकको सुुरक्षा प्रपञ्च निर्वाह गर्नु सरकारको दायित्व हो– त्यो काम गर्नुपर्दछ, जानकारहरु भन्छन्, ‘कोभिड–१९ छिर्ने प्वालहरु बन्द गर्नेतर्फ सजगता अपनाउनु पर्दछ । छिमेकी चीनसँग जोडिएका हवाई तथा स्थलगत मार्गबाट आउने यात्रुको विशेष निगरानी गर्नुपर्दछ । विशेषज्ञ चिकित्सको टोलीलाई अत्याधुनिक सुविधा सम्पन्न चिकित्सा उपकरणका साथ उच्च सर्तकता अपनाउन सक्नुपर्दछ । त्योसँगै अन्य कोरोना संक्रमित देशबाट आउने हवाई यात्रुको विशेष निगरानी राख्नुपर्दछ । त्यो जायज हुन्छ, नकि कुनै मनोगत त्रास फैलने सूचना प्रवाह ।

यद्यपि, कोरोना भाइरस नेपालमै सीर्जित भई फैलिरहेको छैन । नेपालमै एउटा ‘पोजेटिभ केस’ देखिएको भने यथार्थ हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुका अनुसार संक्रमित भनिएको मानिस सुरक्षितरुपमा घर गएका छन् । चीनसँग सीमा जोडिएको र नेपालको स्वास्थ्य संरचनागत अवस्थाका जानकार डल्लुएचओले जोखिमको सूचीमा राख्नु जायज देखिन्छ । त्यसैका आधारमा डब्लुएचओले नेपाललाई उच्च सतर्कता अपनाउन भनेको विज्ञहरु औंल्याउँछन् । यदि काठमाडौं उपत्यकामा फैलिहाल्यो भने त्यसको परिणाम अकल्पनीय हुन्छ, भन्छन् विज्ञहरु ।

तर, यतिखेर मिडियामा आएका विभिन्न समाचारले आम नागरिकमा संसय पैदा भएको छ । उनीहरु बजारमा दैनिक आवश्यक वस्तुको किनमेलदेखि बजारमा अभाव भएका मास्कका बारेमा चिन्तित देखिन्छन् । यस्तो अवस्था सिर्जना हुनु भनेको कतिपय विज्ञ सरकारले व्यवस्थित ढंगले कोरोना भाइरसको बारेमा जानकारी दिन नसकेकोमा प्रश्न गर्छन् ।

विज्ञहरुका अनुसार सरकारी निर्णयले समाजमा नकारात्मक सन्देश गएको छ । ‘वनको बाघले खाओस् या नखाओस् मनको बाघले खायोस्’ भन्ने चरितार्थ सिर्जना गरेको विज्ञहरुको बुझाइ छ । यस्ता परिस्थिति सिर्जना गर्नु भनेको सूचनाको संवेदनहीनता हुनु हो । जसका कारण जनतामा मनोगत त्रास उत्पन्न भएको छ । सरकारले त्राहीमाम फैलाउने हो वा उच्च सतर्कता अपनाएर आत्म सुरक्षा गर्ने उपायमा ध्यान दिने हो भने यो प्रश्न चोटिलो बनेको छ । यसले सरकारी बौद्धिकतामाथि थप प्रश्न गर्छन् विज्ञहरु ।

त्यसो त, नेपालमा एकजना संक्रमित भएका व्यक्तिलाई उपचारार्थ निको भएको भन्ने सरकारले सन्देश नदिएको होइन । त्यो सँगै कोरियाबाट आएका चार जनालाई थप आइसोलेसन वार्डमा राखेर निगरानी गर्दा, उनीहरुमा पनि ‘कोभिड–१९’ संक्रमणको कुनै लक्षण नेदेखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाइसकेको छ । तर यतिले आम नागरिक ढुक्क छैनन् ।

यहीबीचमा चीनको कोरोना प्रभावित क्षेत्र बुहानबाट मृत्यु डरले हायलकायल भएर सरकारले स्वदेश फिर्ता ल्याएका १७५ जना निरोगीलाई क्वारेन्टाइनमा राखेर निगरानीपश्चात घर फिर्ता गरिसकेको छ । यस्ता परिदृश्यगंम गर्ने हो भने सरकारले मिडियामार्फत ‘कोरोनाको स्पष्ट अवस्था भन्न नसकेको देखिन्छ । यसैबीचमा शिक्षा क्षेत्रका सञ्चालकसमेत त्राहीमाम हुने अवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पैदा गरेको छ ।

विद्यालय सञ्चालन अन्योल
सरकारले चाँडै परीक्षा सक्नु भन्ने निर्णयले विद्यालयका सञ्चालकहरु चिन्तित बनेका छन् । कतै नेपालमा कोरोना भित्रिसकेको त होइन (?) भन्ने त्रासमा परेका छन् । वृहस्पति विद्यासदनका निर्देशक प्रविण जोशी भन्छन्, सरकारको पछिल्लो सूचनाले हामीलाई सशंकित बनाएको छ । एकतर्फ विद्यार्थीहरुको स्वास्थ्य सुरक्षासँगै विद्यार्थीलाई सुरक्षित बनाउन जरुरी छ र अर्कोतर्फ विद्यालय सञ्चालन गर्न अन्योल भएको छ,’ निर्देशक जोशी भन्छन्, ‘कतै नेपालमा भित्रिसकेको होइन (?), बजार हल्ला यस्तै छ ।’ ‘यदि नेपालमा भित्रिइ नसकेको भए किन हतारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ मा परीक्षा सक्नुपर्ने निर्देशन किन दिइयो,’ उनी तर्क गर्छन् ।
उनको तर्क जायजै देखिन्छ ।

किनभने, एक निजी अस्पतालका डाक्टरले सिन्धुपाल्चोकमा देखिएको हङ्कङ् फ्लुमा भागाभाग गरेको उल्लेख गर्छन्  । उनका अनुसार सरकारी तयारी विश्व स्वास्थ्य संगठनले भनेपछि उच्च सतर्कता अपनाइएको छ । जोखिम न्यूनीकरण गर्न उच्च प्राथमिकता दिएको भान गराइएको छ । तर व्यवस्थित तवरले सूचना आम नागरिकसम्म पुर्‍याउन सकेको छैन ।

शिक्षाविद् प्राडा. विद्यानाथ कोइराला भन्छन्, ‘कोरोना हुन नदिन के गर्ने र भएपछि के गर्ने स्पस्ट कुरा चिकित्सकहरुबाट आउन नसकेको बताउँछन् । ‘हात धुने, मास्क लगाउने, कस्ता व्यक्तिलाई भाइरसले असर गर्ने त्यो कुरा भन्न सक्नुपर्दछ अनि मात्र विद्यालयलाई निर्देशन दिएको भए राम्रो हुने थियो सरकारले,’ शिक्षाविद् कोइराला भन्छन्, ‘अस्पष्ट कुराले अन्योल सिर्जना देखिएको छ । यसले एक किसिमको त्रास उत्पन्न भएको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका डा. शेरबहादुर पुन यस्ता विषम परिस्थितिको बेला आम–नागरिकमा एक किसिमको मनोगत त्रास हुनु स्वाभाविक ठान्छन् । उनका अनुसार मानिसहरु सामान्य रुघाखोकी लाग्दैमा आत्तिने गरेको पाइन्छ । ‘कतिपय अस्पतालका चिकित्सकसम्म लक्षणअनुसारको परीक्षणमा अलमल देखिएको छ, डा. पुन भन्छन्, त्यसतर्फ पनि हामीले ध्यान दिनु देखिएको छ ।’

स्वास्थ्यकर्मीमा त्रास
चीनमा जस्तो जोखिम मोलेर कोरोना संक्रमणलाई उपचार गर्ने आँटिला नेपाली चिकित्सक नभएको बुझिएको छ । सिन्धुपाल्चोकमा देखिएको ‘हङ्कङ फ्लू’मा चिकित्सकहरु अत्तालिएको अर्का एक चिकित्सक बताउँछन् । उनका अनुसार, कतिपय चिकित्सकहरु रिपोर्टमा कोरोना भाइरस लक्षण ‘नेगेटिभ’ देखिए पनि रुघाखोकी, ज्वरो लक्षण आएका बिरामीहरु परीक्षण गरिसकेपछि संशकित महसुस गरेको उल्लेख गर्छन् ।

अन्य दृष्टान्त,
ट्राफिक प्रहरी कार्यालयले पनि कोरोनाको कारण मापसे जाँच स्थगित गरेको जनाएको समाचार आएको छ । परराष्ट्र मन्त्रालयले पनि ‘ट्राभल एडभायजरी’ सार्वजनिक गरिसकेका छन् । त्यस्तै सरकारकै सिको गर्दै नेपाली कांग्रेस पार्टीले पत्रकार सम्मेलन गरी कोरोनाको कारण देखाइ पार्टी तथा भ्रातृ संगठनको सबै तहमा भेला तथा सम्मेलन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । सर्वोच्च अदालतले चीन तथा जापानलगायतका देशबाट आउने यात्रुलाई प्रतिबन्ध गर्न समेत आदेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले पनि सूचना जारी गरेको छ ।

यसले के देखाउँछ भने नेपालमा ‘कोरोना भाइरस’ भित्रिसकेको परिस्थिति जस्तो देखाएको छ । हालसम्म कोरोनाको संक्रमण विश्वका ११९ देशमा देखिएको छैन । ९० प्रतिशत संक्रमण तीन देशहरु चीन, इरान र इटलीमा देखिएको डब्लुएचओले उल्लेख गरेका छन् । अहिलेसम्म कोरोनाको सम्पूर्ण जानकारी चिकित्सा वैज्ञानिकहरुले हासिल गरी नसकेको अवस्था छ ।

डब्लुएचओ कोभिड–१९ अवस्था रिपोर्ट ४४ अनुसार विश्वभरका ८४ मुलुकका ९३,०९० (नयाँ २२२३) संक्रमण भएका छन् । चीनमा मात्रै ८०,४२२ (नयाँ १२०) र  मृत्यु २९८४ (नयाँ ३८) छन् । अन्य देशहरुमा १२,६६८ (नयाँ २१०३) र मृत्यु २१४ (नयाँ ४८) छन् । संक्रमण पछि निको भएको ५३,६८८ रहेका छन् । नेपालमा थप मानिसमा कोरोना भाइरस देखिएको छैन ।

सरकारको तयारी
सरकारका अर्थमन्त्री तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही सूचना तयार गरी प्रत्येक दिन बुलेटिनमार्फत सन्देश प्रवाह गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका छन् । त्यसले आम नागरिकमा त्रास देखिएको भए, त्रास निर्मूल हुने बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटा सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोे जनाएको छ । कोरोनाबाट सुरक्षित रहने उपाय अपनाउन मन्त्री, सचिव र महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समितिसमेत गरी तीन तहगत छन् भनेका छन् । सरकारका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, ‘पहिलो— भाइरसको स्रोत अन्यत्र भएकोले बाहिरबाट आउनबाट कसरी रोक्ने भन्नेमा प्राथमिकता दिएको छ ।

दोस्रो, हाम्रा योजना, देशभरका सम्पूर्ण अस्पतालमा कोरोनाको उपचार सम्भव छ वा छैन भन्ने स्थितिमा मूल्यांकन गरिएको छ । अहिलेको अवस्थामा अस्पतालमा कसरी रोगको उपचार गर्ने भन्ने छ । तेस्रो, औषधि आपूर्तिको व्यवस्था, भीडभाड नगर्ने र मन्त्रालय अन्य निकायसँग कसरी समन्वय गर्ने भन्ने उद्देश्य अनुरुप काम गरिरहेको छ ।’

सरकारका प्रवक्ता देवकोटाका अनुसार अन्तर्राष्ट्रिय मान्यता अनुसरण गर्दै आधुनिक थर्मल स्क्यान प्रयोग गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति दोब्बर गरेका छन् । भारतमा पनि कोरोना भाइरस देखिइसकेकोले नाकाहरुमा थप कडाइ गर्न लागिएको जनाइएको छ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ जनामा शंका गरिएकाहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गर्ने क्रममा चिकित्सा रिपोर्ट सबैको नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताएका छन् । ४२६ नमुना प्रयोगशालामा परीक्षण गर्दा ‘कोभिड–१९’ लक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालले प्रादेशिक अस्पताललाई तयारी अवस्थामा राखिएको जनाएको छ । ‘योजनाअनुसार काम भैरहेको छ । वल्लुएचकोको अन्तर्राष्ट्रिय मान्यतालाई टेकेर उपचारका लागि राष्ट्रिय कार्यविधि बनाएका छौं, प्रवक्ता देवकोटा भन्छन्, ‘कार्यविधिमा टेकेर काम गर्दै छौं । अहिलेको अवस्थासम्म त्रासको वातावरण छैन ।

बजारमा माक्स अभाव
एकातर्फ सरकारका प्रवक्ता त्रासको वातावरण छैन भन्ने कुरा गर्छन् । अर्कोतर्फ कोरोना त्राससँगै बजारमा माक्स तथा अस्पष्ट जानकारीले मनोगत त्रास देखिएको छ । यदि माक्स पाइहालेमा सामान्य सर्जिकल माक्सको मूल्य साविकको भन्दा तेब्बरसम्ममा बेचेको पाइन्छ । यद्यपि माक्सको अभाव रोक्न सरकारले निजी क्षेत्रसँगको समन्वय गरेर अगाडि बढ्ने कुरा गरेका छन् । यसैबीच विश्वभर ४० प्रतिशत स्वास्थ्य सामग्री उत्पादन गर्न भनिएको छ । विश्वका अन्य मुलुकमा पनि ट्वाइलेट पेपर, माक्स र स्वास्थ्यमा प्रयोग हुने चस्माजस्ता वस्तु अभाव भएको डल्लुएचओले उल्लेख गरेका छन् ।

सावधानी अपनाऔं
फरक प्रकारको कोरोना भाइरसमा अनुसन्धान गरेका डा. अजितकुमार कर्ण यस्ता भाइरसबाट बच्ने उपायमा ‘रिक्स कम्युनिकेसन’ गर्नुपर्दछ भन्छन् । त्यसरी जोखिमका बारेमा सूचना प्रवाह गर्दा सकारात्मक तथा नकारात्मक सन्देश दुवै जान सक्दछ । ‘नकारात्मक सन्देश जान नदिन सचेत हुन बढी जरुरी पर्दछ,’ डा. कर्ण भन्छन् । कर्णका अनुसार नोवेल कोरोना भाइरसको स्रोत अहिलेसम्म अनुमानमै सीमित छ । वैज्ञानिकहरूले नोवेल कोरोना भाइरस चमेरोबाट मानिसमा आएको अनुमान गर्छन् । मर्स–कोरोना भाइरस चमेरोबाट ऊँटमा, ऊँटबाट मानिसमा आयो । यद्यपि घरपालुवा जनावरबाट सहजै नफैलने डा. कर्ण बताउँछन् ।

त्यस्तै डा. शेरबहादुर पुन रोगको महामारी फैलिइ हालेमा एकले अर्कालाई हेरविचार गर्न हिचकिचाउन सक्छन् । त्यसबाट बच्न रोग लाग्न नदिनु नै उत्तम मानिन्छ । डा. शेरबहादुर पुन भन्छन्, ‘हात धुनुहोस्, रोग लागेको मानिसबाट टाढै बस्नुहोस्, छियु आउँदा मुख छोप्नुहोस्, स्वस्थ्य खानेकुरा खानुहोस र आँखा, नाक मुखमा छुने बेला विचार पुर्‍याउनु पर्छ ।’

चिकित्सकहरुका अनुसार फैलिने दर एकबाट दस दसबाट सयमा हुनेछ  । बुढाबुढी, मुटु रोग, चिनी रोग लागेका मानिसहरुको मिश्रित रुपमा मृत्यु भएको छ । हालसम्म दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, नेपाल वा श्रीलंकाजस्ता देशमा संक्रमित फैलिइसकेको छैन । त्यसमा ध्यान दिन जरुरी छ, डा. पुन प्रश्न गर्दै भन्छन्, ‘कि हामीले भाइरसको पहिचान गर्न सकेका छैनौं । हैन भने भारत जस्तो अधिक जनसंख्यामा यसको प्रभाव कम देखिएको छ, यसको रहस्यमा विचार गर्नुपर्ने देखिन्छ ।’

डा. पुनका अनुसार नेपालमा प्रिमनसुनको समय सुरुसँगै मौसमी रुघाखोकी देखिने समय सुरु भएको छ । त्यसकारण मानिसलाई कोरोनासँगै मौसमी रुघाखोकीका बारेमा सचेत गराउन पर्ने हुन्छ । सिजनल फ्लु र कोरोना भाइरस उस्तै लक्षण हुने हुँदा चिन्न समस्या हुनसक्छ । त्यसकारण यसलाई पहिचान गर्न सामान्यतया कोरोना प्रभावित क्षेत्र वा व्यक्तिको सरसंगतमा उठबस गरेको मानिसमा अधिक ज्वरो, रुघाखोकी र श्वासप्रश्वास ठूला समस्या भए, उसलाई कोरोना भाइरसले आक्रमण गरेको हुनसक्छ डा. पुन भन्छन् । कोरोना संक्रमित क्षेत्रबाट आएको वा संगत गरेमा १४ दिन भित्र समस्या देखिन सक्छ ।

अनुसन्धानले नागबाट पानी आउने, हाच्छ्यिु आउने कमै मानिसमा कोरोना भाइरसले संक्रमण गरेको देखिएको छ । यसकारण रुघाखोकी, नागबाट पानी आउने हाच्छ्यु आउने सामान्य रुघाखोकी हुनसक्छ, अनावश्यक शंका नगर्न चिकित्सकहरु सुझाउँछन् । 

सही सूचना सम्प्रेषण
मनोचिकित्सक डा. ऋषव कोइराला भन्छन्, ‘कोरोनाजस्ता माहामारीको प्रकोपका बेला मानिसहरुमा मनोगत त्रासले ‘मानसिक रोगी’ बढ्ने सम्भावना हुन्छ ।’ कति बढ्ने भन्ने एकिन तथ्यांक पाइँदैन तर मानिसमा मानसिक रोगको लक्षण देखिन्छ । त्यसकारण माहामारीको अवस्था सही सूचना सम्प्रेषण गर्नु जरुरी हुने, डा. कोइराला बताउँछन् ।
मनोचिकित्सा क्षेत्रमा अनुसन्धानरत डा. कोइरालाका अनुसार अमेरिकन साइकोलोजिक एसोसिएसनले सूचनाको गलत सम्प्रेषणका कारण मानिसमा तनाव बढेको सूचना निकालेका छन् । त्यसैले, महामारीको अवस्थामा आधिकारिक स्रोतबाट सूचना सम्प्रेषण गर्नु पर्दछ । डल्लुएचओ र सरकारी स्रोतबाट सूचना लिनु पर्दछ ।

मानिसलाई सतर्क र सचेत गराउने मुख्य भूमिका हुन्छ । यद्यपि, आतंक सिर्जना गर्ने गरी ‘कोरोना भाइरस’ लगायतका समस्याको सूचना फैलाउनु राम्रो मानिँदैन । ‘रोग लाग्न पहिले जानकारी दिनु उत्तम हुन्छ, तर नभएको त्रास फैलाउने गरी सूचना प्रवाह गर्नु हुँदैन,’ डा. कोइराला भन्छन्, ‘सरकारले एकहप्ताअघि कुनै स्टेप लिएको देखिएन । सरकारले सतर्क गराएको राम्रो छ । तर किन हामीले बढी सतर्क गराइराखेका छौं भन्ने जानकारी दिनुपर्दछ ।’ विज्ञहरु कोरोनाबाट आत्तिइ हाल्नुपर्ने स्थिति नरहेको भन्न सकेका छैनौं भन्छन् । यसर्थ, ‘कोभिड–१९’बाट सुरक्षित हुनका लागि सरकारले ‘सजगता अपनाइरहेका छौं’ भन्ने सन्देश जनतामा सञ्चार गर्न नसकेको देखिन्छ ।

‘मौसमी फ्लु’को मौसम सुरु भएको छ
नेपालमा फेब्रुअरी–मार्च महिना र अगष्टमा वर्षको दुईपटक फ्लु सक्रिय हुन्छन् । यस्तो अवस्थामा कोरोना भन्ठानेर मानिसहरु आत्तिन सक्छन् । मौसमी रुघाखोकी ‘फ्लु’ र कोरोनामा देखिने लक्षण मिल्दाजुल्दा हुन्छन्  । स्वाइन फ्लुु (एचवानएनवान), हङ्कङ फ्लु (एचटुएनटु), वर्ड फ्लु (एचफाइभएनवान) अहिलेको समयमा देखिन्छ । कोरोनाको संकेत गर्दै फ्लुभएका बिमारीहरु अस्पतालमा एकाद आएका हुन्छन् ।

चीनमा गएर फर्केर आएको मानिसमा कोरोना लक्षण जस्तै फ्लुको लक्षण देखिएको छ । त्यस्ता मानिसलाई फ्लु प्रमाणित गरेर हामीले पठाएका छाँै । चिकित्सकीय भाषा इनफ्लुएन्जा ए भनिने स्वाइन फ्लु, वर्ड फ्लु र हङ्कङ् फ्लु देखिन सक्छन् । त्यस्तैगरी इन्फ्लुएन्जा बी पनि देखिन सक्छ ।

 

प्रकाशित: २३ चैत्र २०७६ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App