६ वैशाख २०८१ बिहीबार
समाज

'आइसोलेसन' बेडबाट भगवान पुकार्दै युवक

लहान - सास फेर्न असहज महसुस भएपछि लहान नगरपालिका–२२ जहदीका एक युवक कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगे। अस्पतालका स्वास्थ्यकर्मीले उनको जाँचै नगरी अइसोलेसनमा भर्ना गरिदिए। रातभर आइसोलेसनमा अनिदो बिताएका उनको छटपटी झनै बढेको छ।

रातिबाट ज्वारो आएको छैन। सास फेर्न मात्र गाह्रो भैरहेको छ। ‘श्वासप्रश्वासको समस्याबाट पीडित भएर अस्पताल अस्पताल भौतारिँदै छु’ उनले नागरिकसँग फोनमा भक्कानिएँर भने,‘मेरो समस्याको उपचार नगरी अव्यवस्थित कोठमा थुनेर राखेको छ।’ यहाँ शौचालय छ तर पानी छैन्। हात धुने ठाउँमा फोहोरै फोहोर छ। बेड सफा छैन्। कोठाभरी लामखुट्टेको प्रकोप छ तर झुलको व्यवस्था छैन् उनले पीडा पोखे,‘यहाँ स्वास्थ्य मानिस पनि संक्रमित हुने जोखिम छ।’ 

‘आइसोलेसन वार्डमा अरु पनि शंकास्पद बिरामीहरु भर्ना छन्’उनी भन्छन्,‘एक जना संक्रमित भए अरुमा पनि संक्रमण सर्ने जोखिम पनि उत्तिकै छ।’ ‘अस्पतालमा भर्ना हुनुअघि बरु सेफ महसुस गरिरहेको थिएँ’ उनी भन्छन्,‘भर्ना भएदेखि डराएको छु।’

 झ्याल पनि बन्द छ हावा ओहोरदोहर हुँदैन। ढोकापनि बन्द छ। एउटै कोठामा छ सात जना छन्। डाक्टर हेर्न पनि आउँदैनन्। मलाई सास फेर्न झन् झन् गाह्रो हुँदै गएको छ उनी भन्छन्,‘मेरो स्वाब परीक्षण छिटो भइदिए कोरोनाको शंकाबाट मुक्ति पाएर श्वासप्रश्वास सम्बन्धी समस्याको उपचारमा जान्थे।’

पीडै पीडाको यात्रा
काठमाडौंको बालकुमारीमा डेरा बसेर एमविविएसको तयारी गरिरहेका लहान नगरपालिका –२२ का एक युवक उपचारका लागि भौतारिएको दुई दिन भयो। काठमाडौंबाट सार्वजनिक बसमा घर फर्केको १२ औं दिन धकाई लागेजस्तो भएर उनलाई ज्वरो आयो। सास फेर्न पनि गाह्रो हुन थाल्यो। रुघा, खोकीलगायतका अन्य लक्षण नदेखिएका उनी शुक्रबार गाउँकै स्वास्थ्य चौकी पुगे। त्यहाँ राउ स्मारक अस्पताल लहान जान भन्यो। अस्पताल पुग्दा उपचार त के डाक्टरको अनुहारै हेर्न नपाइ उनी फर्किनुपर्यो।

शुक्रबार दिउँसो अस्पताल पुगेका उनी अस्पतालमा डाक्टरको प्रतिक्षामा बस्दा साँझ पर्यो। तर, डाक्टर भेट्न पाएनन्। रिसेप्सनमा बसेका कर्मचारीले खै कतिबेला डाक्टर आउँछ थाहा भएन’ भनेपछि उनी साँझ निराश फर्के। राती सास फेर्ने झन समस्या भएपछि उनी शनिबार पुनः डाक्टर भेट्न अस्पताल पुगे। तर, फेरि उनी डाक्टर भेट्न पाएनन्।

‘फर्किँदा बाटोमा भेटिएका प्रहरीसँग पीडा साट्न खोज्दा कहाँ कहाँबाट भाइरस लिएर आउँछन् भन्दै कुट्नै खोजे’ शनिबार उनले नागरिकसँग पीडा बिसाए,‘मैले शंकाको उपचार गराउन भौतारिँदा पनि उपचारको बदला पिटाई खानुपर्ने अवस्था छ।’

‘ज्वरोको उपचार त परको कुरा डाक्टरले भेट्न समेत नचाहने कस्तो समय आयो’ उनी भक्कानिएँ,‘कोरोनाको शंका लागेर डक्टरी सल्लाह लिन अस्पता पुग्दा पनि नपाइने।’ ‘न प्रहरीको सहयोग पाइयो न डाक्टरको सल्लाह नै’ उनी भन्छन्,‘समान्य ज्वारोकोका विरामीको छेउ नपर्ने डाक्टरले कोरोना संक्रमितको उपचार के गर्लान ?’

‘यहाँ पहुँचबालाका मान्छेले मात्र उपचार पाउने देखियो, हामीजस्ता बेसाहारा संक्रमित भए डाक्टरको अनुहार पनि हेर्न नपाइने भयो, उनी भक्कानिए।

लहानको सरकारी अस्पतालमा डाक्टर भेट्न नपाएका उनी शनिबार दिउँसो धनगढीमाई नगरपालिका–११ छपराडी स्थित अस्थायी कोराना विशेष अस्पतालमा पुगे। साँझसम्म पर्खिँदा पनि डाक्टर भेट्न नपाएका उनी कोरोना परीक्षणका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल गएका छन्। डाक्टर नआएपछि ड्युटीका स्वास्थ्यकर्मीले परीक्षण गराएर ढुक्क भइहाल्न दिएको सुझाव मानेर जनकपुर जाँदै छु, उनले भने,‘एम्बुलेन्सको भाडा पनि मैले आफैं तिनुपर्ने सर्तमा परीक्षणका लागि जाँदै छु।’

काठमाडौंबाट घर फर्किँदा उनी चढेको बसमा खाडी मुलुक, मलेसिया लगायतका देशबाट फर्केकाहरु पनि धेरै थिए। भारत हुँदै आएकाहरु पनि थिए। ‘मँ बसेकै सिटमा पनि खाडीबाट फर्केका मान्छे बसेका थिए’ उनी भन्छन,‘ज्वरो आएर असजिलो भएपछि शंका मेट्न डाक्टर खोज्दै छुँ, भेट्न सकेको छैन्।’ सिरहामा सतर्कता एवं सचेतनाका धेरै हल्ला गरिएपनि चिकित्सकीय सल्लाह र उपचारको अवस्था दयनीय रहेको उनको अनुभूति छ। ज्वरोको विरामी सुन्नेबितिकै डाक्टर बिलप हुने प्रवृतिले भयावह अवस्था निम्त्याउन सक्नेतर्फ उनले सचेत गराएका छन्। ‘म डराएको छैन, डराउदिन पनि। तर, यहाँको बेहाल अवस्थाले दिक्कदार जरुर बनाएको छ।

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार ज्वरोका विरामीका जाँचका लागि पठाउनुपर्दा एम्बुलेन्स नै नपाईने अवस्था छ। एम्बुलेन्स खोजेको बखत भेट्दै भेट्दैन उनले भने। वरोका विरामीको उपचार तथा काउसिलिङमा स्वास्थ्यकर्मीहरु गम्भीर देखिएको छैन् उनले भने,‘डाक्टर सबहरु विरामीको हौसला बढाउन सकिरह्नु भएको छैन्। ज्वरोका विरामी जती सबै कोरोना संक्रमित हुन भन्ने सोच हटाएर डाक्टरहरु विरामीको उपचारमा अगाडि आउनुपर्छ, आएको पाइदैन उनले स्वीकारे।

राउ स्मारक अस्पताल लहानका प्रमुख डाक्टर सुनिल कुमार कुशवाहाले ज्वरोका विरामी उपचार बिना फर्किनुपर्ने अवस्था नरहेको दावी गरे। उनले भने,‘आज(शनिबार) उपचार नपाएको कुरा साचो हो।’ यस अस्पतालले कोरोना विरामीकै उपचारका लागि भन्दै पाँच बेड आइसोलेसन बार्ड समेत तयार पारेको दावी गरेको छ।

मंगलबार मात्र मुख्य मन्त्री लालबाबु राउतले विरामीको उपचार गर्नबाट भाग्ने डाक्टरको सूची बनाएर कारबाही अघि बढाउन आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।

प्रकाशित: २३ चैत्र २०७६ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App