७ वैशाख २०८१ शुक्रबार
समाज

सिमीले बजार नपाएपछि चामलसँग साट्दै

रुकुमपूर्व - रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ। सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन्। उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन्।

सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए।  भुमे गाउँपालिका वडा नम्बर २ की बलकुमारी बुढाले पनि आफूले उत्पादन गरेको सबै सिमी बिक्री गरिसक्नुभएको छ। शिक्षक र व्यापारीले समेत चामलसँग सिमी साटेर बजारसम्म पुर्‍याउने गरेका छन्। चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए। भुमे गाउँपालिकाको वडा नम्बर १, २, ३ र अन्य वडामा पनि प्रशस्त मात्रामा सिमी उत्पादन हुने र चामलसँग नै सिमी साट्ने गरिन्छ। 

व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले बजारमा लगेर दोब्बर रुपैयाँमा बेच्ने गरेको बलकुमारीले बताए। गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा रु।६ सयदेखि रु। १ हजार प्रतिपाथी बेच्ने गरेका छन्। जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो। भात खानका लागि हुनेहरुले सिमी साटफेर गर्छन् भने नहुनेले किनेर खान्छन्। गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर बुढाले बताए।

सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुहरुको अवस्था यस्तै रहेको छ। प्रशस्त मात्रामा उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ। वडामा जहिलेसम्म सडक पुग्दैन त्यतिबेलासम्म समस्याको अन्त्य नहुने वडा अध्यक्ष बुढाले बताए। रासस

प्रकाशित: २३ चैत्र २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App