४ वैशाख २०८१ मंगलबार
समाज

जो बनाउँछन् जिब्रो छेड्ने सियो

बोडे(भक्तपुर- नेपालमा केही पनि उत्पादन हुँदैन भन्नु परे र्‍यो भने नेपालमा सियो पनि बन्दैन। तर, भक्तपुर बोडेका धर्म नकर्मीले सियो बनाउन थालेको वर्षौं भइसक्यो। धर्म मात्र होइन, उनका हजुरबुबा तुईलाल पनि सियो बनाउँथे भने उनका बुवा देखालालले पनि सियो बनाए। अहिले उनी पनि पारिवारिक इतिहासलाई निरन्तरता दिँदै सियो बनाउँदै आएका छन्।

धर्मले कपडा वा अरु केही सिलाउन व्यावसायिक रुपमा सियो उत्पादन गरेका भने होइनन्। उनले त बोडेमा वर्षेनी वैशाख २ गते हुने प्रसिद्ध बिस्केट जात्राको दिन जिब्रो छेड्न सियो बनाएका हुन्। 'मलाई थाहा भएअनुसार हजुरबुवाले बनाउनु भयो। हजुरबुवा बितेपछि बुवाले र बुवापछि काकाले बनाउन भयो। काका पनि बितेपछि जात्रामा जिब्रो छेड्ने सियो म बनाउँदै आएको छु,' ५९ वर्षीय धर्मले भने, 'म २३/२४ वर्षको भएदेखि सियो बनाउन थालेको हुँ।' उनका अनुसार प्रत्येक वर्ष जात्रा हुनु करिब दुई साताअघि उनी सियो बनाउँछन् र तेलमा भिजाएर राख्छन्। जात्राको दिन बाजागाजासहित सियो मन्दिर लगिन्छ, जिब्रो छेडिन्छ र सियो मन्दिरमै चढाइन्छ। फलामे सियो १० इन्च लामो हुन्छ भने बनाउन एक दिन लाग्ने धर्मले बताए।

धर्मले सियो बनाएवापत् पारिश्रमिक लिने गरेका छैनन्। 'मागेको पनि छैन र कसैले दिनुपर्छ पनि भनेका छैनन्,' उनले भने, 'सियो केही दिन पहिल्यै बनाएर तेलमा भिजाएर राख्नुपर्छ। भिजाउन तेल किन्न गुठीले रकम दिने गरेको छ।'

धर्मको पुर्ख्यौली पेसा नै ज्यासल (फलामका सामान बनाउने) र खेतीपाती हो। हजुरबुवाको पालादेखि नै यही पेसा गर्दै आएका धर्मले भने, 'छोराहरूले अरु नै पेसा अपनाए। अब यो पेसा अन्त्य होला जस्तो छ।' धर्मका एक छोरा इन्जिनियर छन् भने अर्का पुर्ख्यौली पेसाभन्दा फरक पेसामा छन्। 'खेत बेचेर घर बनाइयो, छोराछोरी पढाइयो,' धर्मले भने, 'अब त ज्यासल र खेतीपाती दुवै मेरो शेखपछि अन्त्य होला जस्तो छ।'

धर्म अहिले ज्यासलबाट जसोजतो घर खर्च चलाउँछन्। ४० वर्ष पहिलेसम्म बोडेमा धेरैले यो पेसा अपनाउँथे तर अहिले ह्वात्तै घटेको छ। 'पहिलेको भन्दा व्यापार ९० गुणा घटेको छ,' धर्मले भने, 'व्यापार जसरी घटेको छ उसैगरी व्यापारी पनि घटेका छन्।' पहिले ज्यासलबाट दैनिक कमाइ राम्रै भएता पनि अहिले दैनिक ५ सय कमाउन पनि नसकिने धर्मले सुनाए।

धर्म पनि बिस्तारै ज्यासल छोड्ने सुरमा छन्। बुढ्यौली लाग्दै गर्दा धर्मले ज्यासल छाडेपछि बोडेमा जिब्रो छेड्ने सियो कस्ले बनाउने अन्योल छ। 'अहिलेसम्म कसैले म बनाउँछु भनेका छैनन् र कसैले सिकेका पनि छैनन्,' धर्मले भने, 'मेरा शेखपछि कोही न कोही त निस्केला नि!'

प्रकाशित: २१ असार २०७३ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App