५ वैशाख २०८१ बुधबार
समाज

भारतबाट नेपाल प्रवेश गरेका इस्लाम धर्मका गुरुहरु प्रहरी नियन्त्रणमा

बारा- भारतमा मुस्लिम धार्मिक सभामा सहभागी भएर शनिबार लुकीछिपी नेपाल प्रवेश गरिरहेको अवस्थामा बारा प्रहरीले इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएको छ।

भारत बिहारको औरेया ग्रमपञ्चायको लालछपरा गाउँ भएर कलैया उपमहानगरपालिका-१० मटिअर्वा नाकाबाट नेपाल प्रवेश गरेर कलैया तर्क आउदै गर्दा नौ जना इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको नौ जना सप्तरी जिल्ला घर भएका महम्मद जिवरेल, रोजिद शेष, सफिद मियाँ, तजबुल मियाँ, मोहम्मद सफिज रहमान, मोहम्मद वकिल मियाँ,  मोहम्मद खुर्सेद, मोहम्मद जाकिर र इसराइज मियाँलाई रहेको कलैया अस्पतालले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले भारतको मुस्लिमको धार्मिक सभामा सहभागी भएको र  भारतकै बिभिन्न मस्जिदहरुमा बसेर आएको मुस्लिम धर्म गुरुहरुलाई नियन्त्रणमा लिएर कलैया अस्पतालको क्वारेन्टाइनमा पठाइएको बताएका छन्।

केही दिन पहिला दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित आन्तरराष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएका अधिकाँश मुस्लिम धर्म गुरुहरुमा कोरोना भाइरस लागेको भेटिएको अवस्थामा नेपाल प्रवेश गरि रहेका मुस्लिम धर्म गुरुहरु कोरोना भाइरसको उच्च जोखिममा रहेकोले उनीहरुलाई अन्यत्र जान नदिएर क्वारेन्टाइनमा बस्न लगाइएको उपरीक्षक पगेनीले बताए।

नियन्त्रणमा लिएर कलैया अस्पतालको क्वारेन्टाइनमा राखिएकाहरु दिल्लीको जमातमा सहभागी नभए पनि त्यसमा सहभागी भएका अन्य मुस्लिम धर्म गुरुहरुको सम्कर्पमा यिनीहरु पुगेको सोधपुछबाट खुल्न आएको पगेनीले बताए।
प्रहरीले भारतको मुस्लिम धार्मिक कार्यक्रममा सहभागी भएर आएकाहरुलाई क्वरेन्टाइनमा राख्न ल्याएपछि पहिलादेखि नै कलैया अस्पतालको क्वारेन्टाइनमा राखिएकाहरुलाई महागढीमाई नगरपालिका बरियापुले सन्चालन गरेको क्वारेन्टाइनमा पठाउनु परेको कलैया अस्पतालका मेडिकल सुपरिटेण्ड बिरेन्द्रकुमार मण्डलले बताएका छन्।

क्वारेन्टाइनमा राखिएका इस्लाम धर्मका गुरुहरुमा कोरोनाको उच्च जोखिम रहेको देखेर नै पहिला देखि राखिएकाहरुलाई बरियारपुरको क्वारेन्टाइनमा पठाउन बाध्य भएको मेसु मण्डलले बताए। क्वारेन्टाइनमा राखिएकाहरुको कोरोना परीक्षणको लागि वीरगन्जको नारायणी अस्पताल एक दुई दिनमै जनकपुर पठाउने मण्डलले बताए।

केही दिन पहिला मात्रै बारा प्रहरीले दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित आन्तरराष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भई नेपाल प्रवेश गरिरहेको अवस्थामा बिश्रामपुर गाउँपालिकाबाट इस्लाम धर्मका गुरुहरुलाई नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्ध माध्यमीक बिद्यालयको क्वारेन्टाइनमा पठाएको थियो।

 

 

प्रकाशित: २२ चैत्र २०७६ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App