६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

‘भारतबाट फर्किएकाको पुनः स्वास्थ्य परीक्षण गर्नुपर्छ’

गणेश विशु/वीरेन्द्रनगर, लोकेन्द्र खनाल/रुकुम पश्चिम

छिमेकी मुलुक भारत कर्णालीको प्रमुख रोजगारीको गन्तव्य स्थान हो। यहाँका हजारौं सर्वसाधारण रोजगारीका लागि भारतका विभिन्न स्थानमा छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस भारतमा दिनानुदिन बढ्दो छ। नेपालमा कोरोना भाइरस संक्रमणको न्यूनीकरण गर्न सरकारले चैत ११ बन्दाबन्दी (लकडाउन) को घोषणा गर्‍यो। भारतबाट सयौं सर्वसाधारण लकडाउनका बीच स्वदेश फर्किए। प्रदेश सरकारले समेत अलपत्र परेका उनीहरूको उद्दार गर्‍यो। उद्दार गरिएका र आफैँ आएकाहरूको सामान्य ज्वरो मात्र चेकजाँच गरी गाउँ पठाइयो।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको यो नेपालमा पहिलो घटना हो।

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले नै रातरात भारतबाट आएका कतिपयलाई गाउँ पठाएको भन्दै आलोचनासमेत भयो। उद्दार गरेर क्वारेन्टाइनमा राख्नुको सट्टा प्रदेश सरकारले सीधै गाउँ फर्काएको आरोप लागेको थियो। अहिले छिमेकी प्रदेश सुदूरपश्चिममा कोरोनाको संक्रमण बढ्दै जानु र भारतबाट आएकाबाट अर्काे व्यक्तिमा सरेको खबरले कर्णालीमा थप त्राससँगै उच्च जोखिमता बढाएको छ। कोरोना भाइरसको संक्रमण देखिएका धनगढी उपमहानगरपालिका–५, का एक युवकका भाउजुलाई सरेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको यो नेपालमा पहिलो घटना हो।

अर्काे कुरा के छ भने संक्रमित भाउजुमा कोरोना भाइरसका लक्षण नदेखिँदा कर्णाली झन शसंकित देखिन्छ। कैलालीको गौरीफन्टा नाकाबाट पनि सयौं सर्वसाधारण कर्णाली भित्रिएका छन्। यता नेपालगन्ज नाकाबाट पनि भारत गएकाहरू गाउँ फर्किएका छन्। यस्ता कर्णालीमा पनि हुन सक्ने भन्दै कोरोना भाइरस न्यूनीकरणका लागि थप सजकता अपनाउनु पर्ने देखिन्छ। प्रदेश सरकार पहिले नै चुकीसकेको जुम्लाका सांसद दीनबन्धु श्रेष्ठले बताए। ‘सरकारले सीमा प्रवेश गर्नासाथ क्वारेन्टाइनमा राख्नु पर्ने हो,’ उनले भने, ‘त्यसो नगरी उद्दारका नाममा गाउँ पठाइयो।’ क्वारेन्टाइनमा राखेको भए भारतबाट फर्किएका र गाउँमै रहेका सबै सुरक्षित हुने भन्दै उनले यसमा प्रदेश सरकार गम्भीर नदेखिएको बताए। कतिपय उत्तर–दक्षिणका सीमा खुला भएको भन्दै उनले भने, ‘यसलाई बन्द गर्नुपर्छ।’ गाउँसम्म स्वास्थ्यकर्मीहरूका लागि आवश्यक स्वास्थ्य सामग्री नपुगेको उनको भनाइ छ।

भारतबाट आएकाहरू समूह बनाएर हिँड्ने गरेका छन्। भारतमा काम गर्ने जाने बढी कर्णाली र सुदूरपश्चिमकै बढी भएकाले यहाँ कोरोना भाइरसको जोखिम धेरै भएको जाजरकोटकी सांसद कृष्णा शाहले बताइन्। कर्णालीमा यसको प्रकोप भित्रियो भने नियन्त्रण गर्न चुनौती हुने उनको भनाइ छ। ‘कामका लागि बाहिर गएका घर फर्कन अधिकार हो,’ उनले भनिन्, ‘तर अधिकार प्राप्त गराउँदा ख्याल गर्नु पथ्र्याे, त्यो भएन।’ ‘उद्दारका नाममा भारतबाट फर्किएकालाई सीधै गाउँ पठाइयो,’ उनले भनिन्। भारतलगायतबाट घर फर्किएकाको पुनः स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नु पर्ने उनको सुझाव छ। ‘कोरोनाका लक्षण नदेखिएर पनि कोरोना पुष्टि भयो,’ उनी भन्छिन्, ‘यहाँ पनि नहोला भन्न सकिन्न। समयमै सचेत हुन आवश्यक छ।’

गाउँमा लकडाउनको पूर्ण पालना नभएको भन्दै उनले लकडाउनसँगै अन्य उपाय पनि अपनाउनु पर्ने बताइन्। कर्णाली सरकारले अब कुइने नाका शिल गर्नुपर्ने स्थानीय देवीसरा बिकेले बताइन्। ‘सुर्खेतबाट तेलपानी हुँदै बर्दिया जाने र कर्णाली चिसापानी हुँदै कुइनेबाट दैनिक भारत गएकाहरू आइरहेका छन्,’ उनले भनिन्, ‘यी नाकामा थप सजकता अपनाउनु पर्छ।’ कोरोना बाजा बजाएर नआउने भन्दै उनले सजकता अपनाउन सबैमा आग्रह गरिन्।

भारतबाट आएकाहरूबाट जोखिम भए पनि स्थानीय सरकार तथा वडाको निगरानीमा भएको हुँदा धेरै त्रसित हुनुपर्ने स्थिति नभएको लाटीकोइली स्वास्थ्य चौकीका मेडिकल अफिसर डा.कृष्णदेव गिरीले बताए। ‘अहिले प्रदेशबाटै नमुना परीक्षण सुरु भएको छ,’ उनले भने, ‘त्यस्तो लक्षण देखिए र धेरै ज्वरो आए स्वास्थ्य चेकजाँच गराउनु पर्छ।’ यस्तो अवस्थामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अत्यावश्यक कामबाहेक अरुबेला बाहिर निस्कन नहुने उनले सुझाव दिए। भारतलगायतबाट आएकाहरू तथ्यांक वडा कार्यालयहरूले राखेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

भारतबाट आएका १४ दिन क्वारेन्टाइनमा बस्न संघीय सरकारले निर्णय गरेको थियो। तर भारतबाट फर्किएका अधिकांश क्वारेन्टाइनमा नबसेर सीधै गाउँ फर्किएका छन्। ‘ज्वरोको भरमा घर पठाइयो,’ रुकुम पश्चिमका तिलक भण्डारील भने, ‘अहिले उनीहरूबाट जोखिम देखिन्छ।’ भारतलगायतका विदेशबाट आएकालाई खोजेर सरकारले कोरोना भएनभएको परीक्षण गर्नुपर्ने उनको भनाइ छ। कर्णालीका बासिन्दाहरूले भारतबाट घर फर्किएकाहरूबाट बढी जोखिम भएकाले उनीहरूको पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन्। ज्वरो नापेर मात्र घर पठाइएकाले उनीहरू सबैको स्वाब एकपटक नमुना परीक्षण गर्नुपर्ने बताउँछन्।
 

प्रकाशित: २२ चैत्र २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App