८ वैशाख २०८१ शनिबार
राजनीति

दश दिनभित्र निर्वाचनकाे मिति घाेषणा हुने दाबी


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरी सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने दाबी गरेका छन्।

बिहीबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका सल्लाहकार खनालले यस्तो बताएका हुन्। उनले भने, ‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विधेयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबल भएको विधेयक पारित भएपछिमात्रै हल हुन्छ।’
 उनले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे। खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकपटक गर्न सकिने समेत विश्वास दिलाए।

उनले भने, ‘सरकार संशोधन विधेयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छ, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’
उनले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पुनसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए।

खनालले संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसकालागि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको बताए।
उनले भने, ‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’
 

प्रकाशित: २८ पुस २०७३ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App