१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसायी भन्छन् : ‘खरिद गर्ने ठाउँमै मूल्य बढ्यो’

अनुगमनका टोलीलाई मूल्य बारे बताउँदै यहाँका तरकारी तथा फलफूल व्यवसायी । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङमा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको छ। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिनलाई सरकारले गरेको लकडाउन (बन्दाबन्दी) पछि जिल्लामा तरकारीजन्य वस्तुको मूल्य आकाशिएको हो।

सदरमुकाम फुङलिङ बजारमा अहिले तरकारीजन्य वस्तुको मूल्य २० देखि ४० प्रतिशतसम्मले वृद्धि भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी केशब खतिवडा नेतृत्वको टोलीले शनिबार गरेको बजार अनुगमनका क्रममा तरकारी तथा फलपूmल सबै वस्तुको मूल्य वृद्धि भएको पाइएको छ। अनुगमनका क्रममा फुङलिङ बजारका तरकारी तथा फलपूmल पसलहरुमा एउटै वस्तुको फरक–फरक मूल्य रहेको भेटिएको बजार अनुगमन समिति संयोजक एवम् सहायक प्रजिअ खतिवडाले बताए। उनका अनुसार सिम्ला स्याउ एउटा पसलमा प्रति किलोग्राम २ सय रुपैयाँले र अर्कोमा २ सय ५० रुपैयाँले बिक्री गर्ने गरेको पाइएको छ।

यस्तै कुनै पसलमा हरियो खुर्सानी प्रतिपावा ३० रुपैयाँ र कुनैमा ५० रुपैयाँले बिक्री गर्ने गरेको पाइएको छ। तरकारीजन्य वस्तुहरुमा आलु प्रतिकेजी ५० देखि ७० रुपैयाँ, प्याज ७० रुपैयाँ, गोलभेडा ६० देखि ८० रुपैयाँ प्रतिकेजी तथा सिमी २५ देखि ३० रुपैयाँ प्रतिपावासम्म बिक्री हुँदै आएको पाइएको छ। लकडाउनपछि प्रत्येक वस्तुको मूल्यमा वृद्धि गरिएको पाइएको बजार अनुगमनमा संलग्न घरेलु कार्यालय ताप्लेजुङका उद्योग अधिकृत देउप्रकाश तामाङले जानकारी दिए।

स्थानीय व्यापारीले भने तरकारीजन्य वस्तुको मूल्य आयात गर्ने ठाउँमै वृद्धि भएको र ढुवानी समेत दोब्बरले वृद्धि भएका कारण महङ्गो मूल्य पर्न गएको बताएका छन्। वस्तुको मूल्य वृद्धिसँगै ढुवानी पनि बढेकाले तरकारीजन्य वस्तु महङ्गो मूल्यमा बिक्री गर्न बाध्य हुनुपरेको व्यवसायीको तर्क छ। उनीहरुका अनुसार तरकारीजन्य वस्तु ढुवानी गर्दा पहिले प्रतिकिलोग्राम पाँच रुपैयाँ पर्ने गरेकामा दोब्बर बढी मूल्य पर्न थालेको छ।

 

प्रकाशित: २२ चैत्र २०७६ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App