६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरका स्थानीय तहद्वारा ७ हजार घरधुरीलाई राहत वितरण

राहत वितरण गर्दै जनप्रतिनिधि । तस्बिरः महेश्वर

उदयपुर- कोरोना भाइरस (कोभिड–१९)को  संक्रमणबाट बचाउन सरकारद्वारा घोषित लकडाउनमा काम गर्न नपाएर हातमुख जोड्न धौधौ परिवारलाई उदयपुरका स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन्। जिल्लाका बिभिन्न स्थानीय तहले लकडाउनको ११औं दिनसम्ममा ५ हजार बढीलाई राहत प्याकेज वितरण गरिसकेको जनाएका छन्।

चौदण्डीगढी नगरपालिकाले ३ हजार २ सय घरधुरीलाई २० किलो चामल, २ किलो दाल, २ किलो नुन, २ लिटर तेल र २ थान साबुनको प्याकेज वितरण गरिरहेको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार दलित मुसहर (सदा) समुदायको अत्याधिक बसोबास रहेको वडा नं. २, ५, ९ र १० नं. वडामा प्राथमिक्तासाथ ५ सयबढी घरधुरीलाई राहत वितरण गरिसकिएको छ।

कमाईखाने जमिनसमेत नभएर दैनिक ज्याला मजदुरीमा निर्भर सदा समुदायलाई घोषित लकडाउनले घरबाहिर निस्कन नदिएपछि राहत प्याकेज ल्याइएको मेयर राईले बताए। राहत पाउने सदा समुदायको संख्या मात्र ५ सय बढी रहेको उनले बताए। लकडाउन सुरु भएपछि काममा जान नपाउँदा विचल्लीमा पर्ने भन्दै सदा समुदायसँगै गरिव, विपन्न र श्रमिक वर्गलाई लक्षित गरी तथ्यांक संकलन गरेर राहत वितरण थालिएको मेयर राईले बताए। नगरपालिकाले १० मध्ये ८ वटा वडामा वडा कार्यालयमार्फत राहत वितरण भईरहेको र बाँकी दुई वडामा शनिबारभित्र वितरण गरिसक्ने उनले बताए।

त्यसैगरी बेलका नगरपालिकाले ५ सय २५ घरधुरी गरिव तथा विपन्न परिवारलाई राहत प्याकेज वितरण गरेको जनाएको छ। नगरप्रमुख दुर्गाकुमार थापाले वडा नं. ९ मा १ सय ४३ घरधुरी, ८ मा १ सय ६, ५ मा १ सय २०, ६ मा ८२, ७ मा ७५ घरधुरीलाई राहत वितरण गरिसकेको बताए। उनका अनुसार बाँकी वडामा शनिबार विहानदेखि वितरण कार्य थालिनेछ। मेयर थापाले कोरोनाबाट बँचाउन नगरपालिकाको २० लाखको ‘प्रकोप व्यवस्थापन कोष’मा स्थानीय इच्छुकहरुबाट सवा ७ लाख रकम स्वतस्फुर्त संकलन भएर जम्मा भईसकेको छ। सोही कोषबाट खरिद गरी प्रतिपरिवार १ हजार ६ सय ९५ रुपैंयाको राहत वितरण भईरहेको हो।

यता त्रियुगा नगरपालिकाले १ हजार २ सय ३० घरधुरीलाई राहत प्याकेज वितरण गरेको छ। १६ वडामध्ये १, २, ३, ५, ६, ७, ९, १०, १२ र १३ नं. मा राहत वितरण भईसकेको र बाँकी वडामा शनिबारदेखि वितरण गर्ने नगरप्रमुख बलदेव चौधरीले बताए। नगरपालिकाले स्थापना गरेको १ करोड रुपैयाँको आपतकालीन राहत कोषमा बिभिन्न इच्छुक व्यक्तिहरुले दिएको चन्दाबाट १५ लाख रुपैयाँ थप भएको पनि मेयर चौधरीले बताएका छन्।

त्यसैगरी कटारी नगरपालिकाले १४ मध्ये ७ वटा वडाका २ हजार ३३ विपन्न र गरिव परिवारलाई राहत वितरण गरिसेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उनका अनुसार स्थानीय उद्योगी, व्यापारीको सहयोगमा नगरपालिकाले आप्mनै कोषबाट राहत प्याकेज वितरण गरिरहेको छ। बाँकी वडामा पनि राहत वितरण गर्न वडामार्फत तथ्यांक संकलन कार्य भईरहेको मेयर श्रेष्ठले बताएका छन्।

गाउँपालिकातर्फ रौतामाईले शनिबारदेखि राहत वितरण गर्ने तयारी पूरा गरेको अध्यक्ष गजेन्द्र खड्काले बताए। उनका अनुसार ८ वटै वडामा लक्षित समूहको तथ्यांक लिएर राहत वितरण गर्न लागिएको छ। जस अनुसार १ नं. मा १ सय २० घर, २ मा १४ परिवार, ३ मा १२, ४ मा ३५, ५ मा १ सय, ६ मा ४ घर, ७ मा २ सय ३१ र ८ नं. मा ३५ घरधुरीलाई पहिलो चरणमा राहत वितरण गर्न लागिएको अध्यक्ष खड्काले बताएका छन्।

अन्य गाउँपालिकाहरु उदयपुरगढी, ताप्ली र लिमचुङबुङले राहत वितरणका लागि लक्षित वर्ग पत्ता लगाउन तथ्यांक संकलन कार्य भईरहेको जनाएका छन्। पहाडी भेगमा मजदुर वर्ग कमै हुने तथा सबैले आप्mनै खेतबारीमा फलेको अन्न खाने हुँदा तत्कालै राहत वितरण गर्नुपर्ने अवस्था नरहेको उनीहरुको भनाई छ।

उदयपुरमा हालसम्म ३ सय ९७ बेडको क्वारेन्टाइन बनाइएको छ भने त्यसमा ६ महिलासहित ६१ जनालाई क्वारेन्टाइनमा र २ जनालाई आइसोलेसनमा राखिएको छ। संक्रमित युवती सवार कतार एयरलाईन्सबाट आएकाहरु सकुशल रहेका छन् भने कतारबाटै आएका एक र सिंगापुरबाट फर्केका गरी २ को स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

 

प्रकाशित: २२ चैत्र २०७६ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App