८ वैशाख २०८१ शनिबार
समाज

कोरोना शंकास्पद र बिरामीको सबैै उपचार खर्च नगरपालिकाले बेहोर्ने

धादिङ- विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरसको महामारीको जोखिमलाई कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनको अवधिमा घरबाहिर नजान र घरमै बसेर सचेत बन्न स्थानीय सरकारहरुले पनि आव्हान गरिरहेका छन्। यसैक्रममा धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाइरसबाट आफ्नो नगरभित्रका कोही व्यक्ति संक्रमित भएको पाइएमा सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएको छ।

क्वारेन्टाइनमा बसेकाहरुको खाना आवास लगायत सम्पूर्ण खर्च, शंकास्पद बिरामीहरुको चेकजाँच खर्च तथा कोही कसैलाई कोराना संक्रमण पुष्टि भएको खण्डमा सम्पूर्ण उपचार खर्च नगरपालिकाले नै बेहोर्ने नगरप्रमुख भीमप्रसाद ढुङगानाले बताए। ‘हामीले सकेसम्म संक्रमण हुनै नदिने प्रयास छौँ, मेयर ढुङगानाले भने, ‘विश्वका ठूला ठूला देशहरु पनि रोक्न नसकिरहेका बेला कथमकदाचित हाम्रो नगरबासी कसैलाई कोरोना देखिहाल्यो भने पनि हामी निःशुल्क र पूर्ण उपचार गराउने छौँ।’

भाइरसको संक्रमणबाट जोगिन अनुरोध गर्दै नगरपालिकाले दिनहुँ विभिन्न वडाका टोल टोलमा पुगेर माइकिङ गरिरहेको छ। भारत लगायत विदेशबाट आएकाहरुलाई कम्तीमा दुई हप्ता आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अथवा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन स्थलमा बस्न अनुरोध गरेको छ। नीलकण्ठ नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा मात्रै ५३ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) छन्।

कोराना भाइरसको संक्रमणको जोखिम कम गराउनको लागि बढी जोखिम मानिएका बस्ती र टोलटोलमा डिस्इन्फेक्सन छर्किन सुरु गरिएको छ। नीलकण्ठ नगरपालिकाको बढी मानिसहरु जम्मा हुने स्थानहरु, बसपार्क, मुख्य चोकहरु, गाउँ गाउँमा मुख्य बजार क्षेत्रहरुमा औषधि छर्कन सुरु गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए।

नगरपालिकाले आवश्यकता अनुसार गाउँ गाउँमा पनि औषधि छर्ने ब्यवस्था मिलाइएको स्वास्थ्य संयोजक रिजालले बताए। ‘डिस्इन्फेक्सन स्प्रे जहाँ बढि इन्फेक्सनको सम्भावना छ त्यहि गर्ने हो अस्पताल, बसपार्क, सेना प्रहरीको ब्यारेक, कारागार नजिकका सडक, क्वारेन्टाइन क्षेत्र, मुख्य चोक र आवतजावत हुने स्थल विशेष प्राथमिकतामा राखेर छरिरहेका छौँ उनले भने, ‘त्यस्तै ग्रामिण क्षेत्रका बजारहरुमा टारीवेशी, गोलाभन्ज्याङ, सुनौलाबजार कर्णेश्वर लगायतका क्षेत्रमा छर्किएको र क्रमैसंग सबै ठाउँमा छर्ने छौँ।’
 

प्रकाशित: २२ चैत्र २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App