coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीपीडितले पाए खाद्यान्न

रत्नराजमार्ग किनारको हटारु खोलामा रहेको बाढीपीडितलाई राहत वितरण गर्दै नगर प्रमुख भुपेन्द्रबहादुर चन्दलगायत। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - पाँच वर्षअघिको बाढीले लेखपराजुलकी कमला सुनारको घर बगायो। त्यसयता उनी रत्नराजमार्ग छेउको हटारुखोलामा बस्छिन्। नजिकैको छिन्चु खोलामा गिट्टी कुटेर चार जनाको परिवार पाल्ने कमला कोरोना भाइरसका कारण भइरहेको लकडाउनको मारमा छिन्।

दिनभर गिट्टी कुटेर विहान–बेलुकाको छाक टार्ने कमलाको छाप्रोमा खाद्यान्न सकिएको दुई दिन भयो। ‘लकडाउनका कारण यातायातका साधन नचलेकाले कुटेको गिट्टी विक्री हुँदैन्,’ उनले भनिन्, ‘उधारोमा कसैले खाद्यान्न दिएनन्।’ शुक्रबार कमलाले केही खाद्यान्न पाइन्। ‘यस्तो संकटका बेला अन्न दिने दाताहरु मेरा भगवान हुन्,’ खुशी हुँदै उनले भनिन्, ‘आजदेखि छोराछोरीले पेटभरी खान पाउने भए।’

छिन्चुकी देउरुपा घर्ती एकल महिला हुन्। उनका चार सन्तान छन्। २०७१ मा छिन्चु खोलामा आएको बाढीले उनको परिवार विस्थापित भयो। बजार नजिकैको सरकारी जमिनमा उनी बस्छिन्। विस्थापित भएर शिविरमा आएपछि श्रीमानको मृत्यु भयो। चार सन्तानको जिम्मेवारी उनको काँधमा आयो। लकडाउनका कारण उनको परिवार संकटमा छ। ‘काम पाइँदैन्,’ उनले भनिन्, ‘काम नहुँदा घरको चुल्हो बल्दैन्।’

नागरिक दैनिकमा लकडाउनका कारण कमाउने ठाउँ नहुँदा बाढीपीडितहरु समस्यामा रहेको समाचार प्रकाशित भएपछि उनीहरुका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको छ। बाढीपीडितहरुका लागि सुर्खेत समाज दक्षिण कोरियाले पठाएको ५० हजार मध्येबाट शुक्रबार भेरीगंगा नगरपालिका–१२ को हटारुखोला र छिन्चुमा रहेका १७ बाढीपीडितका साथै सत्तरीमा रहेका छ परिवार राउटेलाई खाद्यान्न वितरण गरिएको छ।

‘लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने बाढीपीडितहरु समस्यामा छन्,’ राहत वितरण गर्दै भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले भने, ‘यस्तो बेला विदेशी भूमिमा श्रम गरिरहेका सुर्खेतीहरुबाट प्राप्त सहयोग धेरै महत्वपूर्ण र उपयोगी छ।’ उनले नगरपालिकाभित्र दैनिक ज्याला मजदुरी गरेर खानेहरुको संख्या धेरै रहेको भन्दै उनीहरुका लागि पनि सहयोगीहरुको खाँचो रहेको बताए।

‘हामीले कोरोना रोकथामका साथै गरिव, विपन्न परिवारका लागि सहयोग गर्न एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गरेका छौं,’ मेयर चन्दले भने, ‘अहिले तथ्याङ्क संकलनको चरणमा छौं, नगरपालिकाकातर्फबाट राहत वितरण गछौं।’

उपमेयर रेणु आचार्यले बाढीपीडितहरुलाई अझै सहयोगको खाँचो रहेको बताइन्। ‘आफ्नो थातथलोबाट विस्थापित भएर विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका बाढीपीडितहरुलाई छाक टार्नकै समस्या छ,’ उनले भनिन्, ‘नगरपालिकाका साथै सहयोगी मनहरुको उहाँहरुलाई खाँचो छ।’ 

सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष लोकेश खत्रीले बाढीपीडितहरुको कष्टकर दैनिकीका बारेमा समाचार पढेपछि आफूहरुले सहयोग गरेको बताए। ‘लकडाउनका कारण आफ्नो ठाउँबाट विस्थापित भएर विभिन्न अस्थायी शिविरहरुमा बसिरहेका बाढीपीडितहरुको चुल्होमा आगो बल्न छोडेको समाचार सुनेपछि साथीहरुबाट सहयोग संकलन गरेर पठाइएका हौं,’ उनले भने, ‘बास्तविक पीडितसम्म हामीले पठाएको खाद्यान्न पु¥याउन पाउँदा खुशी छौं।’

खाद्यान्न वितरण कार्यक्रममा भेरीगंगा नगरपालिका–१२ का वडाध्यक्ष हरि कँडेल, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश बुढा, नेपाली कांग्रेसका नगर सभापति बेदु गिरी, सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा, सुर्खेत महिला जेसीजका उपाध्यक्ष सीता भण्डारी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु भुषाल, ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीलगायतको उपस्थिति थियो।

प्रकाशित: २२ चैत्र २०७६ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App