५ वैशाख २०८१ बुधबार
समाज

लक्षण नै नदेखिए पनि काेरोना 'पोजेटिभ'

धनगढी - कोराेना भाईरस (कोभिड-१९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका  वावडा नम्बर ५ का युवकका भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको छ। सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार शनिवार बिहान ८ बजेतिर एम्वुलेन्स घरमा पठाएर उनलाई अस्पताल ल्याएर आईसोलेसनमा राखिएको हो। 

उनमा काेरोना भाइरसको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण देखा नपरेको परिवार श्रोतले बताएको छ।  स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरिसकेकाे छ।

अस्पतालको आईसोलेसनमा राखिएको उनमा खासै लक्षण नदेखिएको र सामान्य लक्षण मात्र भएको चिकित्सक जोशीको भनाई छ। ‘केन्द्रवाट आएको निर्देशन अनुसार समान्य लक्षण मात्र रहेकी उनलाई ल्याएर अस्पतालको आईसोलेसनमा राखिएको हो।’

कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका युवाका परिवारलाई लक्षण देखा नपरेकाले बिश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार नमुना जाँच गर्न नमिल्ने भन्दै शुरुमा आनाकानी गरेका चिकित्सकले गत बुधवार(चैत १९) गते परिवारका सहित १० जानको नमुना सँकलन गरेर जाँचका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाएको थियो। 

यस अघि बिश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार लक्षण नदेखिएकाको नमुना जाँच गर्न नमिल्ने भन्दै उनीहरुको नमुना संकलन गर्न स्वास्थ्यकर्मीले इन्कार गरेका थिए।

 दुवैवाट चैत ८ गते आएका धनगढी उपमहानगरपालिका वानं ५ का ३४ बर्षिय युवक लक्षण देखापरेपछि अस्पताल भर्ना भएका थिए। उनलाई कोरोना भाइरसको पोजेटिभ देखिएपछि धनगढीको रंगशालामा चतै १५ गते देखि दुई दिन उनको परिवारका ९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

 सोमवार(चैत १७ गते) नमुना पनि संकलन नगरि घर फर्काइएको थियो। संक्रमित परिवारका मान्छेले नमुना जाँच गर्न आग्रह गर्दापनि लक्षण नदेखिएसम्म गर्न नमिल्ने भन्दै स्वास्थ्यकर्मीले शुरुमा अस्विकार गरेका थिए।

परिवारका मान्छेको नमुना संकलन नै नगरि घर पठाइएको कुराको आलोचना भएपछि र परिवारका मान्छेको नमुना जाँच हुनुपर्ने मिडिया लगायतमा अवाज उठेपछि बुधवार उनको नमुना संकलन भएको थियो।

संक्रमित युवाको परिवारमा रहेका आमा, वुवा, दाजु भाउजु, दाजु भाउजुका छोराछोरी २ जना, उनको श्रीमती र ४ बर्षिया छोरी गरेर घरमा ८ जना र उनलाई अस्पताल पुगाउने आफन्त १ जना गरेर ९ जना र एक जना उनको सम्पर्कमा आएका आफन्तको नमुना जाँच गरिएको छ। 

चैत ८ गते घर आएका ती युवक घरमा अलग्गै नवसी परिवारसँग घुलमिल भएका थिए। चैत ७ अर्थात मार्च २० तारेखमा दुवैईबाट दिल्ली हुदै काठमाण्डौ आएका थिए। त्यस दिन धापासीस्थित मामाको घरमा बसेका उनी दोश्रो दिन चैत ८ गते बुद्ध ऐयरलाईन्सवाट नेपालगंज आए।

नेपालगंज बिमानस्थलवाट कोहोलपुरसम्म अटोमा, कोहलपुरवाट हाइसमा अत्तरिया र  अत्तरियावाट विंगर(जिप)मा धनगढी चौराह र त्याहाँवाट अटोमा उनी घर पुगेका थिए। अहिलेसम्म उनको सम्पर्कमा आएका व्यक्तीको खोजी गरेर क्वारेन्टाईनमा राख्ने काम भएको छैन।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले संक्रमित युवाको सम्पर्कमा भएका व्यक्ती प्रहरीले पत्ता लगाइरहेको बताए। सेती अस्पतालमा अहिलेसम्म आईसोलेसनमा भर्ना भएका २३ जना मध्य २१ जना डिचार्ज भएर घर गइसकेको चिकित्सक जोशीले बताएका छन।

 संक्रमित युवाको आईसोलेसनमा उपचार भैरहेको छ। ३ जना स्वास्थ्यकर्मी सहित २६ जनाको जाँचका लागी पठाइएकोमा अन्य २५ जना सवैको रिपोट नेगेटिभ आएको उनले बताए। बुधवार संक्रमित परिवारका १० र अन्य २ जना गरेर संकलन भएको १२ जनाको नमुना  जाँच भएकाे थियाे। संक्रमित युवाको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित: २२ चैत्र २०७६ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App