१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गर्ने २४ जनालाई क्वारेन्टाइन पुर्‍याइयाे

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक प्रहरीले लकडाउन उल्लंघन गरी सवारी यात्रा गर्ने २४ यात्रुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पुर्‍याएको छ। साथै यात्रु ओसार्ने पाँच सवारी साधन र तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीनवटा बलेरो चढेर बाह्रविसेतिर जाँदै गर्दा अरनिको राजमार्गको बन्देउबाट शुक्रबार बिहान १ बजे यात्रुलाई नियन्त्रणमा लिइ क्वारेन्टाइन पुर्‍याएको हो। उनीहरुलाई सुनकोसी गाउँपालिकास्थित ग्रामीण महिला सर्जनशील परिवारको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

‘पहिलो त लकडाउन उल्लंघन गरेकाले उनीहरुलाई कारबाही स्वरुप नियन्त्रणमा लिइएको हो,’ सूचना अधिकारीसमेत रहेका उनले नागरिकसँग भने, ‘दोस्रो उनीहरु अन्य जिल्लाबाट आएकाले क्वारेन्टाइनमा राख्नु परेको हो।’ सरकारले बिदेशबाट आएकालाई मात्र होइन मुलुकभित्रकै अन्य जिल्लाबाट फर्कँनेलाई समेत दुई साता क्वारेन्टाइनमा राख्ने नीति लिएको छ।

प्रहरीका अनुसार नियमित जाँचका क्रममा बा२०च ७२८० नम्बरको बोलेरोबाट नौ, बा१७च ५८४८ नम्बरको बोलेरोबाट आठ र बा१४च ८८९९ नम्बरको बोलेरोबाट सात यात्रुलाई नियन्त्रणमा लिइ क्वारेन्टाइन पुर्‍याइएको हो। यी बलेरो सवारी अनुमतिपत्र लिइ सिन्धुपाल्चोकमा अलपत्र मजदुर पुर्‍याउन सुर्खेत जिल्ला पुगेका थिए। त्यहाँ काम गर्ने जिल्लाका श्रमिक लिएर फर्कँदै गर्दा प्रहरीले बलेरोसहित चालक र यात्रु नियन्त्रणमा लिएको हो। डिएसपी काफ्लेका अनुसार शर्तबमोजिम स्थानीय प्रशासनको अनुमतिमा मजदुर पुर्‍याउन सुर्खेत पुगेका ती बलेरो रित्तै फर्कँनु पर्ने थियो।

बोलेरोका चालक बाह्रविसे नगरपालिका–९ का रामशरण राय, सोही ठाउँका जागृत तिमिल्सिना, र राजन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई ईर्खु प्रहरी चौकीमा राखिएको छ। बोलेरो पनि प्रहरी नियन्त्रणमै छ। त्यस्तै सोही समयमा लकडाउन उल्लंघन गर्दै यात्रु ओसारिरहेका बा२ख २३३८ र बा२ख ६३७७ नम्बरको यात्रु बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बोलेरो जाँच गर्ने क्रममा बसका चालक र सीमित संख्यामा रहेका यात्रु भने भागेको डिएसपी काफ्लेले दाबी गरे। ‘नियन्त्रणमा लिइएका यात्रुलाई केही दिन क्वरोन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्र उनीहरुबारे आवश्यक निर्णय हुन्छ,’ उनले भने। नियन्त्रणमा लिइएका चालकबारे भने लकडाउन उल्लंघन गरेको कसूरमा कारबाही गर्ने विषयमा परामर्श लिइरहेको उनले जानकारी दिए।
    

प्रकाशित: २२ चैत्र २०७६ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App