coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोराना त्रासः अपरिचित ब्यक्तिलाई गाउँ प्रवेशमा रोक

जुम्ला – दुई दिनअघि गाइबस्तुलाइ घाँस खरिद गर्न तिला गाउँपालिका ९ ढिपु गाउँमा गएका सात जना रित्तोहात फर्किए। उनीहरु घाँस किनेर ल्याउने भन्दै गाउँ पुगेका उनीहरु रित्तोहात फर्किन बाध्य भए। ढिपु गाउँका स्थानीयले गाउँ सम्म समेत उनीहरुलाइ जान दिएनन्। बीचबाटो बाटै फर्किए।

यो समयमा नयाँ ब्यक्ति गाउँमा प्रवेश गरिएको ढिपु गाउँका सार्कीबहादुर बोहोरा बताउँछन्। उनले भने,‘ जताततै कोराना त्रास छ। गाउँमा कोराना संक्रमण हुन नदिन अपरिचित ब्यक्तिलाइ गाउँमा छिर्न दिदैनौँ। परिचित ब्यक्ति पनि भारत वा खाडी मुलुकबाट आएको खण्डमा गाउँ छिर्न दिदैनौँ। सिँधै निगरानी केन्द्रमा पठाउँछौँ। तर अहिलेसम्म कोही पनि आइनपुगेकोले यो गाउँमा खासै त्रास छैन्।’

 नयाँ मान्छे गाउँ प्रवेश गर्दा उच्च निगरानी गर्ने,सोधपुछ गरेर फिर्ता गाउँ नदिइ फर्काउने गाउँले बीचमा सहमति भइसकेको छ।  गाउँमा सडकबाट आउने सवारी साधन ठप्प गरिएको छ। यहाँका मुलबाटोमा बारबन्देज गर्ने तयारी भईरहेको स्थानीय आसे बस्नेतले जानकारी दिए। उनले भने,‘ अहिले यहाँका प्रत्येक गाउँमा आन्तरिक रुपमा सचेतनाका कार्यक्रम भइरहेका छन्। कोराना छिर्न नदिने संकल्प स्थानीय स्तरमा भइरहेको छ।’

अहिले सहरमा भन्दा गाउँमा उच्च सतर्कता अपनाएको भेटिन्छ। नजिकैका छिमेकी बजार सम्म आउँदैनन् स्थानीय। स्थानीय बस्नेतले भने, ‘अब एक गाउँ देखि अर्को गाउँ जान पनि मनाही गर्दैछौं। छोरी चेली पनि यो अवधीभर माइत जान पाउने छैनन्। एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न नदिने नियम गाउँमा लागु भइसकेको छ।’ 

यो महामारी बाट बच्न भारत लगायतका खाडी  मुलुकबाट आउने जो सुकैलाई निगरानी केन्द्रमा जान सुझाव दिएको स्थानीय बताउँछन्।  गाउँमा लकडाउनको पुर्ण पालना भईरहेकोछ। जुम्लामा २ सय ४१ निगरानी केन्द्र छन्। आफुलाइ पायक पर्ने निगरानी केन्द्रमा जान सबैलाइ आग्रह गर्ने गरिएको स्थानीय बताउँछन्।

गाउँमा भिडभाड हुने कुनै काम गर्न दिईदैनौं। खेति किसानी गर्न जाँदा सिधै  घरबाट निस्कन्छौँ। कसै संग घुलमिल नभएर घरभित्र पस्ने गरेका छौँ,उनले भने,‘ालबालिका देखि बुढाबुढी सम्मले मास्क लगाउँछन। साबुनपानीले हात धुन्छन। सरसफाइका क्रियाकलापमा सरिक हुने गरेका छन। कोराना संक्रमण हुनबाट बच्न निकै सावधानी अपनाइरहेका छौँ।’ 

गाउँमा हुने भोजभतेर देखि बैठक,भेला,सभा सम्मेलन समेत स्थगित भएका छन।गाउँमा रेडियो सुन्ने,सन्देश फैलाउने काम अगुवाहरूबाट भईरहेको छ। लेकाली क्षेत्रमा हिउँ भएकोले आवतजावत ठप्प छ।तल्लो क्षेत्रका गाउँ बस्तीमा सुनसान छ। स्थानीय तहले सचेतनाको साथै मास्क र साबुन, सेनिटाइजर बाँडिरहेका छन।

गाउँका मुलबाटो बन्द गरेर नयाँ ब्यक्ति छिर्न नदिने,मादक पदार्थ सेवन गर्न नदिने र  भिडभाड गर्न नदिने दुर्गम क्षेत्रका हरेक बस्तीमा नियम बनिसकेको छ। जुम्लाका स्थानीयले भारत लगायत खाडीमुलुकबाट आउनेलाई रोक्न सरकारलाई आग्रह गरेका छन। 

हाल सम्म जुम्लाको अवस्था सामान्य रहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा जुम्लामा लकडाउनको प्रभावकारी कार्यन्वयन भईरहेको बताउँछन्।सहरी क्षेत्र भन्दा गाउँमा सुरक्षित महसुस हुने गरेको स्थानीय बताउँछन्।

अहिले गाउँमा खानेपानीको अवस्था,लेकमा बस्ने र गाउँमा बस्नेको तथ्यांक संकलन देखि नयाँ आउनेलाई प्रवेशमा रोक लगाईएकोछ। गाउमा तीन फिटको फरकमा बस्ने,सामान्य लक्षण देखिने बितिकै स्वास्थ संस्थामा लैजाने बिषयमा सचेतना फैलिएको छ।

अहिले गाउँमा आउने कर्मचारी देखि नातेदारले समेत गाउँ पस्न पाउदैनन्। यो पटकको चैत्य दशैमा छोरी चेलि समेत माईती घर जान पाईनन्। नातेदार संग फोन गरेर सञ्चो बिसञ्चो खबर सुनाउछौं,स्थानीय सार्की बोहोराले भने, गाउँमा आउने अनुमति दिदैनौं। यो संकटपुर्ण घडीमा गाउँ नछाड्न गाउँका मानिसलाई समेत सचेत गरिएको छ। जबरजस्ती गाउँ प्रवेश गर्नेलाइ कोराना संक्रमण फैलिए जवाफदेही हुनु पर्ने चेतावनी दिने गरेको छ। स्थानीयले चेतावनी दिएपनि बाहिरबाट कसैले पनि गाउँ प्रवेश गर्ने आँट गरेका छैनन्।

यहाँका सबै गाउँ सुनसान छन। सरासर आफ्नो खेतीपातीको काममा निस्कने सिधैं घर भित्र आउने गरिएको छ। विद्यालय बन्द छन। खेलकुदका क्रियाकलाप ठप्प छन।गाउँमा नयाँ मान्छे देखिन छाडेका छन। एक गाउबाट अर्काे गाउँ जान प्रतिबन्ध छ।

गाउँमा आफ्नो अनुकुलका नियम बनेका छन। कोराना भाईरसको संक्रमण रोक्न अधिकतम प्रयास गरेका छौ,एक जना जनप्रतिनिधि खुमिलाल बुढा भन्छन,कर्णाली करिडोर र सहर बजार भन्दा गाउँमा उच्च सतर्कता छ।

कोराना भाइरसको जोखिम जताततै छ।  कुनै गाउँमा प्रवेश निषेधको अवज्ञा गर्नेलाई जनही एक हजार जरिवानाको व्यवस्था गर्ने गरेका छन। गाउँका स्वास्थ्य संस्थामा औषधिको अवस्था नाजुक छ। आफै सतर्कता नअपनाइ सुख छैन। अहिले गाउँमा सचेतना फैलाउनु बाहेकको विकल्प छैन। गाउँ लक छन्। कोही पस्दैनन।

जिल्लाको कनकासुन्दरी गाउँ पालिकामा मुलबाटाहरू बन्द छन। सडकमा यातायात ठप्प छन।  साबुनपानीले हात धोएर मात्र खानपान गर्ने परिपाटीको बिकास भईरहेकोछ। गाउँमा चहल कम छ। खाद्यान्न जुगाड गरिसकेको छ। स्थानीय उत्पादन जोहो गरि राखेका छन।  गाउँमा रोग भित्रिन सक्ने भन्दै स्थानीय चिन्तित छन।

 

प्रकाशित: २१ चैत्र २०७६ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App