८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनमा सहजीकरण गर्न व्यवसायी प्रतिवद्ध

भक्तपुर- कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थाबाट गुज्रिरहेको बेला जिल्लामा औषधि, ग्यास, खाद्यान्न तथा सागसब्जी आपूर्ति एवं व्यवस्थापनका लागि भक्तपुर उद्योग वाणिज्य संघबाट नियमित रुपमा सहजीकरण गर्ने प्रतिवद्धता भएको छ।

भक्तपुर, चांगुनारायण र सूर्यविनायक नगरपालिकाका नगर प्रमुखलगायत जन प्रतिनिधिहरुसंग वर्तमान संकटको घडीमा संघबाट गर्न सकिने सहयोगका विषयमा छुट्टाछुट्टै भेटघाटमा संघबाट यस्तो प्रतिवद्धता व्यक्त भएको हो। यसैगरी संघका प्रतिनिधिहरुबाट जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरसंग पनि भेटघाट गरेको थियो।

संघले जिल्लामा ग्यांस लगायत खाद्यान्नको अभाव हुन नदिनका लागि विभिन्न वस्तुगत संघसंस्था र सम्बन्धित व्यवसायीहरुसंग नियमित समन्वय गरी मौज्दातको व्यवस्थापनका लागि क्रियाशिल रहदै आएको जानकारी गराइएको थियो। यसैगरी सुरक्षाका प्रयाप्त उपायहरु अवलम्बन गरी प्रत्येक दिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र व्यवसायीको स्वास्थ्य सुरक्षाका विषयमा सरकार सम्बेदनशिल हुनुपर्ने विषयमा पनि संघले ध्यानाकर्षण गराएको छ।

संघबाट भएको उक्त भेटघाट कार्यक्रमहरुमा संघका अध्यक्ष प्रदिप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, उपाध्यक्ष महेशबहादुर धौबन्जार, उपाध्यक्ष रोशन भोयद्यो, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव रोशनीमैया धौबन्जा, सचिव गणेशहरि प्रजापति, कार्यसमिति सदस्यहरु गौतम सुजखु, दिनेश गोसाई, नविन प्रजापति, पृथ्वीभक्त प्रजापति, विश्वराम दुवाल, राजेश त्वानावासु, रुकेश रंजित, रंजित मारिखु, राजेन्द्र प्रजापति, रुपेश शिलाकार र खाद्यान्न व्यवसायी दिपेशबहादुर धौबन्जार लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संघले जिल्लाका चारवटै नगरपालिकाहरुमा खाद्यान्न आपूर्ति व्यवस्थापनमा सहजीकरणका लागि समिति समेत गठन गरेको छ। जसमा भक्तपुर नगरपालिका क्षेत्रका लागि उपाध्यक्ष रोशन भोयद्यो, सूर्यविनायक नगरपालिका क्षेत्रका लागि वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर, चांगुनारायण नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य नविन प्रजापति र मध्यपुर थिमि नगरपालिका क्षेत्रका लागि कार्यसमिति सदस्य राजभक्त श्रेष्ठलाई संयोजकको रुपमा चयन गरेको छ।

यसैगरी संघबाट एक सय दुई बाकस पानी जिल्ला प्रशासन कार्यालय भक्तपुर, एक सय दुई बाकस पानी महानगरी प्रहरी परिसर भक्तपुर र ४५ जार पानी खरिपाटी क्वारेन्टाइनका लागि सहयोग हस्तान्तरण गरेको छ। यसैगरी सिल्भर फूड प्याकिंग बक्स एक हजार वटा र प्लाष्टिक चम्चा चार हजार दुई सय वटा महानगरीय प्रहरी परिसरलाई सहयोग हस्तान्तरण गरेको छ।

व्यवसायी एवं आम उपभोक्ताले सामग्रीहरुको खरिद बिक्री गर्दा प्रकोपबाट सुरक्षित रहने प्रयाप्त सुरक्षाका उपायहरु अवलम्बन गर्न पनि संघबाट अनुरोध गरिएको छ।

 

 

प्रकाशित: २१ चैत्र २०७६ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App