७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

रुपन्देहीको एक क्वारेन्टाइनमा कपडाकै मास्कमा खटिएका स्वास्थ्यकर्मीको टोली । तस्बिर/नागरिक

बुटवल- दश दिनअघि कोरोनाको आशंकामा एक जना बिरामीलाई बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिन नमानेको घटना बाहिरीएपछि त्यहीका स्वास्थ्यकर्मीले भनेका थिए ‘बिरामीको उचीत उपचार गर्ने होे भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउ।’

गत आइतबार कोरोनाकै आशंकामा उपचार नपाएर बुटवलको आइसोलेसन अस्पतालमा ज्वरोका बिरामी सैनामैनाका बाबुराम थापाको ज्यान गएपछि त्यहाँका स्वास्थ्यकर्मीले पनि सोही गुनासो गरे। ‘आइसोलेसन अस्पतालमा न आयसीयु कक्ष छ न स्वास्थ्यकर्मीहरु लागि प्रयाप्त सुरक्षा सामग्री’ अस्पतालमै कार्यरत एक जना स्वास्थ्यकर्मीले भने। कोरोनाको आशंका गरीएका बिरामीलाई बढी रेखदेख गर्नुपर्ने र मनोबल उच्च राख्न तीनलाई परामर्स पनि दिनुपर्छ ।

तर सुरक्षा सामग्रीबिनै काममा खटिनु पर्दा आइसोलेसन अस्पतालकै स्वास्थ्यकर्मीको मनोबल उच्च छैन। ‘ज्वरो नाप्न होस या औषधि दिन डाक्टर आफै जाँदैनन्। बिरामीको सम्पर्कमा गइरहनु पर्ने स्वास्थ्यकर्मी र सहयोगीले एन ९५ मास्क समेत पाउदैनन्, पीपीईको कुरै छोडौ’ ती स्वास्थ्यकर्मीले भने। सो अस्पतालमा माथिल्लो तहका डाक्टर नर्सको संख्या गनेर सिमित सुरक्षा सामग्री उपलब्ध गराइएको उनले बताए।

आइसोलेसन बेड राखिएका लुम्बिनी प्रादेशिक र भैरहवाको भिम अस्पतालका स्वास्थ्यकर्मीहरुको गुनासो पनि फरक छैन। अस्पताल परिषरमा रहदा एन ९५ मास्कसम्म लगाउन पाए आफूहरुको आत्मबल बढ्ने भिम अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन्।  स्वास्थ्यकर्मी संघका अध्यक्ष रामप्रसाद ढकालले पनि आइसोलेसन अस्पताल, हेल्थ डेक्स, क्वारेन्टाइन जस्ता जोखिम क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मीहरुको पूर्ण सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने बताए।

पछिल्लो समय भारत तथा तेश्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ। तीनको रेखदेखमा स्वास्थ्यकर्मीहरुकै टोली खटीएको छ। त्यसरी खटीनेहरुले सामान्य खालको सर्जिकल मास्क समेत पाएका छैनन्। तीनै स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनको सेवा सुविधाको बिषयलाई लिएर औला उठाइन्छ। त्यहाँ बस्नेहरुका आफन्तले  स्वास्थ्यकर्मीहरुमाथि नै रिस पोख्छन्। रुपन्देहीको दुर्गादत्तमाविको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरु कपडाकै मास्कको भरमा डिउटी गरीरहेका छन्।

सर्जिकल मास्क प्रयाप्त नहुँदा तत्कालका लगि कपडाबाट बनाइएका मास्क लगाएर र दुरी मेन्टेन गर्दै स्वास्थ्य सर्तकता अपनाइएको क्वारेन्टाइनका इन्चार्ज जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकालले बताए। ‘सुरक्षा सामग्री हुँदै नभएको होइन केही थान पीपीई, मास्क, सेनिटाइजरको व्यवस्था नगरपालिकाले गरीरहेको छ’ उनले भने। तुलनात्मक रुपमा एन ९५ मास्क सुरक्षित मानिए पनि देशव्यापी रुपमै अभाव भएकाले सामान्य माक्सबाटै काम चलाउनु परेको उनले बताए।

भारत, जपान, बहराइन, दुवईबाट आएका ३२ जना रहेको यो क्वारेन्टाइनबाट एक जनालाई ज्वरो, रुघाखोकी जस्ता कोरोनासंग मिल्दो लक्षण देखिएपछि आइसोलेसन अस्पताल पठाइको छ। बाँकीको अवस्था अहिले सम्म सामान्य रहेको र नियमित स्वास्थ्य निगरानीमा राखीएको इन्चार्ज ढकालले बताए। रुपन्देहीकै ओमसतियाको क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरुले पनि जोखिमयुक्त क्षेत्रमा खटीने स्वास्थ्यकर्मी र सहयोगीहरुलाई  सुरक्षित बनाउने तर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्यकर्मी संघका अध्यक्ष रामप्रसाद ढकालले अस्पताल, हेल्थ डेक्स तथा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर मनोबल उच्च बनाउन सके कोरोना नियन्त्रण अभियान प्रभावकारी हुने बताए।
 

प्रकाशित: २१ चैत्र २०७६ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App