७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कतारबाट फर्किएका एक जनाको स्वाब परीक्षणमा पठाइदै

खोटाङ– गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाब) संकलन गरेर परीक्षणमा पठाउने तयारी गरिएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना ल्याव परीक्षणमा पठाउने तयारी गरिएको हो। घर आएको १४ दिनभन्दा बढि वितिसकेको भए पनि संक्रमण भए/नभएको यकिन गर्नका लागि उनको स्वाब विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत १२ गतेदेखि होम क्वारेन्टीनमा राखिएको छ। कतिपय व्यक्तीमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले स्वाब परीक्षणमा पठाउन लागिएको प्रजिअ पौडेलले बताए। हाल जिल्ला अस्पतालमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी आएकाले उनलाई जिल्ला मालपोत कार्यालयको गाडीमार्फत नमूना संकलनका लागि शुक्रबार जन्तेढुंगा पठाइएको छ। ‘बाहिर लक्षण नदेखिए पनि भित्र पोजिटिभ हुन सक्ने खतरा पनि हुने रहेछ,’ प्रजिअ पौडेलले भने, ‘घर आएको १६/१७ दिन भो भनेर कुरेर मात्र हुन्न। स्वाब संकलन गरेर टेष्ट गर्न पठाउनु नै उचित ठान्यौँ। अरु जिल्लाबाट स्वाब परीक्षणमा पठाइरहेका छन् भने हामीले किन नपठाउने भन्ने पनि हो।’

सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमा राखिएका छन्। क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो।

प्रकाशित: २१ चैत्र २०७६ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App