coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बाँके कांग्रेसले दियो क्वारेन्टाइन सञ्चालन गर्न कार्यालय

नेपालगन्ज- क्वारेन्टाइन सञ्चालन गर्नका लागि नेपाली कांग्रेस बाँकेले आफ्नो पार्टी कार्यालय दिएको छ। जिल्ला सभापति किरण कोइरालाले शुक्रबार एक विज्ञप्ती जारी गरी ‘विपी स्मृती भवन’ को सभाहललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने बताएकी हुन्। दुई तल्ले उक्त कार्यालयमा दुई वटा ठूला सभाहल छन्। भारतबाट नेपाल फर्किने नेपाली नागरिकप्रति सरकारले गरेको ब्यवहारप्रति कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ।

‘कोरोना भाइरसको सन्त्रासकै कारण छिमेकी देश भारतमा काम गरेर फर्केका नेपाली मजदुरहरु विभिन्न सीमा नाकामा अलपत्र परिरहेको समाचार आइरहेका छन्, भारतबाट फर्केका १ सय ८१ जना नेपालीहरु पनि बाँकेको सीमा नाकामा झण्डै ४ दिनसम्म खुल्ला आकाशमुनि रात बिताउन बाध्य हुनुपर्‍यो,’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली नागरिकको भन्दा फरक ब्यवहार देखाएर खुल्ला आकाशमुनि बस्न बाध्य बनाउने संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको गैरजिम्मेवार कार्यप्रति नेपाली कांग्रेस बाँकेको ध्यानाकृष्ट भएको छ।’

स्वदेशमै क्वारेन्टाइन ब्यवस्थापन गर्न प्रशस्त आधार र सम्भावना हुँदा हुँदै पनि सरकारले आफ्ना नागरिकलाई नेपाल आउन रोक लगाएर भारत फर्काउन खोज्नु उपयुक्त नभएको कांग्रेसले जनाएको छ। ‘तथापी, भारतबाट फर्केका नेपालीलाई सीमावर्ती दसगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइन निर्माण गरेर ब्यवस्थापन गरिएको प्रति कांग्रेस बाँके आभार प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘भारतमा लकडाउनका कारण प्रभावितभएका नेपालीहरु अझैपनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदा उनीहरुलाई सहज रुपमा आफ्नो देशमा प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गर्दछौं।’ संकटको अवस्थामा पनि स्वास्थ्य सामग्री खरिदमा सरकार भ्रष्टाचारमा संलग्न भएको भन्दै भत्र्सना गरेको छ।

प्रकाशित: २१ चैत्र २०७६ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App