८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चिकित्सक लिएर गाउँ–गाउँ डुल्दै गाउँपालिका अध्यक्ष (फोटो फिचर)

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन हेलम्बु गाउँपालिकाले गाउँ–गाउँ पुगेर स्थानीयको स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ। औषधिसहित गाउँ–गाउँ पुग्ने दुई चिकित्सकले सातादेखि स्थानीयमा रुघाखोकी र ज्वरो भए/नभएको परीक्षण गरिरहेका हुन्।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा पनि चिकित्सकको टोलीसँगै गाउँ खटिइरहेका छन्। रुघाखोकी र ज्वरोको मौसम सुरु भएको र कोरोना भाइरसको लक्षण पनि यही भएकाले स्थानीयको स्वास्थ्य परीक्षण थालिएको अध्यक्ष शेर्पाले बताए।

उनका अनुसार गाउँमै पुगेर हालसम्म तीन सयभन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ। लकडाउन अवधिभर स्वास्थ्य परीक्षण जारी रहने गाउँपालिकाले जनाएको छ। चिकित्सक टोलीले मौसमी रुघाखोकी र ज्वरो देखिएका स्थानीयलाई निःशुल्क औषधिसमेत वितरण गरिरहेको छ।

कोरोनाविरुद्ध लड्न गाउँलेको मनोबल उच्च बनाउने उद्देश्यले स्वास्थ्य परीक्षण अभियान चलाएको अध्यक्ष शेर्पा बताउँछन्। ‘गाउँमा कोरोनाको ठूलो त्रास छ। त्रास रोकेर आत्मबल बढाउन अभियानले सघाउने विश्वास लिएका छौँ,’ उनले भने। केही स्थानीयमा मौसमी रुघाखोकी र ज्वरो देखिएको उनले जानकारी दिए। त्यस्ता बिरामीलाई औषधिसमेत वितरण गरिएको छ। गाउँपालिकाको यो अभियानमा खटिएका छन्, चिकित्सकद्धय पासाङछिरिङ लामा र कान्छाबाबु लामा। उनीहरु हेलम्बुकै हुन्। गाउँपालिकाको अनुरोधमा चिकित्सकद्धय स्वयम्सेवी रुपमा खटिइरहेका हुन्। पासाङले नेपाल र कान्छाले बेलायतमा चिकित्साशास्त्र अध्ययन गरेका थिए। औषधिको व्यवस्था गाउँपालिकाले मिलाएको हो।

विदेशबाट फर्केका व्यक्तिको घरमै पुगेर सपरिवारको रुघाखोकी र ज्वरोको परीक्षण गरेको अध्यक्ष शेर्पाले बताए। उनका अनुसार गाउँपालिकामा विदेशबाट फर्कँनेको संख्या १८ जना रहेको छ। ‘उनीहरु विदेशबाट फर्केको दुई साता पूरा भइसकेको छ। स्वास्थ्यमा कुनै समस्या देखिएको छैन। अझै होम क्वारेन्टाइनमा बस्न भनेका छौँ,’ उनले भने। नेपाल लकडाउन हुनुअघि उनीहरु भारत र खाडीमुलुकबाट फर्केका हुन्। गाउँपालिकाले चार स्थानमा ३० शैयाको क्वारेन्टाइन बनाए पनि अहिलेसम्म त्यहाँ भने कोही बसेका छैनन्।

परीक्षणका क्रममा चिकित्सक टोलीले धेरै उच्च रक्तचापको बिरामी भेटेको अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार किन्नु पर्ने भएकाले त्यस्ता बिरामीले बीचमै औषधि सेवन गर्न छोडेको पाइएको छ। ‘प्रेसरको औषधि निःशुल्क वितरण गरिनेको सूचीमा रहेनछ,’ उनले भने, ‘प्रेसरका धेरै बिरामी भेटेपछि गाउँपालिकाले त्यसको औषधि निःशुल्क वितरणको व्यवस्था गर्ने सोच बनाएको छ।’

स्वास्थ्य परीक्षण र औषधिको साथमा चिकित्सकको टोलीले साबुन, मास्क लगायत स्वास्थ्य सचेतनाका सामग्री बाँड्दै कोरोना भाइरसबारे जनचेतनासमेत फैलाइ रहेको छ। स्थानीय बाटोघाटो, मेलापात जहाँ भेटिन्छन् त्यही पुगेर आफूसहितको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरिरहेको अध्यक्ष शेर्पा बताउँछन्।
    
    

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App