७ वैशाख २०८१ शुक्रबार
समाज

भेरीगंगामा एक करोडको विषद् कोष स्थापना

सुर्खेत -  भेरीगंगा नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न र दैनिक गुजारा चलाउने समुदायलाई खाद्यान्न सहयोग गर्नका लागि एक करोड एक लाख रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ।

नगरपालिकाले चालू आर्थिक वर्षका लागि छुट्याइएको विभिन्न शिर्षकको बजेटबाट उक्त कोष निर्माण गरेको हो। नगर क्षेत्रभित्रका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि सुरु गरिएको उपप्रमुख स्वरोजगार कोष, सर्पदंशका विरामीहरुको उपचारका लागि छुट्याइएको रकम, प्रवद्र्धनात्मक र भैपरी आउने खर्च शिर्षकबाट एक करोड एक लाख रुपैयाँ छुट्याएर कोष निर्माण गरिएको मेयर भुपेन्द्र चन्दले जानकारी दिए।

‘अहिलेको संकटबाट नगरवासीहरुलाई जोगाउनु हाम्रो पहिलो कर्तव्य हो,’ मेयर चन्दले भने, ‘त्यसैले चालू आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा छुट्याएको बजेटबाट विपद् व्यवस्थापन कोष निर्माण गरेका हौं।’ कोषमा भैपरी आउने खर्च शिर्षकबाट ४५ लाख, उपप्रमुख स्वरोजगार कार्यक्रमबाट २३ लाख, विपद् व्यवस्थापन कोषबाट २० लाख, सर्पदंशका विरामीहरुको उपचारका लागि छुट्याइएको मध्येबाट आठ लाख र प्रवद्र्धनात्मक कार्यक्रममार्फत पाँच लाख रुपैयाँ छुट्याइएको छ।

उपप्रमुख रेणु आचार्यले कोरोना संक्रमण रोक्नका लागि भइरहेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरु संकटमा रहेकाले उनीहरुलाई सहयोग गर्नका लागि पनि कोष स्थापना गरिएको बताइन्। ‘दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरु लकडाउनका कारण समस्यामा छन्,’ उनले भनिन्, ‘वडाबाट तथ्याङ्क संकलन गरेका छौं, एक–दुई दिनभित्रै कोषमार्फत ति परिवारलाई राहात वितरण सुरु गछौं।’ नगरपालिकाले कृषि विकास बैंकको छिन्चु शाखामा खोलिएको विपद् व्यवस्थापन कोषको खातामा रकम जम्मा गर्न सहयोगीहरुलाई आग्रह गरेको छ।

नगरपालिकाले राहत वितरणमा एकद्धार नीति अवलम्वन गरेको छ। ‘आफू खुशी राहत वितरण गर्दा कहीँ दोहोरिने र बास्तविक पीडितहरुले नपाउने भएकाले एकद्धार प्रर्णाली अपनाएका हौं,’ उपमेयर आचार्यले भनिन्, ‘कुनै पनि संघ–संस्था र व्यक्तिहरुले राहत वितरण गर्नुपूर्व नगरपालिकालाई जानकारी गराउनुपर्ने छ।’ 

 

प्रकाशित: २१ चैत्र २०७६ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App