coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्ज भन्सारको सेवा अब अनलाइनमा

वीरगन्ज- देशको प्रमुख व्यापारिक नाका वीगन्जस्थित भन्सार कार्यालयबाट आयात–निर्यात गर्ने सेवाग्राहीले अब आफ्नै घर वा कार्यालयमा बसी–बसी सेवा लिन सक्ने भएका छन्। भन्सार विभागको केन्द्रीय 'सर्भर'बाट नियन्त्रण हुने गरी सञ्चालित अनलाइन प्रणाली बुधबारदेखि लागू भएको छ। 'यस अनलाइन प्रणाली अन्तर्गत पहिलो दिनको २ बजेसम्म करिब डेढ सय प्रज्ञापन दाखिला भएर काम भइरहेको छ,' वीगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेलले भने, 'यसले भन्सार प्रणालीमा धेरै कुरा परिवर्तन गर्नेछ।'

उनका अनुसार आयातकर्ता व्यापारीले घर वा कार्यालयमा बसीबसी अनलाइन माध्यमबाट आयातित मालवस्तुको खरिद बिल 'स्क्यान' गरी हालेर प्रज्ञापन भर्न सक्ने छन्। यसरी भरिएको प्रज्ञापनमा उल्लेखित माल वस्तुको विवरण घोषणासँगै सो सामान हरियो, पहेँलो वा रातो संकेत अनुसारको हो भन्ने कुरा 'आसिकुडा' अनलाइन खाताले नै छुट्टयाइदिने छ। हरियोमा परेको भए त्यसको जाँचपास त्यसपछिको तुरुन्तै भइहाल्ने छ। 'चेक जाँच गरेर हेर्नुपर्ने मालवस्तु भए कुन कर्मचारीलाई यसको लागि तोकिएको छ, काम कति अघि बढ्यो लगायत जानकारी सेवाग्राहीले अनलाइनबाटै पाउन सक्ने छन्,' पोखरलेलले भने, 'यसले बढी पारदर्शिता आउने छ, जोखिम व्यवस्थापनमा मद्दत मिल्ने छ।'

भन्सार विभागले भन्सार कार्यालयहरुको सेवा अनलाइनमा लैजान एउटा कार्यदल बनाएर खटाएको छ। वीरगन्ज कै सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालय र पूर्वको मेची भन्सार कार्यालयमा लागू गरी गत साउनदेखि यो प्रयोगको अभ्यास गरिँदै आएको थियो। १ खर्ब ७ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको वीरगन्ज भन्सार कार्यालयमा भने बुधबारदेखि अनलाइन भन्सार सेवा चालु भएको हो। यो वर्ष भन्सार विभागले देशभरका १८ भन्सार कार्यालयबाट २ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य बनाएको छ। यसमध्ये एक्लै वीरगन्ज भन्सारलाई साढे ४३ प्रतिशत असुलीको भार छ।

अनलाइनमार्फत काम हुन थालेपछि भन्सार सेवालाई 'इ–पेमेन्ट' र 'पेपर लेस' प्रणालीमा लैजान बाटो खुलेको पोखरेलको भनाइ छ। नेपालका भन्सारहरुलाई अनलाइनमा लैजान खटेको कार्यदलका सदस्य हरिहर पौडेलले भन्सार आधुनिकीकरणको क्रममा यसलाई 'ठूलो फड्को' बताए। 'खरिद बिल र प्रज्ञापनपत्र अनलाइनबाट लिनेसँगै भन्सारले जारी गर्ने कागजातलाई पनि वैज्ञानिक रुपमा यसले प्रमाणीकरण गर्ने छ,' पौडेलले भने, 'अनलाइन प्रणालीबाट घोषणा भएर आएको माल सामानको प्रज्ञापन, भन्सार तिरेको नगदी बैंक रसिद र गेट–पासमा कम्प्युरीकृत 'बार कोड' (संकेत) रहने छ।' त्यस्तो बार कोड संकेत पढ्ने मेसिनले उक्त कागजात सम्बन्धी सम्पूर्ण बिवरण देखाइदिने छ। नेपालका भन्सारहरुमा यसअघि नै 'आसिकुडा पल्स पल्स' सफ्टवेयरबाट प्रज्ञापन दाखिला गर्ने प्रणाली चलनमा रहेकोले अनलाइनमा लैजान सजिलो भएको भन्सार अधिकृतहरुको भनाइ छ। 'अहिले अनलाइनमा गएपछि 'लेस पेपर' (थोरै कागजी काम) भएको छ, यसपछि 'पेपर लेस' (कागजविहीन) तारिकाले भन्सारको काम गर्नेतर्फ अघि बढ्ने बाटो पनि खुलेको छ,' पौडेलले भने।

प्रकाशित: २८ पुस २०७३ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App