८ वैशाख २०८१ शनिबार
समाज

दिल्लीको धार्मिक भेलाबाट फर्केकाहरुको नमूना पठाइयो

लहान - भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक भेलामा (मरकज) सहभागी भई फर्केका ३० जनामध्ये सातजना शंकास्पदको नमूना संकल गरी बिहिबार परीक्षणका लागि पठाइएको छ। उनीहरुलाई सप्तरीको विभिन्न पाँच ठाउँको क्वारेन्टाईनमा राखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुनियालाल यादवकाअनुसार राजविराज स्थित साइ कृष्ण कोरेन्टाइनमा ७ जना, हनुमाननगरको क्वारेन्टाइनमा ८ जना, तिलाठी कोइलाडीको क्वारेन्टाइनमा ७ जना , बोदेबरसाइनको क्वारेनटाइनमा ७ जना र कञ्चलनरुप नगरपालिकाको बैरवा क्वारेन्टइनमा १ जना गरी ३० जनाले आफूहरु मरकजमा सहभागी भई फर्केको स्वीकार गरेका छन्। बैरबा क्वारेन्टाइनमा राखिएका मध्ये १६ जनाले मरकजमा सहभागी भएको स्वीकार गरेका छैनन्।

राजविराजको साई कृष्णा कोरेन्टाइनमा राखिएका सात जना र चैत ४ गत्ते कतार एयरवेजबाट नेपाल आएका एक जना गरी  शंकास्पद ८ जनाको नमूना संकलन गरी परीक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य प्रमुख यादवले बताए।

निजामुद्दिन मस्जिदमा आयोजित मरकजमा(धार्मिक भेला) सहभागीहरुमा कोरोनाको संक्रमण देखिएको र नेपाली नागरिक पनि त्यसमा सहभागी भएको पुष्टि भएपछि उनीहरुको खोजी कार्य अघि बढाएको थियो।

मरकजमा सहभागी भई घर फर्केका एकजनालाई मंगलबार कञ्चनरुप नगरपालिकाका स्थानीयले पहिचान गरेका थिए। त्यसपछि जनप्रतिनिधिहरुको सहयोगमा भारतबाट आएका १७ जनासहित मरकजमा सहभागी ती व्यतिmलाई पनि स्थानीय लक्ष्मीनारायण माध्यमिक विद्यालयको नव निर्मित भवनमा क्वारेन्टाइन गरिएको नगरपालिकाका प्रवतmा समिते रहेका वडा नम्बर ८ का अध्यक्ष राजकुमार साहले बताए। मरकजमा (धार्मिक भेला) नेपालबाट कति गएका थिए भन्नेचाहिँ यकिन भएको छैन।

दिल्लीमा कोरानोका कारण मरकजमा(धार्मिक भेला) सहभागीहरुको मृत्यु हुन थालेपछि उनीहरु त्यहाँबाट विभिन्न सवारी प्रयोग गरी भिमनगर सीमा नाका हुँदै पैदल सप्तरी(घर) पुगेको बताउँछन्। ५ देखि १३ मार्चसम्म चलेको उक्त भेलामा करीब तीन हजारभन्दा बढी सहभागी रहेको उनीहरु बतउँछन्। जसमध्ये धेरै सहभागी २४ मार्चअघि नै आ–आफ्नो गन्तव्यतर्फ गइसके। तर देशव्यापी लकडाउनका कारण एक हजारभन्दा बढी त्यहीँ रोकिएका थिए।

कञ्चनरुप नगरपालिका शिक्षा शाखा संयोजक ललित नारायण यादबका अनुसार उक्त सम्मेलनमा सहभागी भएकाहरुमध्ये कञ्चनरुप नगरपालिका –१ बैरवाका हबिव मन्सुरी राती घर फर्केपछि हल्लीखली मच्यो। मंगलबार राती घरमै बसेका कारण उनको परिवारलाई समेत घरमै क्वारेन्टाइन गरिएको उनले बताए।

मंगलबार राति नै  बैरवामा १८ जनाभन्दा बढी व्यक्ति भारतबाट आएको सूचनाले गाउँमा त्रास फैलिएको अध्यक्ष साहले बताए। उनीहरु सबै भारतबाट आएकाहरु हुन तर, दिल्लीको मरकजमा सहभागी भएको एक जनाले मात्र स्वीकारेका छन्। 

सीमा नाका पूर्ण रुपमा सिल गरेपछि पनि कोरोना प्रभावित कार्यक्रममा सहभागी भएकाहरु खुल्ला सिमानाकाको उपयोग गरी हुल बाँधेरै घर फर्किनुले जोखिम बढाएको वडा अध्यक्ष साहले बताए। उनकाअनुसार सप्तरीको बोदेबरसाईन –५ जाँजरमा फागुन ३ गत्ते भएको तीन दिने इज्तिमामा(विश्वस्तरीय धार्मिक सम्मेलन) सहभागी भई त्यहीबाट यस गाउँका करिब सात जना दिल्लीतर्फ गएको बुझिएको छ। सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँका अनुसार भारतको दिल्लीबाट फर्केकाहरुको पहिचान गरी निगरानीमा राखिएको छ।

प्रकाशित: २० चैत्र २०७६ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App