८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढी नाकाबाट अत्यावश्यक सामग्री आयात गर्ने बारे छलफल

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अत्यावश्यक सामग्री आयात गर्ने बारेमा छलफल भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणमा तथा रोकथामका लागि आवश्यक सामग्री तथा अन्य अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोल्ने विषयमा छलफल भएको हो ।

बिहीबार गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष दावादिण्डुप तामाङ तथा टिमुरेका स्थानीयसँग नाका खोल्ने विषयमा छलफल गरेका हुन् । अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोल्न आवश्यक रहेको अध्यक्ष तामाङले बताए ।

‘अत्यावश्यक सामग्री आयातका लागि नाका खोल्नुको विकल्प छैन’, उनले भने, ‘स्थानीयलाई सुरक्षित हुने प्रत्याभूति गराएर नाका सञ्चालनमा ल्याउनुपर्छ ।’ स्थानीयले भने नाका खोलेमा कोरोना भाइरस भित्रन सक्ने भन्दै नाका नखोल्न माग गर्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष तामाङ क्वारेन्टाइनको निरीक्षणका लागि रसुवागढी गएका थिए । रसुवागढी नाकामा हेल्थ डेक्स सञ्चालनमा आइसकेको छ । एउटा हल सहित दुईवटा कोठा भएको प्रिफ्याब भवन सञ्चालनमा आएको छ ।

रसुवागढी क्षेत्रमा ३० शैयाको क्वारेन्टाइन सञ्चालनमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमलकुमार घिमिरेले बताए । गाउँपालिकाभित्र ९५ शैयाको क्वारेन्टाइन निर्माण भएको छ । गएको सोमबार वडा कार्यालयले नाका खुलाउन नहुने भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।

रसुवागढी नाका यही वडामा पर्छ । देश लक डाउन भएको अवस्थामा नाका खोल्ने निर्णयले जनतामा त्रास सिर्जना भएको भन्दै निर्णयप्रति वडाले आपति जनाउँदै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि स्थानीय तहले गरेको अनुरोधमा कुनै पुनर्विचार नहुने जनाएको छ ।

राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर नाका खुलाउन पर्ने भएकाले बन्द गर्न नसकिने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘उच्च सुरक्षाको उपाय अपनाएर नाका सञ्चालन हुन्छ,’ उनले भने, ‘अहिले यसको तयारी भइरहेको छ ।’ 

नाका सञ्चालनमा आएपनि अत्यावश्यक सामग्री मात्र ल्याउन दिने र मानिसको आवतजावत गर्न नदिने उनको भनाइ छ । साथै गोसाइँकुण्ड गाउँपालिकाले लकडाउन अवधिभर बजारको अनुगमन गर्ने, दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने तथा समस्यामा परेका नागरिकका लागि दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने सम्बन्धमा लगत संकलन सुरु गरेको छ । 

प्रकाशित: २० चैत्र २०७६ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App