१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरौटीमा छुटे ‘नक्कली' डाक्टर

काठमाडौं- काठमाडौं जिल्ला अदालतले नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका काठमाडौंका १२ मध्ये चार चिकित्सकलाई सोमबार न्यून धरौटीमा छाड्न आदेश दिएको छ। चारैजना सोमबारै धरौटी बुझाएर रिहा भएका छन्।

चारजना न्यायाधीशको अलग–अलग इजलासमा भएको थुनछेक बहसपछि चारैजनालाई न्यूनतम धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो। ७० लाखसम्म बिगो माग गरिएका चिकित्सक ५० हजार धरौटीमा छुटेका छन्।

न्यायाधीश शिशिरराज ढकालको इजलासले ७० लाख ठगी बराबरको बिगो मागदाबी गरिएका बुद्धिमान श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै १ लाख १९ हजार बिगो मागदाबी गरिएकी विनिता मण्डलसँग न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले ६० हजार धरौटी माग गर्‍यो। न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले अरुणकुमार गुप्तालाई एकलाख धरौटीमा रिहा गरेको छ। यस्तै न्यायाधीश धु्रवबहादुर पियाको इजलासले ११ लाख १३ हजार बिगो मागदाबी गरिएका चिकित्सक गणेश साहलाई एकलाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आफू गलत उपचारका कारण ठगिएको भन्दै चिकित्सक गुप्ताविरुद्ध तीनजनाले लिखित उजुरी दिएका थिए। त्यसैको आधारमा ब्युरोले चिकित्सक गुप्तासँग ८१ लाख ९८ हजार बिगो मागदाबी गर्नुपर्ने सुझावसहित पठाएको मुद्दामा सरकारी वकिल कार्यालयले तीनजना पीडितलाई क्षतिपूर्तिवापत २ लाख ५० हजार मात्र बिगो दाबी गर्दै मुद्दा पेस गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक भएर सेवा गरेका सरकारी, गैरसरकारी निजी संघसंस्थाबाट आर्जन गरेको रकम खुलेर आए पनि उक्त रकम ठगी भएको भन्दै कोही मागदाबी गर्न नआएकाले कानुनबमोजिम मुद्दा अदालतमा लगेको दाबी गरेको छ।

पर्साबाट ६ जना रिहा

जिल्ला अदालत पर्साले पनि सोमबार आठ डाक्टरलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महमुद जुनैदको इजलासले सोमबार धरौटीमा छाड्न आदेश दिएलगत्तै ६ जना धरौटी बुझाएर रिहा भएका छन् भने धरौटी बुझाउन नसक्ने दुईजनालाई थुनछेकका लागि वीरगन्ज कारागार चलान गरिएको छ।

नक्कली प्रमाणपत्र लिएको आरोपसहित नेपाल प्रहरीको केन्›ीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले असार ३ गते उनीहरुलाई पक्राउ गरेको थियो।

अदालतले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टरहरू कुशराज गिरीलाई ४ लाख, पन्नालाल प्रसाद पटेललाई १५ लाख र सरोजकुमार सिंहलाई १० लाख रुपैयाँ धरौटी तोकेको थियो। त्यसैगरी रामकुमार प्रधानलाई ७ लाख ७५ हजार, दिनेशकुमार साह तेलीलाई १८ लाख, इसादुल हकलाई ३ लाख ७५ हजार, निमेश पाल रमनलाई २ लाख र मोहमद रुहुल्लाहलाई ३५ लाख रुपैयाँ धरौटी तोकेको स्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिए। पटेल र रुहुल्लाहले धरौटी बुझाउन नसकेका हुन्।  

प्रकाशित: २१ असार २०७३ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App