coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राजनीतिक दल र सांसदहरुद्वारा घटनाको छानबिन गर्न माग

बुटवल – कोरोना विशेष अस्थाइ अस्पताल बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको उपचारमा लापरबाही भएको भन्दै विभिन्न राजनीतिक दल तथा प्रदेश सभासदहरुले निश्पक्षछानबिनको माग गरेका छन्।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, महिला संघ, तरुण दल लगायतका विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानविन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका हुन्। मृतकको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले दुई छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरीएको छ।

नेपाली कांग्रेस प्रदेश सभा सदस्य रमा अर्याल, फखरुद्दिन खान र बिरबहादुर रानाले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही भएको भन्दै सर्वपक्षीय स्वतन्त्र छानवीन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। सत्यतथ्य बाहिर ल्याइ पिडित परिवारलाइ उचित राहतको व्यवस्था गर्न र मृतकको शब उठ्ने वातावरण बनाउन सभासदहरुले मुख्यमन्त्री शंकर पोखरेललाइ ध्यानाकर्षण गराएका छन्।

ज्ञापन पत्रमा भनिएको छ ‘ज्वरो आएर भर्ना भएका थापाको उचित उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको मृतककी पत्नी रिता र स्वास्थ्य क्षेत्रका जानकारहरु स्वयमले बताइरहेको तथ्य कसै सामु छिपेको छैन’। पीडित परिवारलाइ उचित राहत प्यकेज सहित नावालक छोरोहरुको शिक्षादिक्षा र पालनपोषणको व्यवस्था गर्न माग गरीएको छ। आइसोलेसन अस्पतालमा हुनुपर्ने आधारभूत सुविधाहरु भेन्टिलेटर, आइ.सी.यु. जस्ता उपकरणहरु नै जडान नगरी विशेष अस्पताल भन्दै विरामी भर्ना लिनु र उपचारै नगर्नु गम्भिर लापरबाही भएको सांसद फकरुद्धिन खानले बताए। ‘कोरोना आशंका भनिएका बिरामीको चारदिन सम्म स्वाब परिक्षणमा नपठाउनु अस्पतालको गम्भिर लापरबाही हो’ अर्का सांसद रमा अर्यालले भनीन।

नेपाली काँग्रेस बुटवल नगरसमितिले पनि सो घटनाको निश्पक्ष छानबिन गरी पिडीत परिवारलाइ उचित राहत दिन माग गरेको छ। ज्वरोका बिरामीले कोरोनाकै आशंकामा उपचार नपाएर ज्यान गुमाउनु निन्दनिय रहेको भन्दै काँग्रेस नगरसभापती खेलराज पाण्डेले छानबिनको माग गरेका छन। आवश्यक पुर्वाधार नै तयार नगरी आइसोलेसन अस्पताल सचालन गरेको भन्दै बुटवल नगरपालिका र प्रदेश सरकारले समेत जनतालाइ झुक्याएको पाण्डेले आरोप लगाए। कोरोना बिरुद्धको लडाइमा काँग्रेसको पुर्ण साथ र जनताको स्वास्थ्य उपचारमा जस्तो सुकै सहकार्य गर्न तयार रहेको बताए।

समाजवादी पार्टी प्रदेश ५ ले बाबुरामको मृत्यु अस्पतालकै लापरबाहीका कारण भएको ठहर गर्दै छानविनसहित पीडीतलाई उचित क्षतीपूर्तीको माग गरेको छ। ‘कोरोना विशेष’ नामाकरण गरिएको अस्पतालमा आवश्यक उपचार सामग्रीको व्यवस्था नहुँदा विरामीले उपचार नपाएरै अनाहकमा ज्यान गुमाउनुपरेको पार्टीको प्रदेश समितिले पे्रस विज्ञप्ति मार्फत जनाएको छ।

‘अस्पतालमा भेन्टिलेटर अभाव र समयमै विरामीको नमूना परीक्षण नगर्दा रोग पत्ता नलागी विरामीको अकालमा ज्यान गएको छ’–पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले भने। कोरोनाको बहानामा अन्य रोगका विरामीले समेत उपचार नपाएर ज्यान गुमाइसक्दा पनि प्रदेश सरकारले कुनै चासो नदिएको भन्दै प्रचारमुखी नहुँन सुझाव दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलनगर समितिका अध्यक्ष निरतप्रताप खांणले अस्पतालकै लापरवाहीले ज्वरोका विरामीको मृत्यु भएको भन्दै निष्पक्ष छानवीन गरी दोषीलाई कारवाही र पीडितलाई राहत दिन माग गरे।

नेपाल महिला संघ रुपन्देही र तरुण दल रुपन्देहीले पनि बाबुराम मृत्यु प्रकरणको छानबिन गरी पिडीत परिवारलाइ क्षतीपूर्तिको माग गरेका छन्। महिला संघका सभापती गंगा शाही र तरुण दलका सचिव रमेश शाहीद्धारा जारी बिज्ञप्तीमा अस्पालमा चार दिनसम्म किन उपचार नगरी बिरामी राखीयो भन्ने प्रश्न गम्भिर बनेको भन्दै छानबिनको माग गरीएको हो। ‘प्रयाप्त पुर्वाधार नै नभएको ठाँउलाइ आइसोलेसन अस्पताल भनेर प्रचार गर्नु र बिरामी भर्ना गर्नु स्थानीय र प्रदेश सरकारकै लापरबाही हो’तरुण दलका सचिव शाहीले भने।

रुपन्देहीको सैनामैना नगरपालिका ४ मा डेरा गरी बस्ने बाबुराम चैत १३ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए। ज्वरो आएर अस्पताल गएका उनको १६ गते मृत्यु भयो। थापाको शब बिहिबार साँझसम्म लुम्बिनी प्रादेसिक अस्पतालमा छ। थापालाइ कोरोना आशंका गरीएको भनिएपनि चार दिन सम्म स्वाब समेत ननिकाली राखीएको थियो। आफना श्रीमानले उपचार नपाएरै ज्यान गुमाउनु परेको भन्दै थापाकी श्रीमती रीताले न्याय नपाएसम्म शब नउठाउने अडान लिएकी छन। अस्पतालले उनको मृत्युको कारण अहिले सम्म बताउन सकेको छैन।

प्रकाशित: २० चैत्र २०७६ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App