८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

उदयपुरमा ४ सय बेडको क्वारेन्टाईन तयार

चौदण्डीगढीको बेलटारस्थित क्वारेन्टाईनका खाली बेड। तस्विरः महेश्वर

उदयपुर – कोरोना भाईरस (कोभिड–१९) जोखिम नियन्त्रणको लागि  उदयपुरमा झण्डै ४ सय शैय्याको क्वारेन्टाईन स्थापना गरिएको छ। कोरोनाका संभावित संक्रमितलाई राख्न भनेर सदरमुकाम त्रियुगालगायत जिल्लाका आठ वटा स्थानीयतहमा गरी ३ सय ९७ बेडको क्वारेन्टाईन तयार गरिएको हो। 

‘कोरोना भाइरस प्रतिकार समिति, उदयपुर’का अनुसार अहिलेसम्म ३ महिलासहित ५० जनालाई क्वारेन्टाईनमा राखिएको छ। जसमध्ये सबभन्दा बढी कटारी नगरपालिका –१ को बेलसोत क्वारेन्टाईनमा २६ जना छन्। त्यहाँ राखिएका ३ युवतिसमेत २६ जना सबै मजदुरी गर्न गएका भारतबाट फर्किएकाहरु हुन्।

प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईका अनुसार अन्य ३४ संभावित संक्रमितलाई लिमचुङबुङ र रौतामाई गाउँपालिका तथा त्रियुगा र बेलका नगरपालिकाका क्वारेन्टाईनमा राखिएको छ। २० बेडको लिमचुङबुङ क्वारेन्टाईनमा ३ जना छन् भने ३१ बेडको रौतामाईमा ७ जना रहेका छन्। २० बेडको बेलका क्वारेन्टाईनमा ९ जना तथा २५ बेडको त्रियुगा क्वारेनटाईनमा ८ जना रहेको सहायक सिडिओ भट्टराईले बताए।

चौदण्डीगढी नगरपालिकामा ३१ बेडको क्वारेन्टाईन तयार रहे पनि अहिलेसम्म कसैलाई राख्नु नपरेको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार चौनपाले १० वटै वडामा क्वारेन्टाईन स्थापना गरेर तयारी हालतमा राखेको छ। गाउँपालिका मुकाम उदयपुरगढी र नेपालटार गरी २ ठाउँमा २५ बेडको क्वारेन्टाईन तयार गरे पनि बस्ने कोही नभेटिएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अअधिकृत माधव सुबेदीले बताएका छन्। भारतबाट आएका ३ जनालाई बेलसोतमै राखिएको र अन्य संभावित संक्रमितहरुको खोजी भईरहे पनि पत्ता नलागेको उनको भनाई छ।

त्यस्तै ३० बेडको ताप्ली गाँउपालिकाका क्वारेनटाईनका बेडहरु पनि अहिलेसम्म खाली  छन्। भारतको सिलगुढी र दिल्लीलगायत बिभिन्न ठाउँमा मजदुरी गर्नेहरू गत ८ गते एकैदिन काकडभिट्टा नाका भएर फर्कने २१ मध्ये १८ जना ताप्लीकै भएको पुष्टि भए पनि सबैलाई बेलसोत क्वारेन्टाईनमै राखिएकाले गाउँपालिकासम्म आईनपुगेको अध्यक्ष उद्धवसिंह थापाले बताएका छन्।

अहिलेसम्म क्वारेन्टाईनमा राखिएकाहरु सबै विदेशबाट फर्केकाहरु रहेको र उनीहरुको संपर्कमा आएका केही मात्र रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार केही संख्यामा कतार र साउदी अरवबाट फर्केकाहरु छन्, भने धेरैजसो भारतबाट फर्कनेहरु नै क्वारेन्टाईनमा बसेका छन्। कतारबाट आएका ३ र सिंगापुरबाट फर्केका १ लाई संक्रमणको आशंका गरिए पनि दुईजनाको स्वाब परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ। बाँकी दुईजना र उनीहरुसँग भेटघाट गरेकाहरु सबैलाई ‘होम क्वारेन्टाईन’मा राखिएको र अहिलेसम्म कुनै कोरोना लक्षण नदेखिएको स्थानीय जनप्रतिनिधिले जनाएका छन्। 

 

 

प्रकाशित: २० चैत्र २०७६ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App