८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

काठमाडौँ  - यस वर्षको ६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आज कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ। कोभिड–१९ को सङ्क्रमणका कारण विश्वसँगै नेपाल पनि प्रभावित भएका बेला नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो। 

राष्ट्रिय सहकारी महासङ्घको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रको आज एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शुभारम्भ गर्नुभएको मन्त्रालयले जनाएको छ। केन्द्रको शुभारम्भ गर्दै मन्त्री अर्यालले सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताए। 

सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीयस्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो, उनले भने, सहकारी जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन्, देश सङ्कटमा परेका बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन्, त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो। कोरोनाको महामारी नियन्त्रण गर्न सहकारी अभियानको ऐक्यबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका संयोजक तथा महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन।

कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डे, नेपाल बहुद्देश्यीय केन्द्रीय सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेलगायत सहकारीकर्मीको उपस्थिति थियो। रासस

प्रकाशित: २० चैत्र २०७६ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App