४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

तनहुँमा विदेशबाट फर्कने ६ सय ८७ जना, क्वारेन्टाइनमा बस्ने दुई मात्र

व्यास नगरपालिका-५ पराशर आधारभुत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन । तस्बिरःनागरिक

तनहुँ- तनहुँमा चैत १ गते यता विदेशबाट ठूलो संख्यामा मानिसहरु जिल्लामा फर्किएका छन्। चैत १ गतेदेखि जिल्लामा विदेशबाट ६ सय ८७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। तर विदेशबाट फर्किकाका कुल मध्ये २ जनामात्रै क्वारेन्टाइनमा बसेका छन्। जिल्लाका स्थानीय तहले सङ्कलन गरेको विवरण अनुसार चैत महिनाको सुरुदेखि हालसम्म ६ सय २६ पुरुष र ६१ जना महिला विदेशबाट जिल्लामा फर्किएको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

विदेशबाट आउने मध्ये व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका छन्। विदेशबाट आएका अधिकांश क्वारेन्टाइनमा बस्न नचाहने तर होम क्वारेन्टाइमा सुरक्षित साथ बस्ने भन्दै घरमै बसेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीको भनाई छ। ‘विदेशबाट फर्केका दुई जनाबाहेक अन्य होम क्वारेन्टाइनमा सुरक्षित साथ बस्नु भएको छ,’ उनले भने, ‘उहाँहरुको निगरानी तथा स्वास्थ्य चेकजाँच भइरहेको छ।’

विदेशबाट आएकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि घरमै बस्न खोजेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। ‘घरमै बस्नेलाई जनप्रतिनिधिको निगरानीमा हुनुहुन्छ तर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्न आग्रह गर्दा उहाँहरु बस्नै चहानुभएन,’ उनले भने। विदेशबाट जिल्लामा फर्किएकालाई क्वारेन्टाइनमा राख्ने भनेर जिल्लाभरका दशवटै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन्। तर विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसिरहेका छन्।

तनहुँमा हालसम्म भारत लगायत विभिन्न देशबाट फर्कनेमा व्यास नगरपालिकामा १ सय ५३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १२, भानु नगरपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८३, घिरिङ गाउँपालिकामा ६२, म्याग्दे गाउँपालिकामा ३१, देवघाट गाउँपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा २० र बन्दीपुर गाउँपालिकामा १५ जना विदेशबाट फर्केको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारी बताए। ‘विदेशबाट फर्कन व्यक्तिको विवरण सङ्कलन  भइरहेको छ,’ उनले भने।
 

प्रकाशित: २० चैत्र २०७६ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App