७ वैशाख २०८१ शुक्रबार
कला

लकडाउनमा भाञ्जा गोठालो

अस्विन सिंह ठकुरी

अमरज्योती मावि स्यूचाटार काठमाडौं

मेरो घर बाजुरा हो तर विगत दुई बर्ष देखि हामी सपरिवार काठमाडौंमा छौं। म कक्षा चारको परीक्षा दिएर बसेको छु। यतिबेला भने म दिदीले काम गर्ने ठाउँ पाल्पाको कचल भन्ने गाउँमा छु। पेशाले दिदी नर्स हुनुहुन्छ। लकडाउनमा पनि उहाँको विदा छैन। मेरो ११ महिनाका भान्जा पनि छन्। यस्तो अवस्थामा भान्जालाई हेल्थपोष्टमा सँगै लैँजादा हुन सक्ने जोखिमका कारण म र भान्जा कोठामै बस्छौं। म भान्जाको रेखदेख र दिदीलाई सहयोग गर्न पाल्पा आएको हुँ।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न चैत १० गतेदेखि लामो दूरीका  गाडी चल्न नदिने भनेको थियो। बुटवलसम्म पुग्नका लागि काठमाडौंमा गाडी पाउन मुस्किल पर्यो, लामो बन्दको त्रासका कारण सबै घरतिर जानेको भिड थियो। भिडको कारण कोरोना सर्छ भनेको सुनेको थिएँ तर मलाई लाग्यो कहिलेकाँही रोग सर्ने डर भन्दा पनि ठुलो घर हुँदो रहेछ।

म लकडाउन सुरु हुनु भन्दा २ दिन अगाडि नै यता आएको हुँ तर ठ्याक्कै लकडाउन हुँदा दिदीको घर बुटवलमा थिएँ। लकडाउन शुरु हुँदै बुटवलमा हिँडडुलमा कडाई थियो। दिदी हेल्थपोष्टमा काम गर्ने कर्मचारी भएकाले हिँड्न छुट भयो, लकडाउनको दोस्रो दिन भिनाजुले बाइकमा हामीलाई पाल्पा ल्याएर छाड्नु भएको हो।

यता आउनु अगाडि भान्जालाई जाँच गरायो। उनलाई हल्का रुघाखोकी थियो, लुम्बिनी प्रादेशिक अस्पतालमा गयौं। बाहिरैदेखि दुई तीन ठाउँ सेनिटाइजर लगाउँदै हामीलाई भित्र पठाइयो ।  रुघोखोकी कोरोनाको लक्षणमा पर्ने भएर पनि होला, अस्पतालमा रुघाखोकी जाँच्ने अर्कै सेक्सन समेत बनाइएको रहेछ तर दिदी त्यहाँ जानुभएन। सिधै कतै गएर चेक गराउनुभयो। भिडभाडमा उपचार भन्दा संक्रमणको संभावना हुने भएकाले भन्ने दिदीले जवाफ दिनु भयो।

दिदीले धेरै फलफूल, केही औषधी लगायत खानेकुरा पनि किन्नुभयो। ती फलफूल र खानेकुरा अहिले पनि खाँदै छौं। यतातिर लकडाउन पछि गाडी ठप्प छ। पैसा भए पनि किनेर खान त्यस्ता कुरा पाइँदैन। म सोंच्दै छु, यस्तै अवस्था आउँछ भनेर दिदीले पहिले नै पछि सम्मलाई पुग्ने गरेर ल्याउनु भएको रहेछ।

काठमाडौंमा म फुर्सद हुनवित्तिकै इन्टरनेटमा गेम खेल्थें, तर यहाँ इन्टरनेट छैन। म प्रायः भान्जासँगै हुन्छु र समयसमयमा यहाँ चिनजान भएका नयाँ साथीसँग नजिकै खेत र केरावारीमा खेल्न जान्छु। एक दुई दिन त मलाई इन्टरनेटको गेमको खुब याद आयो तर सबै यत्तिकै पनि खेलेकै त छन् भन्ने भए पछि यसमै रमाइलो लाग्न थाल्यो। रमाइलो त इन्टरनेट नभए पनि त हुँदो रहेछ।

एक दुईदिन मम्मी खोजेर हैरान बनाउने भान्जा अहिले ज्ञानी भएका छन्। मसँगै बस्ने, रमाउने गर्छन्। दिदी भन्नुुहुन्थ्यो ‘यो मेरो काखमा नभए निदाउन सक्दैन।’ तर मेरो भान्जा अहिले खेल्दाखेल्दै मसँगै निदाउँछन्। खाटमा राखेर सुताउँछु। भान्जाले मलाई मम्मीलाई जत्तिकै माया गर्न थाले। शुरुका एक दुई दिन भान्जाले दिसा गर्दा दौडिदै दिदीलाई डाक्न जान्थें तर अहिले त आफंै दिसा धोइदिने र कपडा फेर्दिने पनि गर्छु।

काठमाडौंमा मेरा कपडा प्रायः दाईले धोइदिनुहुन्छ। अहिले मेरा कपडा आफैं धौं धौं लाग्छ, किनकी दिदीलाई त्यति फुर्सदिलो पनि देख्दिन। आफ्नो काम आफै गर्नुपर्छ भन्ने कुरा लाग्न थालेको छ। म दिदीलाई खाना बनाउन पनि सहयोग गर्छु। दिदीले हिजो भन्नुभयो, दालमा पानी बढि भयो र सागमा नुनै बढी भयो। मैले जानें अब दालमा पानी कम र साग पाकिसके पछि थोरै नुन राख्छु।

दिदीले अर्को कुरा पनि सिकाउनु भएको छ, भात पकाउने बेला पहिला भाँडोमा चामल कति छ, नाप्नु त्यस पछि लगभग त्यत्ति नै पानी हाल्नु।

यस्तो बेला नयाँनयाँ किताव भएको भए पढ्न हुन्थ्यो जस्तो लागिरहेको छ। मेरी  ममी स्पाइलन कर्ड इन्ज्यूरीको बिमारले वेडमा हुनुहुन्छ। इन्टरनेट भए भिडियो कल गर्थें जस्तो लाग्छ, अस्ति वडा कार्यालय खुलेको थियो त्यहीँ गएर ममीसँग कुरा गरेका थियौं। लकडाउनले मलाई नयाँ ठाउँमा नयाँ जिम्मेवारी अनुभव संगाल्न सहयोग गरेको छ। कोरोनामा घरभित्रै बस्नु भन्ने रेडियोमा सुन्छ, गाउँघरतिर घरभित्रै बसेको त कमै देख्छु। दिदीले सिकाउनुभएको छ, नजिकै रहेको धारोमा सावुनपानीले हात धोइरहन्छु। तपाइँ पनि सुरक्षित भएर आफ्नै घरभित्र बस्नुस् है।

प्रकाशित: २० चैत्र २०७६ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App