coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बहसमा एकता दिवस

काठमाडौं- माओवादी केन्द्र नेतृत्व सरकारले दोस्रोपटक राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा कटौती गरेपछि एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह फेरि बहसको केन्द्रमा छन्। बिदा कटौती गर्नु जायज हो कि होइन? सरकारी निर्णयको सर्वत्र आलोचना भएपछि बुधबारै समग्र सार्वजनिक बिदाबारे पुनरवलोकन गर्न सरकार तयार भएको छ।

द्वन्द्वकालदेखि नै पृथ्वीनारायण शाहको योगदानमाथि प्रश्न उठाउँदै आएको माओवादीले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि फेरि यो विषय बहसमा आएको हो।

पृथ्वीनारायण शाहको २ सय ९५औं जन्मजयन्ती मनाउँदै गर्दा उनको भूमिका र सम्मानको विषयमा फेरि बहस सुरु भएको हो।

गोर्खाका नरेश शाहले २ सय ७२ वर्षअघि नुवाकोट आक्रमण गरी सुरु गरेको एकीकरण अभियान एकीकरण कि गोर्खा राज्य विस्तार भन्ने विषयमा बहस सुरु भएको हो।

शाहको जन्मजयन्ती पुस २७ मा सरकारले दिँदै आएको सार्वजनिक  बिदा गणतन्त्र स्थापनापछि कटौतीमा परेको छ। यो बिदा कटौती भएपछि उनको योगदानलाई सम्मान गर्ने कि नगर्ने भन्ने विषयमा बहस सुरु भएको हो।

माओवादीले देशलाई केन्द्रीकृत राज्य प्रणालीको सट्टा जातीय संघीयताको पक्षमा लैजाने भन्दै पृथ्वीनारायण शाहको भूमिकामाथि प्रश्न उठाएको थियो। 'पहिला यस विषयमा खासै कोही बोलेको थिएन। संसारभर एउटा सामन्ती राजाले जसरी एकीकरण गर्छन्, त्यसैअनुसार नेपालमा पनि भएको हो भन्ने थियो,' राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, 'जब माओवादीमा जातीय राज्यको कुरा आयो, त्यसपछि मात्र पृथ्वीनारायण शाहले एकीकरण गर्दा अन्य जनजातिमाथि थिचोमिचो भएको थियो भन्ने प्रश्न उठेको हो।'

पुरानो राज्यसत्ता भत्काएर नयाँ निर्माण गर्न सशस्त्र संघर्ष गरेको बताउने माओवादीले त्यतिबेला आफूप्रति आकर्षण बढाउन जातीय मुद्दालाई उचालेको देखिन्छ।

केहीले त्यस विषयमा लेख नै औपचारिक रुपमा माओवादीको दस्तावेजमा नभएको बताए। 'त्यस विषयमा माओवादीहरुको व्याख्या गोविन्द न्यौपानेको किताब 'नेपालमा जातीयताको प्रश्न' मा गरिएको विश्लेषणमा आधारित थियो,' खनालले भने।

तत्कालीन नेकपा माओवादीसमेतको सहभागितामा ०६२/६३ को क्रान्ति सम्पन्न भएपछि जातीय मुद्दा चर्काे रुपले उठ्न थाल्यो।

त्यसै समयमा सरकारले राष्ट्रिय एकता दिवस भनेर दिँदै आएको बिदा कटौती गरेको थियो। तर त्यस समयमा कमैले त्यसको विरोध गर पनि अहिले पृथ्वीनारायण शाहको उचित सम्मान हुनुपर्ने माग चर्कोसँग उठेको छ।

'संसारका अधिकांश देशको एकीकरण राजाहरुले गरेका हुन्। विकासको क्रमपछि सामान्तवादी शासन व्यवस्थामै राजाहरुले एकीकरण गरेका हुन्। नेपालमा पनि त्यस्तै भएको हो,' मोदनाथ प्रश्रितले भने, 'संसारमा जुनसुकै देशमा पनि देशको एकीकरण गर्नेहरुको सम्मान हुने गर्छ। नेपालमा पनि हुनुपर्छ।'

लिच्छवी राजा मानदेवले यसै क्षेत्रमा अहिलेको नेपालजत्रो देश बनाएका थिए। त्यो करिब ५ सय वर्षसम्म चल्यो। मल्ल राजाको समयमा फेरि टुक्राटुक्रामा विभाजन भएको थियो। यक्ष मल्लले फेरि अहिलेको नेपालजति नै एकीकरण गरेका थिए तर त्यसलाई कायम राख्न सकेनन्।

तीन छोरालाई राज्य विभाजन गरे। गोर्खामा पृथ्वीनारायण शाह १७९९ मा राजगद्दीमा चढ्दा काठमाडौं उपत्यकाभित्र तीनवटा राज्य थियो भने सेना, बाइसे/चौबिसे गरी अहिलेको नेपाल हाताभित्र असंख्य राज्य थिए। त्यस समय भारतमा मुगल साम्राज्य पतन भएको थियो र इस्ट इन्डिया कम्पनीको नाममा बेलायती भारत आइपुगेका थिए।

त्यसै समयमा पृथ्वीनारायाण शाहले एकीकरण अभियान सुरु गरेका थिए। त्यो एकीकरण नभई गोर्खा राज्यको विस्तार मात्र भएको हो भन्ने तर्क पनि उत्तिकै सुनिन्छ।

'गोर्खा राज्यको विस्तार हो तर अहिले जे नेपालको स्वरुप छ, त्यो निर्माण हुनुमा पृथ्वीनारायण शाहको योगदान छ। त्यसैले नेपालमा बस्नेहरुले सम्मान गर्नुपर्छ,' राजनीतिक विश्लेषक झलक सुवेदीले भने, 'यसैलाई एकीकरण भने भन्न सकिँदैन। पहिले सिंगो  देश थियो त्यसपछि टुक्रियो अनि एकीकरण गरेको होइन। केहीले जिते र केहीले हारे भन्ने महसुस भएको हो। त्यसैले यो विस्तार हो।'

उनले पहिचानको राजनीति यसैसँग जोडिएको बताए। 'गोर्खा राज्यको विस्तारअघि हाम्रो छुट्टै र स्वतन्त्र भाषा संस्कृति थियो, त्यसलाई दबाइयो भन्ने हो,' सुवेदीले भने।

'गोर्खा राज्यको विस्तार क्रममा लिम्बुवानमा सबैभन्दा ठूलो प्रतिरोध भएको थियो। सन् १८३० मा ६० हजार लिम्बुहरु भेला भएर शाहको शासनमा नबस्ने निर्णय गरेर अन्यत्र सरेका थिए,' उनले भने।

उनले पछिल्लो समय पृथ्वीनारायण शाहलाई २०६२/६३ को परिवर्तनको विरोध गर्नेहरुले प्रयोग गर्ने माध्यम बनाएकोमा चिन्ताको विषय भएको बताए।

तर प्रश्रित नेपालको एकीकरणमा सबै जातीय समूहका सहभागिता भएको दाबी गर्छन्।

'गोर्खाली सेनामा मगर र गुरुङको ठूलो उपस्थिति थियो,' उनले भने,  'किराँत र तराईका बासिन्दासमेत त्यसमा सहभागी थिए।'

पृथ्वीनारायणले पूर्वमा मेची–पश्चिममा गण्डकीसम्म विस्तार गरेका थिए। त्यसपछि बहादुर शाह, राजा रणबहादुर शाह हुँदै भीमसेन थापाको समयसम्म नेपालको एकीकरण चलेको थियो। पूर्वमा टिस्टा र पश्चिमा काँगडासम्म पुगेको नेपालको एकीकरण प्रक्रिया सन् १८१४ को नेपाल–अंग्रेज युद्धपछि खुम्चिन पुगेका थियो।

गोर्खाको सानो ठाउँबाट पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तारको अभियान ७२ वर्षपछि सुगौली सन्धिसँगै रोकिएको थियो।

पछिल्लो समय देखिएको विवादमा दुवै पक्षमा अतिवाद देखिन थालेको विश्लेषकहरुको ठहर छ।

'मानिसको जीवनमा जस्तै इतिहासमा पनि राम्रो/नराम्रो दुवै कुरा हुन्छ। इतिहास सधैँ सुनौली हुन्छ भन्ने मात्रै होइन,' राजनीतिक विश्लेषक हरि शर्माले भने, 'अहिले प्रजातान्त्रिक प्रणाली शासन व्यवस्था त्यस समयमा खोजेर हुने होइन।'

उनले त्यस समयमा राजाको भूमिका भनेको रैतीहरुलाई साथमा लिएर युद्ध गर्ने र स्रोत साधान खोज्ने रहेको बताए।

'पृथ्वीनारायण शाहले पनि त्यसै गरेका हुन्,' शर्माले भने, 'तर अहिले यस विषयलाई लिएर पक्षमा विपक्षामा ठूलो विवाद गर्नुपर्ने आवश्यक नै छैन। राम्रो कुरालाई लिएर अघि बढ्ने हो।'

प्रकाशित: २८ पुस २०७३ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App