८ वैशाख २०८१ शनिबार
विचार

स्वास्थ्यकर्मीप्रति संवेदनशीलता

सम्पादकीय 
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्ने क्रममा नयाँखाले सामाजिक दुर्व्यवहारका भाइरस सतहमा आउन थालेका छन्। कोरोना संक्रमणले निम्त्याउन सक्ने स्वास्थ्य समस्याबाट जोगिन गरिने पहल आफ्ना ठाउँमा छन्। तर यसले दीर्घकालसम्म मानसिकरूपमा समेत समाजलाई सताउन सक्ने खतरा देखिँदैछन्। कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सामाजिक दूरीको पनि त्यस्तै पक्ष छ। यसको अर्थ अहिले यसविरुद्ध अग्रमोर्चामा खटिएर लडिरहेका स्वास्थ्यकर्मीमाथि रोग सर्ने डरले दुव्र्यवहार हुने अवस्था आउनु दुःखद हो। 

वास्तवमा यतिबेला यो रोगसँग आफ्नो जीवन दाउमा राखेर स्वास्थ्यकर्मीहरू क्रियाशील छन्। यसको उपचारका क्रममा लगाउनुपर्ने स्वास्थ्य सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट–पिपिइ) को उनीहरूलाई अभाव छ। आएका बिरामी कस्ता हुन् भन्ने पनि तिनलाई थाहा छैन। उपचारकै क्रममा यो सर्न गयो भने के गर्ने ? यस्ता यावत् प्रतिकूलताको स्थितिमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्नुको सट्टा घरधनीहरूले निकालेका घटना सार्वजनिक भएका छन्। राजधानी उपत्यकामा यस्तो समस्या नभए पनि दूरदराज गाउँमा यस्तो अवस्था देखिन थालेको छ। पछिल्लोपटक सार्वजनिक भएका दुई घटना यसैका ज्वलन्त उदाहरण हुन्। दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत स्टाफ नर्स सिर्जना खड्कालाई घरधनी तथा घोराही उपमहानगरपालिका–२ का सचिव नारायण आचार्यले घरबाट निकालेको घटनाको जति आलोचना गरे पनि कम हुन्छ।

बिरामीको सेवा गर्ने नर्सबाट कोरोना संक्रमण हुन्छ भनेर उनले यसो गरेका हुन्। उनी घरबाट निकालिएको समाचार सार्वजनिक हुनासाथ प्रशासनले कारबाही सुरु गरेको छ। त्यसैगरी, सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरधनीले घरमा बस्न नदिएको समाचारसमेत प्रकाशित भएको छ। डेरामा जाँदा दुव्र्यवहार हुन थालेपछि उनीहरू अस्पतालमै बस्न थालेका हुन्। स्वास्थ्यकर्मीलाई घरमा बास बस्न दिँदैमा संक्रमण भइहाल्छ भन्ने सोच्नु आफैँमा गलत हो। निःसन्देह कोरोना भाइरस संक्रामक छ र यसबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्छ। सामाजिक दूरी कायम गर्नु र दुव्र्यहार गर्नु फरक कुरा हुन्। वास्तवमा यतिबेला सबैले आफ्नो घरमा बसेर कोरोना संक्रमण हुन नदिने हो। यस्तो बेलामा स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिलाई हाम्रो प्रोत्साहन र साथ आवश्यक छ।

यस्तो जोखिमका बेला पनि उनीहरूले काम गरिरहेका छन् भने त्यो बेलामा तिनलाई निरुत्साहित पार्ने काम गर्नुभन्दा सहयोग गर्नु ठूलो कुरा हो। न्युयोर्कमा बस्ने नेपाली कलाकार सुवर्ण पोखरेल क्षत्रीले उपचारमा जाने चिकित्सकका घरमा नानी हेरिदिने काम गरेको घटनालाई एउटा सकारात्मक उदाहरणका रूपमा चर्चा गरिएको छ। एकातिर, चिकित्सा कर्ममा लागेका व्यक्तिप्रति दुव्र्यवहारका घटना भइरहेका छन्। अर्कोतिर, उपचारमा सरिक हुँदा आफ्ना साना नानीको हेरविचार गर्न नपाउलान् भनेर सहयोग गर्ने मानिस पनि छन्। स्वास्थ्यकर्मीप्रतिको दुव्र्यहार एकातिर छ। स्वास्थ्यकर्मीले गरेको व्यवहार पनि अर्कोतिर छ। पछिल्लो समयमा कतिपय स्वास्थ्यकर्मी आफैँ डराएर उपचार नगरी फर्काएको भन्ने घटना पनि सार्वजनिक भएका छन्। स्वास्थ्यकर्ममा लागेका व्यक्तिले सेवाभावबाटै यतातिर लागेको भन्ने समाजको बुझाइ छ।

एउटा आदर्शले गम्लङ्ग अँगालो नहाली यस्ता पेसामा लाग्न मानिस प्रेरित हुँदैनन्। चिकित्साकर्ममा लाग्ने भनेकै सेवाका निम्ति हो। निश्चय नै यस्तो बेलामा आफूलाई पनि संक्रमण हुन सक्छ। तर त्यसको पर्वाह नगरी उपचारमा लाग्न प्रतिबद्ध पेसाकर्मीको यतिबेला सख्त आवश्यकता छ। आज गरिएको यो सेवाले भविष्यसम्म यो पेसाप्रतिको उच्च भावना निसृत गर्न मद्दत गर्छ। अतः चिकित्साकर्मी र स्वास्थ्य संस्थाले पनि यसमा सेवाभावलाई महत्व दिनुपर्छ। सर्वोच्च अदालतले ‘आफ्नो अस्पतालमा आएका बिरामीलाई फिर्ता नगर्नू’ भनेर मंगलबार आदेश जारी गरेको छ। वास्तवमा अदालतबाट यस्तो आदेश जारी गर्नुपर्ने अवस्था आउनै नहुने हो। चिकित्सकले स्वास्थ्य सेवा दिन चाहँदैनन् भन्ने परिकल्पना पनि आफैँमा हाँस्यास्पदजस्तो लाग्नुपर्ने हो। यतिबेला स्वास्थ्य सेवालाई निजी वा सार्वजनिक भनेर छुट्याउने जुन अवस्था आएको छ, त्यो भावमा परिवर्तन गर्न पनि सेवालाई पहिलो प्राथमिकतामा पार्नुपर्छ। 

कोरोनाविरुद्ध यतिबेला अग्रमोर्चामा स्वास्थ्यकर्मीजस्तै सुरक्षाकर्मी पनि खटिरहेका छन्। उनीहरू आफैँलाई पनि संक्रमण हुन सक्छ। तर यसो भन्दैमा तिनले आफ्नो सेवालाई थाती राख्न सक्दैनन्। जस्तोसुकै अवस्थामा ती खटिनुपर्छ। अनि आउँछ अर्को वर्ग त्यो हो– सूचनाकर्मी। यस्तो बेलामा पनि आफूलाई सुरक्षित राख्नै कार्यक्षेत्रमा खटिनुपर्ने आवश्यकता हुन्छ। तर यिनीहरूमा संक्रमणको जोखिम हुन्छ भनी घरबाट निकाल्ने काम हुन थाल्यो भने आफैँमा बेठीक हुन्छ। त्यसैगरी स्वास्थ्य क्षेत्रमा अहिले सक्रिय हुनुपर्ने भएकाले संक्रमणको पहिचान र उपचार तयारीका निम्ति पनि सहयोगको व्यवस्था आवश्यक छ। यस्तो बेलामा राज्य आफैँ अभिभावक भएकाले उसको यसमा अहं भूमिका हुन्छ। 

प्रकाशित: २० चैत्र २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App