coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनको असर, एचआईभी संक्रमितले 'एआरटी' पाएनन्

टीकापुर अस्पतालमा रहेको एआरटी सेन्टर। तस्विरः योगेश रावल

टीकापुर - लकडाउनको मारमा एचआईभी संक्रमित पनि परेका छन्। उनीहरु मध्ये धेरैजना एआरटी सेवनबाट बञ्चित भएका छन्। एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधी हो। यसको नियमित सेवनले संक्रमितमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ। 

जसका कारण नियमित एआरटी सेवन संक्रमितका लागि अनिवार्य हुन्छ। लकडाउनका कारण यातायातका साधन ठप्प भएपछि संक्रमित एआरटी लिन स्वास्थ्य संस्थामा पुग्न पाएका छैनन्। उनीहरुलाई स्वास्थ्य संस्थाले केही समयका लागि एकमुष्ट एआरटी उपलब्ध गराउँछ। दुई महिना अघि एआरटी लगेका धेरैजसो संक्रमितको औषधी सकिएको छ। 

‘दुई महिनाअघि बन्द होला भन्ने थाहा भएन, त्यतिञ्जेल सम्मका लागि मात्रै औषधी ल्याए’ मोहन्याल गाउँपालिकाका रामबहादुर(परिवर्तत नाम)ले भने ‘औषधी सकिनै लाग्यो, हामी निकै समस्यामा छौं।’ परियारसहित उनको परिवारका ४ जना एआरटी सेवन गर्छन्।

एचआईभी संक्रमितको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। अहिले संसारभर फैलिरहेको कोरोनाले समेत रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई नै प्रभावित गर्ने गरेको छ। यस कारण पनि धेरैजसो संक्रमितहरु त्रासमा छन।

कैलालीमा १ हजार ३ शय २७ जना संक्रमितले एआरटी सेवन गरिरहेका छन्। ती मध्ये सबैभन्दा धेरैले सेती प्रादेशिक अस्पतालबाट एआरटी सेवन गर्ने गरेको पाइएको छ। त्यहाँ एआरटी सेवन गर्नेको संख्या ७ शय ९३ रहेको छ। 

यस्तै टीकापुर अस्पतालबाट ४ शय ९३, मालाखेतीबाट ४१ जना संक्रमितले एआरटी सेवन गर्ने गरेका छन्। कैलालीमा महिला संक्रमितको संख्या झण्डै ७ शय र बालबालिकाको संख्या डेढ शय भन्दा माथि छ।

टीकापुर अस्पतालबाट टीकापुर, लम्की चुहा नगरपालिका र मोहन्याल, जानकी, बर्दगोरिया र जोशीपुर गाउँपालिकाका संक्रमितहरुले नियमित रुपमा एआरटी सेवन गर्दै आएका छन्। 

अस्पतालको एआरटी सेन्टरमा कार्यरत एचए मिनबहादुर बोहराका अनुसार टीकापुर अस्पतालमा दैनिक २० जनासम्म एआरटी औषधी लिन आउने गरेका थिए। लकडाउन भएसँगै उनीहरु एआरटी औषधी लिन आउन छोडेका छन्। उनले नजिकैका संक्रमितलाई घरमै गएर औषधी वितरण गरी रहेको बताए।

एचआईभी संक्रमितहरुको स्वास्थ्य अवस्था कमजोर हुने हुँदा उनीहरु कोरोना संक्रमणको जोखिममा हुने नवजीवन एकता समाज कैलालीका अध्यक्ष जगत भण्डारीले बताए।  भण्डारीका अनुसार कैलालीका अधिकांश संक्रमितहरु विपन्न समुदायका छन्।

संक्रमित मध्ये पनि एकल महिलाको अवस्था अझ दयनीय छ। ‘स्वास्थ्य अवस्था कमजोर हुनाले कोरोना जोखिम पनि उच्च छ, उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ। साँझ बिहानको छाक टार्नै समस्या छ’ उनले भने–‘यस्तो बेलामा एआरटी सेवन गर्न छुट्यो भने ज्यान नै जोखिममा रहन्छ।’

चिकित्सकका अनुसार संक्रमितले बाँचुञ्जेल एआरटी सेवन गर्नुपर्ने हुन्छ। एआरटी सेवनसँगै पोषिलो खानेकुरा खाने संक्रमितको स्वास्थ्य अवस्था खासै बिग्रिँदैन। उनीहरुलाई एआरटीसँगै पोषिलो खानेकुराको समेत अति आवश्यकता पर्छ। पोषिलो खानेकुरा नखाए एआरटीले उल्टै स्वास्थ्यमा असर पार्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशित: २० चैत्र २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App