coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी नै जोखिममा

सरस्वती माविमा रहेको क्वारेन्टाइन। तस्विरः योगेश रावल

टीकापुर  - जानकी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा छन्। उनीहरु मास्क र पञ्जाको भरमा काम गरिरहेका छन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी खटिएका छन।  उनीहरुसँग आफ्नो सुरक्षाका लागि कुनै व्यवस्था छैन।

 त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट, गन थर्मोमिटर लगायतका सामाग्री छैनन्। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई एकएक वटा डिजिटल थर्मोमिटर दिईएको छ। त्यसैका आधारमा उनीहरु आफैले ज्वरो नाप्छन्। 

‘किन्न खोजेको हो पाइएन’ स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले भने –‘जोखिम भनेर काम गर्न छोड्नु भएन।’ स्वास्थ्यकर्मीले त्यहाँ रहेका व्यक्तिहरुको नियमित रुपमा ज्वरो, रुघाखोकी, झाडा पखाला, पेट दुख्ने, छाती दुख्ने, श्वास प्रश्वास लगायतका स्वास्थ्य जाँच गर्ने गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार त्यहाँ रहेका कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या छैन। 

गाउँपालिकाले केही सप्लायर्सलाई स्वास्थ्य सामाग्री उपलब्ध गराई दिन भनेको छ। उनीहरुले समेत अहिलेसम्म उपलब्ध गराउन सकेका छैनन्। ‘हामीले सम्पर्कमा भए जति सबैलाई आग्रह गरेका छौ’ गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले भने –‘कसैले उपलब्ध गराउन सकेनन्।’

उनले जोखिम हुँदा हुँदै पनि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्याहारमा कुनै कमि हुन नदिएको बताए। उनले सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नभए पनि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले गुनासो नगर्ने गरी काम गरिरहेको दावी गरे।
 
उनले अहिलेसम्म प्रदेश सरकारले ५० वटा मास्क र १०० वटा पञ्जा मात्रै उपलब्ध गराएको बताए। उनले प्रदेश सरकारले अन्यत्र पिपिइ सेट, गन थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेपनि आफ्नो गाउँपालिकालाई विभेद गरेको गुनासो पोखे। उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भएको पालिकामा मात्रै दिने भन्दै प्रदेश सरकारले कुनै सहयोग गरेको छैन।

भारत लगायत तेस्रो मुलुकबाट फर्किएकाहरुका लागि गाउँपालिकाले दुर्गौलीस्थित सरस्वती माविमा चैत ११ गते क्वारेन्टाइन स्थापना गरेको छ। त्यहाँ १ महिला सहित १४ जना बस्दै आएका छन। उनीहरु सबै भारतका विभिन्न ठाउँबाट फर्किएका हुन।

क्वारेन्टाइनमा बस्दै आएका खडक घिमिरेले खान बस्नको कुनै समस्या नरहेको बताए। उनले ज्वरो आफैले नाप्नु पर्ने भएकाले कतिपय व्यक्तिले नजानेर गल्ती गर्न सक्ने डर भने रहेको बताए। ‘अरु त खाशै समस्या छैन’ उनले भने –‘आफै ज्वरो नाप्दा गल्ती हुनसक्छ।’

भारतको पिथौरागढबाट आएका सुखाली चौधरी चैत ९ गते घर पुगेका थिए। उनलाई गाउँमा बस्ने वातावरण भएन। सबैले भारतबाट आएको भन्दै विभेद गर्न थाले। समाजको विभेद सहनु भन्दा क्वारेन्टाइनमा बस्छु भन्दै उनी चैत १४ गतेदेखी त्यहाँ बस्दै आएका छन। उनले क्वारेन्टाइनमा खाशै समस्या नभएको बताए।
 
अलपत्रलाई क्वारेन्टाइनमा
अध्यक्ष चौधरीले भारतबाट फर्केर अलपत्र परेका एक जनालाई क्वारेन्टाइनमा राख्न लगाएका छन। चितवनको भरतपुर महानगरपालिका उत्तर चन्दनगरका परशुराम रावत (४४) अलपत्र अवस्थामा भेटिएका छन।

उनी भारतको पिथौरागढबाट चैत १० गते नेपाल प्रवेश गरेका थिए। उनी बैतडीको झुलाघाटबाट नेपाल प्रवेश गरेका हुन। उनी पिथौरागढबाट हिँडेको भने १२ दिन भएको छ। 

उनी बैतडीबाट कैलालीको अत्तरीयासम्म गाडीमा आएका थिए। त्यसपछिका दिनमा उनले कैलालीका विभिन्न ठाउँमा पैदल हिँडेर बिताए। उनी बर्दियाको तारातालस्थित काकाको घरमा जान खोजेका थिए। उनले प्रहरीले सत्तीघाटमा रहेको कर्णाली पुल तर्न नदिए पछि फर्किएको बताए। 

कोष स्थापना 
गाउँ कार्य पालिका बैठकले २५ लाख रुपैयाँको कोष स्थापना गरेको छ। उसले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा राहत उद्दार कोष स्थापना गरेको हो। बैठकले विपन्न परिवारको लगत संकलन गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २० चैत्र २०७६ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App