८ वैशाख २०८१ शनिबार
समाज

बिदा पुनरवलोकन गरिने

काठमाडौं- नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनमा बिदा नदिएर चौतर्फी आलोचना खेपेको  सरकारले राष्ट्रिय पर्व र चाड बिदा पुनरवलोकन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारले दिँदै आएका वार्षिक बिदा पुनरवलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदा पुनरवलोकन  गर्ने निर्णय गरेको जानकारी सञ्चारमन्त्री सुरेन्द्र कार्कीले दिए। उनले पुनरवलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा क्षेत्रीय र कुन समुदायका लागि  दिने भन्ने निर्क्योल हुने बताए।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएको भन्दै मन्त्रीले समेत असन्तोष व्यक्त गरेका छन्।

क्रिसमसका दिन बिदा दिएको सरकारले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजन्तीमा बिदा नदिएको भन्दै चर्को आलोचना भएको छ। मन्त्रिपरिषद् बैठकमा राप्रपाबाट सरकारमा सहभागी मन्त्री र कांग्रेसबाट मन्त्री बनेका अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा सरकारले बिदा दिनुपर्ने धारणा राखेका थिए। मन्त्री केसीले आफूले बैठकमा बिदा दिनुपर्ने मत राखे पनि निर्णय हुन नसकेको बताए। 'मैले राष्ट्रिय एकता दिवस र पृथ्वीजयन्तीका अवसरमा बिदा दिनुपर्छ भनेर पटकपटक भनें तर सुनुवाइ भएन,' सहरी विकास मन्त्री केसीले भने, 'विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने  सम्मान दिने प्रचलन छ तर हामीकहाँ पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गरियो।' मुलुकमा गणतन्त्र घोषणा अघिसम्म पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउन भनेर सार्वजनिक बिदा दिइन्थ्यो। गणतन्त्र स्थापनापछि यो बिदा कटौतीमा परेको हो।

प्रकाशित: २८ पुस २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App