७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णालीमा भित्रिए आठ हजार व्यक्ति

सुर्खेत - कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ। प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो। 

मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ। कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले बताए। कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताए।यहाँका १० वटै जिल्लागरी ५२५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उनको भनाइ छ। मन्त्री रावलले भने, अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५२८ क्वारेन्टाइन, ३३९ आईसोलेसन, १७ आईसियु र सात भेन्टिलेटर स्थापना गरेको छ। 

नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत यहाँका सबै जिल्लामा पुर्‍याइ सकिएको उनले बताए। उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ। दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ। रासस

प्रकाशित: १९ चैत्र २०७६ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App