१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनप्रतिनिधिले कोरोना उपचार कोषमा रकम जम्मा गर्ने

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेका छन्। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो एक महिनाको सेवा सुविधावापतको रकम उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। 

संकटको समयमा राज्यलाई सकेको सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लडिरहेको राज्यलाई सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए।
 
स्वास्थ्यकर्मी र प्रहरीलाई प्रोत्साहन भत्ता 
खोटेहाङ गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी र प्रहरीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक जनही एक हजार र स्वास्थ्यचौकीमा बसेर खटिएका स्वास्थ्यकर्मीलाई जनही दैनिक पाँच सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। गाउँपालिकाले उदयपुरको सिमानामा पर्ने रसुवाघाट र भोजपुरको सिमानामा पर्ने पामाखाम भञ्ज्याङमा हेल्थडेस्क स्थापना गरेको छ।

यस्तै, ईलाका प्रहरी कार्यालय खोटाङबजारलाई १५ हजार, प्रहरीचौकी थामखर्क, प्रहरीचौकी वाप्लुखा र प्रहरीचौकी सिमपानीलाई प्रोत्साहनस्वरुप १०/१० हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।


शहरबाट फर्कने स्थानीयको समेत तथ्यांक संकलन गरिँदै 
खोटेहाङ गाउँपालिकाले धरान, काठ्माण्डौं लगायतका शहरबजारबाट घर फर्किएका व्यक्तीको समेत तथ्यांक संकलन सुरु गरेको छ।

विदेशबाट आउने मात्र नभएर शहरबजारबाट आउनेबाट समेत कोरोना भाइरसको संक्रमणको खतरा भएकाले शहर–बजारबाट आउने नागरिकको समेत तथ्यांक संकलन गर्नका लागि सबै वडा कार्यालयलाई निर्देशन दिइएको छ। ९ वडा रहेको गाउँपालिकामा भारत तथा तेश्रो मुलुकबाट ३० जना घर फर्किएको तथ्यांक छन्। उनीहरुलाई होम क्वारेन्टीनमा राखिएको अध्यक्ष राईले बताए। उनीहरुको नियमित स्वास्थ्य परिक्षण भइरहेको छ।

गाउँपालिकाले ९ वटै वडालाई २÷२ सेट व्यक्तीगत सुरक्षा सामग्री (पिपिई) वितरण गरेको छ। २० थान पिपिई सेट खरिद गरेर ल्याएको गाउँपालिकाले स्वास्थ्यकर्मीले प्रयोग गर्नेगरी वडा–वडामा पठाएको हो। संकटका समयमा एम्बूलेन्सलाई तयारी अवस्थामा राखिएको र एम्बूलेन्स चालकलाई पनि एक सेट पिपिई उपलव्ध गराइएको अध्यक्ष राईले बताए।
 
बैठकले ‘लकडाउन’को अवधिमा वडा–वडामा खाद्य संकट हुन नदिन सरल र सहजढंगले खाद्य सामगी उपलव्ध हुने वाताबरण बनाउन समन्वय गर्ने, महामारीलाई लक्ष्यीत गरेर विपद व्यवस्थापन कोष स्थापना गर्ने, कोरोना भाइरसबाट बच्नका लागि माइकिङ एबं सूचना प्रवाह गर्ने लगायतका निर्णय गरेको छ। 

एउटै वडाका दुई ठाउँमा क्वारेन्टाइन 
कोरोना भाइरसको संक्रमण रोकथामका लागि खोटेहाङ गाउँपालिकामा ५० बेडको क्वारेन्टीन निर्माण गरिएको छ। विदेशबाट आएका तथा संक्रमणको आशंका गरिएका व्यक्तीलाई राख्नेगरी ९ वडामध्ये खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा १० बेडको तथा अन्य वडामा ५÷५ बेडको क्वारेन्टीन तयार पारिएको हो।

लिच्कीराम्चेमा भने दुई स्थानमा ५÷५ बेडको क्वारेन्टीन तयार पारिएको छ। भौगोलिक विकटताका कारण सरस्वती आधारभुत विद्यालयमा एउटा र मावेमा एउटा क्वारेन्टीन तयार पारिएको गाउँपालिकाले जनाएको छ।
 
ज्यालादारी मजदुरको तथ्यांक लिइदै 
गाउँपालिकाले कामका सिलसिलामा अन्यत्रबाट आएका र ‘लकडाउन’का कारण अड्किएर अलपत्र परेका तथा दैनिक ज्याला मजदुरी गर्ने गाउँपालिकाभित्रकै मजदुरको तथ्यांक संकलन गर्ने तयारी गरेको छ। विपद व्यवस्थापन समितिको बैठकले मापदण्ड तयार पारेर विपद व्यवस्थापन कोषबाट राहत उपलव्ध गराउनेगरी ज्यालादारी मजदुरको तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।

 ‘लकडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा मारमा परेकाले उनीहरुको तथ्यांक संकलन गर्न लागिएको गाउँपालिका अध्यक्ष राईले बताए।

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको उपस्थितिमा भएको विपद व्यवस्थापन समितिको बैठकले दुई सेट इन्फ्रारेड थर्मोमिटर खरिद गर्ने निर्णय गरेको छ।

 समितिको बैठकले हालसम्मको कामको समिक्षा गर्दै कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धीका अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ।

प्रकाशित: १९ चैत्र २०७६ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App