७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना त्रास र लकडाउनले समेत छेकेन चैते दशै मान्न डोल्पालीलाई

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर। मन्दिरमा रहेका भगवती, गुरुचन्दननाथभैरव, कालिका र विक्रम शाही महाराजको लिङ्गा फेरबदल गरेर खडा गर्दै दर्शनार्थी ।

डोल्पा- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सिंगो विश्व यत्तिखेर त्रसित छ। सरकारले पनि २५ जना भन्दा बढिको हुलमा मानिसहरु जम्मा नहुन र सुरक्षित मास्क लगाएर तिन मिटरको दुरीको फरक पारेर बस्न उर्दि जारी गरेको छ। देश पनि पूर्ण लकडाउनको अवस्थामा छ। शहरका बजार क्षेत्र र सडक मात्र नभएर ग्रामीण क्षेत्रका बजार, सडकमा पनि मानिसहरुको चहलपहल नहुँदा सुनसान छन्।

नेपालमा संघिय लोकतान्त्रिक व्यवस्था आइसकेपछि पछिल्लो समय मठमन्दिरमा रहेका परापूर्वकाल देखिका आस्थाका धार्मिक धरोहरमाथि अन्धविश्वास मान्दै राजनीतिक क्षेत्र र नेतृत्वबाट उपेक्षितका साथै अपहेलित बनाउने र अदृश्य दैवीय शक्तिको तेजोबोध गराउने काम भइरहेको छ। विश्वले कोरोनाको त्रासदी पूर्ण र उकुसमुकुस वातावरणको सामना गरिरहेको झण्डै डेढ महिना हुनै थालेको छ। तर हिमाली जिल्ला डोल्पाका नागरिकहरुमा कोरोना त्रासको रत्तिभर आभाससम्म देखिएन। औषधिविहीन रोग कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला पुनः अदृश्य दैवीय शक्तिमाथि मानिसहरुको आस्था र विश्वास जाग्न थालेको छ।

यसैको ज्वलन्त उदाहरण हो डोल्पाको श्रीवालात्रिपुरासुन्दरी भगवतीको मन्दिरमा उर्लिएको दर्शनार्थीहरुको जनसागर। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा अवस्थित त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा विगतका चैते दशै र विजया दशैमा नेपाली सेना र नेपाल प्रहरीका जवान र स्थानीय भक्तजनहरुको हजारौको उपस्थितीमा मन्दिरका चार ओटा ठूला लिङ्गाहरु सहजै खडा गर्ने गरिन्थ्यो। यो पटकको चैते दशैमा पनि विगतकै परम्परालाई निरन्तरता दिन मन्दिर पूजा व्यवस्थापन समितिले नेपाली सेना र नेपाल प्रहरीलाई सहयोग माग्ने निर्णय गरेर पत्रचार पनि गर्‍यो।

अहिले विषम परिस्थतीले आफूहरुको सहयोग चाहेर पनि गर्न नसकिने खवर सम्बद्द निकायले मन्दिर व्यवस्थापन समितिलाई गर्‍यो। मन्दिरका रोलपाला पुजारी व्यवस्थापन समिति र सरोकारवाला स्थानीयलाई सुरक्षा निकायबाट आएको खवरले स्तब्ध बनायो। अब मन्दिरका फेरबदल गर्नै पर्ने लिङ्गाहरु क्सरी खडा गर्ने भन्ने चिन्ताले आफूहरुलाई पिरोलेको अवस्थामा सत्यकी देवी भए आफ्नो संकट आफै समाधान गर्ने छन् मानिसहरु आफ्से आफ जम्मा हुने छन् भनेर देवीकै चरणमा पुकार गरेर बसेका थियौ पुजारी लक्ष्मीप्रसाद उपाध्यायले भने। पुजारी उपाध्यायले भने जस्तै बुधबार चैत शुल्क अष्टमीको दिन त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा कोरोनाको त्रासदीपूर्ण अवस्थामा पनि सयौ दर्शनार्थीहरुको भीड लागेको देखेपछि पुजारी उपाध्याय तिन छक परे।

मन्दिरमा रहेका भगवती, गुरुचन्दननाथभैरव, कालिका र विक्रम शाही महाराजका चार ओटा लिङ्गाहरु सयौ दर्शनार्थीको आगमनले सहजै फेरबदल गरेर खडा गरिएको छ। मन्दिरमा दर्शन गर्न आएका त्रिपुरासुन्दरी नगरपालिका ४ का छक्कबहादुर धरलाले अहिलेको विषम परिस्थतीमा पनि जीवन जोखिमको कुनै प्रवाहा नगरि इश्वरीय शक्तिमा विश्वास मानेर आउनु भनेको भगवती प्रतिको ठूलो आस्था र विश्वास रहेको बताए। कोरोना त्रासदीको वातावरणमा पनि मन्दिरमा आएका भक्तजनहरु भगवतीले नै देशमा भइरहेको अनिष्टा हटाउने बताए।

भक्तपुर जिल्ला घरभई माछापुच्छ्रे बैङक डोल्पामा कार्यरत श्याम श्रेष्ठले ईश्वरीय शक्तिप्रतिको डोल्पालीको आस्था र भगवतीले दिने आर्शिवाद देखेर आफू चकित भएको बताए।उनले भने घरबाट बाहिर निस्कन नसकिने अवस्थामा मन्दिरमा यति ठूलो भीड लाग्छ भन्ने मलाई विश्वास थिएन तर मानिसहरुले भने जस्तै भगवतीको अदृश्य शक्ति कडा रहेछ त्यसैले होला मानिसहरु पनि निर्धक्कका साथ जम्मा भए। श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शन गरे निसन्तानलाई सन्तान, मागेको कुरा पूरा गरिदिने मनकामना पूरा गर्ने जनविश्वास रहेको छ।

कर्णाली प्रदेश सरकारले घोषणा गरेको एक सय ओटा पर्यटकीय क्षेत्रहरु मध्येको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर पनि एक हो। चैत शुल्क अष्टमीको दिनमा मन्दिरका लिङ्गा फेर्ने न्यौपाने थरका पुजारी, देवकोटा, फुलाहारा, छडिदार, दमाई, निसानी कुलाल सार्की लगायत भक्तजनहरुको सयौको संख्यामा उपस्थिती थियो। यसैगरि मन्दिरमा रहेको बलीकुण्डमा बोकाबली र राँङ्गा कुण्डमा राँङ्गा बली चढाइएको छ।
 

प्रकाशित: १९ चैत्र २०७६ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App