६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोना कहर : गुमनाम छन् दलहरु

रोल्पा- कोरोना भाइरस संक्रमणको महामारीले त्रास फैलिरहदा बच्ने उपाय खोज्दै देश लकडाउन गरिएको छ। सहर र गाउँ सुनसान प्राय छन्। दोस्रो पटक लकडाउनको म्याद थपेसंगै जनप्रतिनिधिहरु रोकथाम र समस्यामा परेकाहरुको बारेमा थोरै भए पनि सचेत हुन थालेका छन्। तर हिजो चुनावताका मतदाताको घर दैलोमा पुग्ने राजनीतिक दलका अन्य नेता कार्यकर्ता भने लकडाउनका नाममा ‘होम क्वारेन्टाइन’मा छन्।

जिल्लामा क्रियासिल सरकारी नेकपा र नेपाली कांग्रेसले एक एक थान विज्ञप्ती निकालेको बाहेक थप देख्य कुनै गतिबिधि गरेका छैनन्। आफ्ना मतदाता र उनका परिवारको अनि समुदायको अवस्थाका बारेमा राजनीतिक दलहरु मौन जस्तै छन्। जिल्ला, पालिका र गाउँ स्तरीय कमिटि गठन गरेर आफ्नो गतिलो राजनीतिक उपस्थिती देखाएका उनीहरु संक्रमणको अवस्थामा गुमनाम भएका हुन्। एकिकृत जनक्रान्तीको नारा बोकेर बिद्रोह गर्ने भनेको नेकपा पनि यो समयमा मौन छ।

यतिबेला दलहरुले संघ, प्रदेश र स्थानीय सरकारसंग प्रयाप्त समन्वय गर्दै धेरै गर्न सक्ने भए पनि सुस्त प्राय देखिए। नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने जिल्लामा क्रियाशिल दलहरुले यतिबेला गतिलो भूमिका खेल्न नसकेको बताउँछन्। ‘दुई दल नेपाली कांग्रेस र नेकपाले एक एक पटक विज्ञप्ती निकाल्ने बाहेकका अरु कुनै गतिबिधि गरेको देखिएको छैन। जनता असहज परिस्थीतीमा रहेको बेला उनीहरुले आफूले खेल्नु पर्ने उल्लेख्य भूमिका खेलेनन्।’

आफू सदरमुकाम नजिकै माडिचौरमा रहेको बताउने नेकपाका अध्यक्ष सुरेन्द्र थापा घर्तीले राजनीतिक गतिबिधि ठप्प भएको बताए। ‘कोरोना संक्रमणको विषयमा भने फोनबाटै सम्पर्क भईरहेको छ। बाहिर फसेकालाई जिल्ला ल्याउन पहल गरिरहेको छु।’ घर्तीले भने ‘बाहिरबाट उद्वार गरेर ल्याएका कतिपय उनीहरुले जिल्ला आएपछि जनप्रतिनिधिलाई नटेर्नै अनि आतंक मच्चाउन थालेका छन्। त्यता पनि समन्वय गरिरहेको छु।’

काठमाडौका ईट्टाभट्टामा भएका बाँकी मजदुरहरुलाई जिल्ला ल्याएर व्यवस्थापनको तयारी पनि गरिरहेको उनले बताए। निर्वाचित सत्ता र कर्मचारी तन्त्रले काम गरिरहेको बताउदै घर्तीले भने ‘उनीहरु नै बढि एक्टीभ छन् तर निर्वाचित सत्ता र कर्मचारी तन्त्रले दलहरुलाई कुनै पनि छलफलमा सहभागी गराएका पनि छैनन् त्यसैले हाम्रो भूमिका कमजोर देखिएको हो। यहाँ त मैलै गरेकै छु तर गाउँमा जनप्रतिनिधिले राजनीतिक नेतृत्वलाई सहभागी गराइएको छैन।’

उता लामो समयदेखि काठमाडौ तिर बसिरहेका कांग्रेस रोल्पा सभापती अमरसिंह पुनले नागरिकसंग कुरा गर्दै टेलिफोन मार्फत वडा सभापतीलाई सम्पर्क गरिरहेको बताए। ‘गाउँ गाउँमा फोन गरिरहेको छ। कोरोना अरु प्रकोप जस्तो नभएकाले फोनबाटै कुरा भईरहेको हो।’ पुनका अनुसार कतिपय बाहिरबाट जिल्ला भित्रिएकाहरुले होम क्वारेन्टाइनमा बस्न अटेरी गरिरहेका छन्। ‘सम्झाउदा उल्टै रिसाउने गर्छन्। उनीहरुलाई अलि ध्यान दिनु पर्ने देखिएको छ। आज पनि काठमाडौका ईट्टाभट्टामा हजारौ मजदुर अलपत्र छन्। उनीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको छ।’ उनले कार्यकर्ता व्यापक रुपमा परिचालन गर्न सकिने अवस्था नरहेको बताए।

एक जनप्रतिनिधिले दलहरुले यो संकटमा कुनै भूमिका नखेलेको बताए। ‘जिल्ला स्तरीय नेता कार्यकर्ताले सबै जिम्मा जनप्रतिनिधिको हो भन्ने मानसिकता बोकेका छन्। उनीहरु आ–आफ्नै धुनमा छन्। दलहरु यतिबेला जस आफूले अपजस जनप्रतिनिधिले लिनुपर्छ भन्ने मान्यता बोकेर बसेका छन्।’

 

प्रकाशित: १९ चैत्र २०७६ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App