coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दलहरुबीच दुरी बढ्दा संघीयता खतरामा: सभामुख

सुर्खेत- सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरुबीच द्वन्द्व बढ्दै गएको भन्दै यसले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताएकी छन्। उनले दलहरुबीच बढेको दूरीले संघीयता गुम्ने खतरा भएको भन्दै उनले सचेत रहन आग्रह गरिन्। ‘दलहरुबीच दूरी बढेसँगै संघीयता विरुद्ध अनेकौ खेलहरु शुरु भएका छन्, यसले प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढ्दै गएको छ’ बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको माघे सकराती मेलाको उद्‌घाटन गर्दै उनले भनिन्, ‘दलहरुको दूरीले परेको संघीयताको प्वाल बेलैमा नटाल्ने हो भने भ्वाङ परेर हालसम्मका सबै उपलब्धीहरु गुम्ने खतरा छ।’ उनले देशमा दुईखाले अतिवादबाट संघीयता र लोकतन्त्रामाथि आक्रमण भइराखेको बताइन्। ‘केन्द्रीकृत शासन प्रणालीको वकालन गर्ने समूह र जातिजातिबीच द्वन्द्व फैलाउने समूहबाट संघीयता र लोकतन्त्रमाथि आक्रमण भइरहेको छ’ सभामुख घर्तीले भनिन्, ‘यी दुबै अतिवादबाट बच्नका लागि पनि दलहरुबीच एकता र सहकार्य आवश्यक छ।’

सभामुख घर्तीले अहिले जात–जातीबीच द्वेष फैलाउने काम भइरहेको भन्दै यो सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताइन्। ‘एकथरीले बाहुन–क्षेत्रीविरुद्ध र अर्कोथरीले आदिवासी जनजातिविरुद्ध नारा लगाउने, जातीय सद्भाव बिथोल्ने तथा एक–अर्कालाई लखेट्ने र लडाउने काम गरिरहेका छन्,’ उनले भनिन्, ‘यी दुवै अतिवादीले अनेक अफवाह फैलाएर संघीयता, लोकतन्त्र र गणतन्त्रलाई धरापमा पार्ने प्रयास गर्दैछन्। यस्ता प्रवृत्तिविरुद्ध सबै सचेत हुन जरुरी छ।’

उनले लोकतन्त्रमा दलहरुको विकल्प नभएको बताइन्। उनले देशका ठूला परिवर्तनमा प्रमुख राजनीतिक दलहरु एक भएको भन्दै संविधान कार्यान्वयनमा पनि दलहरु मिल्नुको विकल्प नभएको बताइन्। ‘ठूलठूला परिवर्तनमा प्रमुख राजनीतिक दलहरु एकतावद्ध भएको उदाहरण हामीले देखेका छौं, अव संविधान कार्यान्वयनका लागि दलहरुबीच फेरि एक पटक एकताको खाँचो छ’ उनले भनिन्, ‘संघीयता, गणतन्त्र र परिवर्तनका उपलब्धीहरुको रक्षा र यसको कार्यान्वयनका लागि दलहरु मिल्नुको विकल्प छैन।’

कागजमा संविधान लेखेर मात्रै नहुने भन्दै कार्यान्वयनका लागि तोकिएकै समयमा तीनै तहको निर्वाचन आवश्यक रहेको बताइन्। ‘प्राप्त उपलब्धीहरुको रक्षा गर्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख दायित्व र आवश्यकता हो’ घर्तीले भनिन्, ‘यसका लागि तोकिएकै समयभित्र तीनै तहको निर्वाचन हुन आवश्यक छ।’

सभामुख घर्तीले असन्तुष्ट राजनीतिक दलहलाई पनि समेटेर संविधान संशोधन गर्दै निर्वाचनमा जानुपर्ने आवश्यकता रहेको बताइन्। ‘यस बारेमा राजनीतिक दलहरुबीच छलफल चरिहेको छ’ घर्तीले भनिन्, ‘केही दिनभित्रै सहमति हुने विश्वास मैले लिएकी छु।’ उनले दलहरुबीचको अहिलेको खिचातानीलाई लोकतन्त्रको सुन्दरता भएको बताइन्। ‘अहिले राजनीतिक दलका विभिन्न विचारहरुबीच प्रतिष्पर्धा भइरहेको छ,

उनले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले संसद समक्ष प्रतिवेदन बुझाएको र स्थानीय तह निर्वाचन विधेयक ७२ घण्टे संशोधनको प्रक्रियामा रहेको बताइन्। स्थानीय तहको निर्वाचन विधेयक संशोधनसँगै संविधान संशोधनलाई पनि पूर्णता दिनुपर्ने उनको भनाई थियो।

सभामुख घर्तीले संविधानको ऐना मानिने प्रस्तावनामै पहिचानको कुरा उल्लेख भइसकेकाले फेरि पछाडि फर्कने अवस्था नरहेको बताइन्। ‘हिजोको जस्तो एक जात, एक भाषा र एक धर्म अव छैन्’ संविधानको प्रस्तावनाको चौथो हरफ पढ्दै सभामुख घर्तीले भनिन्, ‘नेपाल सबै जातजाती, भूगोल, वर्ग समुदायको भएको छ । हिजोको केन्द्रीकृत सामन्ती राज्य व्यवस्था अन्त्य गर्न र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता ल्याउन आफू पनि १० वर्ष युद्ध लडेको उनको भनाई थियो।

 

प्रकाशित: २७ पुस २०७३ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App