८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

दिल्लीको निजामुदिन पुगेका मुस्लिमलाई कोरोना संक्रमण, त्रासमा नेपालगन्जबासी

नेपालगन्ज- भारतको नयाँ दिल्लीस्थित निजामुदिनमा भएको एक भेलामा सहभागी मुस्लिम समुदायलाई कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालगन्ज त्रसित बनेको छ। उक्त भेलामा नेपाली मुस्लिम समुदाय पनि सहभागी भएको तथ्य बाहिर आइसकेको छ। निजामुदिनमा नेपालगन्जका मुस्लिम समुदाय सहभागी भएको अहिलेसम्म पुष्टी भएको छैन। यद्यपी, मुस्लिम समुदायको ठूलो बाहुल्यता रहेको नेपालगन्जलाई उक्त घटनाले त्रसित भने बनाएको छ। तर, कतिपयले यहाँका मस्जिदबाट पनि निजामुदिनमा गएको हुन सक्ने अनुमान भने गरिरहेका छन्।

नेपालगन्जमा ‘सुन्नी’ र ‘जमाती’ मा आस्था राख्ने मुस्लिम समुदायको बसोबास रहेको छ। दिल्लीको निजामुदिन गएका मुस्लिम ‘जमाती’ समुदायका हुन्। जमाती समुदायकाले आस्था राख्ने मध्येको मुख्य मस्जिद फुलबारी, नेपाली, इदगाहा र धम्बोझीमा छ। यी कुनै पनि मस्जिदबाट मुस्लिम समुदाय दिल्लीको निजामुदिन गएको पुष्टी मंगलबार बेलुकीसम्म हुन नसकेको पूर्वसभासद एवम् मुस्लिम समुदायका अगुवा अब्दुल हमिद सिद्धिकी (भोला)ले बताए।

‘दिल्लीको निजामुदिनमा गएका मुस्लिम समुदायलाई कोरोना भाइरसको संक्रमण फैलिएको समाचारले हामीलाई पनि त्रसित बनाएको छ, त्यहाँ नेपाली मुस्लिम पनि गएको भन्ने कुरा आएको छ,’ उनले भने नागरिकसँग भने ‘मैले सबैतिर बुझ्दा नेपालगन्जबाट कोही ब्यक्ति त्यहाँ नगएको भन्ने छ, तरपनि त्यहाँ को को गएका थिए, तिनीहरुको विवरण तयार गर्नुपर्छ, मुस्लिम आयोगले उनीहरुको पहिचान गर्नुपर्छ।’ निजामुदिन गएका मुस्लिम समुदायलाई नेपाल सरकारले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने उनले माग गरे। ‘नेपालबाट कुन कुन जिल्लाबाट कति जना गएका थिए, त्यसको एकिन तथ्यांक सम्बैधानिक मुस्लिम आयोगले नेपाल सरकारलाई जानकारी दिने दायित्व पनि हो,’ पूर्व सभासद सिद्धिकीले थपे।

एकलैनीस्थित फुलबारी मस्जिदसँग नजिक रहेका जाफर अन्सारीले अहिलेसम्मको जानकारी अनुसार त्यहाँ कोहीपनि नगएको दाबी गरे। ‘हाम्रो जानकारी अनुसार त्यहाँ कोही गएको छैन,’ उनले नागरिकसँग भने। बरु नेपालगन्जस्थित नेपाली मस्जिदबाट करिब ३४ जना ब्यक्तिहरु तीन महिनाअघि भारतको मुरादाबादस्थित ‘केराना’ भन्ने ठाउँमा गएको सुनाए।

मुस्लिम समुदायका अगुवा एवम् व्यवसायी सकिल अहमद जसगढले नेपाली मस्जिदबाट चार महिनाका लागि केही ब्यक्तिहरु भारतको मुरादाबादतिर गएको बताए। ‘नेपाली मस्जिदबाट दिल्लीको निजामुदिनमा कोहीपनि गएका छैनन्, तर दुई महिनाअघि केही मान्छेहरु मुरादाबाद भन्ने ठाउँमा गएका थिए, उनीहरु अहिलेसम्म फर्केका छैनन्।’

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतको दिल्लीस्थित निजामुदिनमा नेपालगन्जबाट मुस्लिमहरु सहभागी हुन गए÷नगएको कुरा पुष्टी हुन नसकेको बताए। ‘त्यहाँको समाचार सुनेर हामीहरु यहाँ एकदमै सजग छौं,’ उनले भने।

 

प्रकाशित: १९ चैत्र २०७६ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App