७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको हटलाइन निजी कम्पनीको नियन्त्रणमा

काठमाडौं- कोरोना भाइरसको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य मन्त्रालय मातहतको महामारी तथा रोेग नियन्त्रण महाशाखाले सञ्चालन गरेको कल सेन्टरको हटलाइन नम्बर निजी कम्पनीको नियन्त्रणमा रहेको पाइएको छ। स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का लागि स्थापना गरेको कल सेन्टरको हटलाइन नम्बर १११५ कमिसनका लागि ललितपुर जावलाखेलको कलश सर्भिस प्रालिलाई चलाउन दिएको खुल्न आएको हो।

मन्त्रालय वा रोग नियन्त्रण महाशाखा आफैले कलसेन्टर सञ्चालन गर्नसक्ने भए पनि कमिसनको चक्करमा निजी कम्पनीलाई दिएको विभागका एक अधिकारीले जानकारी दिए।  ‘आफैले सञ्चालन गर्दा कमिसन आउँदैन बाहिर दिएपछि कर्मचारीसहितका विभिन्न पक्षलाई नियमित रूपमा कमिसन आउनेछ,’ ती अधिकारीले भने, ‘त्यसैले मिलेमतोमा कल सेन्टर निजी कम्पनीलाई दिएको हो।’

मन्त्रालय र विभागको पहलमा अहिले १११५ र ११३३ दुईवटा कलसेन्टर सञ्चालन गर्दै आएको छ। सरकारले कोभिड–१९ रोगको विषयमा जानकारी दिने उद्देश्यले स्थापना गरेको कल सेन्टरको हटलाइन भनेर १११५ नम्बरलाई केही समयअघि सार्वजनिक गरेको थियो। तर हटलाइनमा काम गर्न कलशले खटाएका अधिकांश कर्मचारी मेडिकल क्षेत्रका नभएकाले जानकारी लिने मान्छेले सही जानकारी पाउन सकिरहेका छैनन्। हटलाइनमा आपतकालीन अवस्थाका व्यक्तिले कल गरेको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीले उचित जवाफ दिन नसकेको र इडिसिडीमा सोधेर मात्र जवाफ दिँदा त्यसको औचित्य नरहेको विभागका ती अधिकारीको भनाइ छ।

 विभाग र महाशाखाका अधिकारीले आर्थिक स्वार्थमा निजी कम्पनीलाई कल सेन्टर चलाउन दिएको  र नागरिकललाई चाहिएको बेलामा उचित सूचना नदिएको भन्दै विभागकै अधिकारी अहिले असन्तुष्ट देखिन्छन्। कतिपय कल त मन्त्रालयका अधिकारीलाई फरवार्ड गर्ने गरेको र मन्त्रालयका अधिकारीले त्यो विषयमा इडिसिडीसँग आपत्ति जनाउँदै आएको छ। तर, मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा १८ सय ६ वटा कल लिएको जनाएको छ।

इडिसिडीको लापरबाहीले सरकारी सेवा प्रभावकारी हुन नसकेको भन्दै मन्त्रालयका अधिकारीले पनि अहिले यो विषयमा चासो देखाएका छन्। इडिसिडीका तथ्यांक अधिकृत कृष्ण पाण्डेले  इडिसिडीमा कल सेन्टर सेटअप गर्न समय लाग्ने भएकाले केही समयका लागि व्यवस्थापन गर्न निजी कम्पनीलाई दिएको जिकिर गरे। कल सेन्टर तत्काल स्थापना गर्नुपर्ने भएकाले तीन महिनाका लागि व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिएको बताउँदै इडिसिडीमै ठाउँको उचित व्यवस्थापन भएपछि फिर्ता ल्याउने तर्क गरे। कल सेन्टरमा बसेका व्यक्ति गैरचिकित्सक रहेको स्वीकार गर्दै उनले अवश्यक सहयोग स्वास्थ्य मन्त्रालय र इडिसिडीबाटै गरिने बताए। कलश सर्भिस प्रालिसँग यस विषयमा बुझ्न सम्पर्क गर्दा इडिसिडीमै सम्पर्क गर्न आग्रह गरे।

 

 

 

प्रकाशित: १९ चैत्र २०७६ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App