८ वैशाख २०८१ शनिबार
समाज

बाजुराकाे पुराबाब्लाको सिंगो गाउँमा रुघाखोकीको संक्रमण

बाजुरा- खप्तड छेडेदह गाउँपालिका-३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ। सातादिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सय बढी परिवारका सदस्य विरामी परेका छन्। घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण विरामी परेको वडा अध्यक्ष दिपक रावतले बताएका छन्।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकीत हुने जस्ता लक्षण देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताएका छन्। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने समेत गाउँमा मान्छे भेटिन छोडेका छन्।

लकडाउनको समयमा पुराबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ। गाईगोरुलाई मात्र नभई परिवारमा समेत पानी बोकेर ल्याइदिने मान्छेको अभाव देखिएको छ। प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धाहरु सबै विरामी परेका छन्।

सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन्। कोरोनाको लक्षण होकी भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकोले डराउनु पर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताएका छन्।

विरामी मध्ये अधिकांश सामान्य अवस्थाका भएपनि केहीलाई गाह्रो भएको अवस्था छ। साँझको समयमा बेला हुने गरेको विरामी सुन्तला मिजारले बताएकी छन्। गाउँ नै रुघाखोकीको संक्रमणले थलापरेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभुत स्वास्थ्य इकाई सञ्चालन गरिएको छ।

गाउँमा सञ्चालन गर्ने निर्णय यस अघि नै भएपनि सञ्चालनमा ढिलाइ भएको थियो। स्थानीय उपचारका लागि छिमेकी बुढीगंगा नगरपालिकाका निजी मेडिकल र टाँटे स्वास्थ्य चौकीमा जान गरेका थिए। लकडाउनको समयमा त्यो अवस्था नरहेपछि एकाएक स्वास्थ्य इकाई नै सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन्।

इकाईमा अहेब भगत धामी र अनमी ईश्वरी रावत रहने व्यवस्थासहित उपचार पनि सुरु गरिएको छ। संक्रमण फैलिएको सातादिन बितेपनि नियन्त्रणमा आएको छैन। स्वास्थ्यकर्मीसहितको टोली राखेर उपचार सुरु गरिएकोले केही दिनमै नियन्त्रणमा आउने गाउँपालिकाले बताएको छ।

यसअघि विरामीले औषधि समेत पाएका थिएनन्। उपचारका लागि टाँटे जानु पर्ने र लकडाउन र कोरोनाका कारण स्वास्थ्यकर्मीले सहज सेवा दिन पनि नमानेका कारण स्थानीय विराम सहेर बस्न बाध्य थिए। रुघाखोकीको संक्रमण बारे गाउँपालिकाले अन्य निकायलाई भने खबर गरेको छैन।

संक्रमण देखिएको र ३ सय बढी विरामी भएको भन्ने कुनै जानकारी नआएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्। पन्तले तत्काल जानकारी लिएर रोग नियन्त्रणका लागि पहल गर्ने बताएका छन्। तर छिमेकी गाउँका स्थानीय भने संक्रमण फैलिने डरका कारण त्रसित बनेका छन्।

गाउँपालिकाले बाह्विस बेतालमाण्डौको बाटोहुँदै भारतबाट आउनेहरु सहजै गाउँपालिका प्रवेश गर्न थालेपछि निगरानी र सुरक्षाका लागि हेल्थ डेक्स सञ्चालन गरिएको र प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ।

 

प्रकाशित: १८ चैत्र २०७६ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App